गोलाप्रथामा पनि ठगियो कांग्रेस



गंगा बराल, काठमाडौं ।
राष्ट्रिय सभाका ५९ जना सदस्यहरुको गोला प्रथाद्वारा कार्यकाल निर्धारण गरिएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा भएको गोलाप्रथाबाट २ वर्षको लागि १९, ४ वर्षका लागि २० र ६ वर्षको लागि २० जनाको कार्यकालको टुंगो लागेको हो ।

सांसद् वर्णानुक्रम अनुसार आफैंले तानेको गोलाबाट सांसदहरुको समयवधि निर्धारण गरिएको हो । एउटा ठूलो बट्टामा अर्को सानो हरियो बट्टाभित्र राखिएको गोला तानेर कार्यकाल निर्धारण गरिएको हो । सांसद्ले तानेको बट्टा संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराइलाई दिएपछि उहाँले कार्यकाल कति वर्षको भयो भन्ने सुनाउनुभएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल ६ वर्ष, उपाध्यक्ष शशिकला दाहालको ४ वर्ष, गृहमन्त्री रामबहादुर थापा मगरको ६ वर्ष र अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल २ वर्षको तय भएको छ । सबै सांसद्ले आफैं गोला तानेका थिए । राष्ट्रिय सभा नियमावलीमा सांसद् सदस्य आफैं उपस्थित नभए अरु कुनै सांसद्लाई अख्तियारी दिन सकिने समेत व्यवस्था गरिएको थियो ।

६ बर्षको कार्यकाल रहने २० जना सांसद्हरुमा नेपाली कांग्रेसका तर्फबाट ४ जनामात्र हुनुहुन्छ । कांग्रेस सांसद्हरुमा रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थ हुनुहुन्छ । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) १४ सांसद्हरुमा रामबहादुर थापा, गणेशप्रसाद तिमिल्सिना, खिमलाल भट्टराई, भैरवसुन्दर श्रेष्ठ, हरिराम चौधरी, बिना पोखरेल, दिलकुमारी रावल थापा (पार्वती), दिपा गुरुङ, नन्दा चपाई, इन्दु कडरिया, नरपति लुवार, सिंगबहादुर विश्वकर्मा, महेशकुमार महरा, रामचन्द्र राई हुनुहुन्छ । संघीय समाजवादी फोरम नेपालकी प्रमिला कुमारीको कार्यकाल ६ वर्षको रहेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत ३ जनामध्ये विमला राई पौड्यालको कार्यकाल ६ वर्षको तय भएको छ ।

नेपाली कांग्रेसका २ जना सांसद्को मात्र कार्यकाल ४ वर्षको टुंगो लागेको छ । कांग्रेस सांसद्हरु तारादेवी भट्ट र राधेश्याम अधिकारीको कार्यकाल ४ वर्षको रहेको छ । ७ नम्बर प्रदेशबाट निर्वाचित राष्ट्रिय सभाकै जेष्ठ सदस्य भट्टले राष्ट्रिय सभाको अध्यक्षको निर्वाचन नहुन्जेलसम्मका लागि बैठकको अध्यक्षता गर्नुभएको थियो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का १७ सांसद्हरुको कार्यकाल ४ वर्षको तय भएको छ । परशुराम मेघी गुरुङ, सुमनराज प्याकुरेल, दिनानाथ शर्मा, चन्द्रबहादु खड्का, खगेन्द्रप्रसाद पुरी, शेरबहादुर कुँवर, नैनकला ओझा, शशिकला दाहाल, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, कोमल ओली, कविता बोगटी, खिमकुमार विक, चक्रप्रसाद स्नेही, रामलखन चमार, जीवन बुढा र अगम वान्तावा राईको पदावधि भने ४ बर्ष कायम भएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत ३ जनामध्ये रामनारायण बिडारीको कार्यकाल ४ वर्षको भएको छ । त्यस्तै १३ जनामध्ये नेपाली कांग्रेसका ७ सांसद्हरुको कार्यकाल २ वर्षको मात्र कायम भएको छ । यसरी २ वर्षको कार्यकाल निर्धारण हुनेहरुमा सुरेन्द्रराज पाण्डे, बद्रीप्रसाद पाण्डे, सरिता प्रसाई, मुक्ताकुमारी यादव, धनकुमारी खतिवडा, विन्दादेवी आले, दुर्गाप्रसाद उपाध्याय हुनुहुन्छ । गोलाप्रथा गर्दा नेकपाका ८ जना सांसदहरुको कार्यकाल २ वर्षको टुंगो लागेको छ । यसरी २ वर्षको कार्यकाल रहेका सांसदहरुमा हरिचरण शिवाकोटी, बलरामप्रसाद बास्कोटा, कालिबहादुर मल्ल, मीना बुढा, युटोल तामाङ, कमलाकुमारी ओली, खेमराज नेपाली, राजकुमार कुँवर हुनुहुन्छ ।
संघीय समाजवादी फोरम नेपालका रामप्रित पासवान, राष्ट्रिय जनता पार्टी (राजपा) का रमेशप्रसाद यादव र वृशेषचन्द्र लालको पनि कार्यकाल २ वर्ष कायम भएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत ३ जनामध्ये २ वर्षको कार्यकालको गोलाप्रथामा अर्थमन्त्री युवराज खतिवडा पर्नुभएको छ ।

सांसद् खिमकुमार विक र रामचन्द्र राईले पहिलो चरणको गोला तान्दा शून्य वर्ष प्राप्त गरेकाले उनीहरुको दोस्रो चरणको गोलाप्रथाद्वारा कार्यकाल टुंग्याइएको थियो । केही बेरपछि पुनः तानिएको गोलाले बिकको कार्यकाल ४ र राईको ६ वर्षको टुंगो लागेको छ । प्रत्येक प्रदेशबाट छानिएका अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूह र दलित समूहमध्येबाट ७ जनामा २÷२ जनाको दरले २, ४ र ६ वर्ष छुट्याइएको थियो, दुबै समूहका बाँकी १ जनालाई शून्य वर्ष भनेर छुट्याइएको थियो । अन्तिममा शून्य बर्ष पाएका २ जनाबीच गोलाप्रथा गर्दा दलित तर्फबाट चुनिनुभएका विकको ४ र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको तर्फबाट निर्वाचित रामचन्द्र राइको कार्यकाल ६ वर्षको टुंगो लागेको छ ।

राष्ट्रिय सभामा रहेका ७ वटै प्रदेशका सदस्यहरुलाई महिला, दलित, महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूह, अन्य समूह तथा राष्ट्रपतिबाट मनोनित गरी विभिन्न ५ समूहमा विभाजन गरेर गोला छान्ने व्यवस्था गरिएको थियो । निर्वाचनमा प्रत्येक प्रदेशबाट महिला ३ , अन्य ३, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूह १ जना र १ जना दलित गरी ८ जना निर्वाचित भएका थिए ।

सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा मनोनित ३ गरी ५९ सदस्य रहेका छन् । संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराई नेतृत्वमा राष्ट्रिय सभाका सदस्यहरुको कार्यकाल निर्धारणका लागि गोलाप्रथा गरिएको थियो । ४ नम्बर प्रदेशबाट अन्य समूहमा निर्वाचित राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाको कार्यकाल ६ वर्ष, सोही कोटामा निर्वाचित तत्कालीन नेकपा माओवादी केन्द्रका सांसद दीनानाथ शर्माको ४ वर्ष र यही कोटामा चुनिएका कांग्रेस सांसद् सुरेन्द्रराज पाण्डेको कार्यकाल २ वर्षको तय भएको छ । शर्मा नेकपा संसदीय दलको नेता र पाण्डे कांग्रेस संसदीय दलको नेता हुनुहुन्छ ।

राष्ट्रिय सभाको पहिलो बैठक बसेको दिनबाट सम्पूर्ण सदस्यको पदावधि गणना गरिने छ । पहिलो बैठक २०७४ साल फागुन २१ गते बसेको थियो । राष्ट्रिय सभा नियमावली, २०७५ को परिच्छेद २७ को नियम २०८ देखि ५९ सदस्यीय राष्ट्रियसभामा तत्कालीन नेकपा एमालेका २९, नेपाली कांग्रेसका १३, नेकपा माओवादी केन्द्रका १०, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमका २ ÷२ सदस्य रहेका छन् । राष्ट्रिय सभाका २ सांसद् मन्त्री हुुनुहुन्छ । सांसद् नभएको व्यक्ति बढीमा ६ महिनामात्र मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्