जापानकाे भूकम्पः नेपालीहरुद्धारा सञ्चालित रेष्टुरेन्टहरुमा क्षति



राजबिन थापा, जापान ।  जापानको उत्तरी ओशाकामा ठूलो भुकम्प गएको छ ।

सोमवार विहान ७ बजेर ५८ मिनेटमा प्रारम्भिक अनुमान ६ दशमलब १ म्याग्नेच्यूडको भुकम्प गएको जापानी संचारमाध्यमहरुले जनाएका थिय । भुकम्प पश्चात सुनामीको खतरा भने नरहेको बताइएको थियो । स्थानीय अधिकारीहरुलाई उधृत गर्दै जापानटुडेले ओशाकाको ताकाचुकीमा एकजना ९ बर्षिय बालिकाको मृत्यु भएको हुनसक्ने लेखेको छ ।

उनी भुकम्प पश्चात ढलेको पर्खालमा चेपिएकी थिइन साथै ८० र ८५ वृद्धको समेत मृत्यु भयको बतैयाको छ । समाचार तयार पार्दासम्म भुकम्पमा परि कम्तिमा ४० जना घाइते भएको र धेरै आगलागीका घटना भएको स्थानीय प्रहरीले जनाएको छ ।

भूकम्पको ठूलो धक्का पछि सिनकानसेन रेल सेवा केही समय रोकिन पुगेको थियो । लोकल रेल सेवा सहित अन्य रेल सेवा समेत अवरुद्ध हुन पुगेको छ । तीन वटा विमानस्थल केही समय अवरुद्ध हुन पुगेको बताइएको छ । विहानको समय काममा निस्कनेहरु बढि प्रभावित बनेका थिए ।

नारा प्रिफेक्चरको यामातोकोरियामा स्टेशनको एलिभेटरमा २ जना थुनिएका थिए । अन्य स्थानमा पनि एलिभेटरमा मानिसहरु फसेको हुनसक्ने अनुमान छ । फुकुई प्रिफेक्चरमा अवस्थित ५ वटै आणविक प्रशोधन केन्द्र नियमीत सञ्चालनमा रहेको भन्दै भूकम्पले कुनै असर नपारेको समाचारमा जनाइएको छ । मुख्य क्याविनेट सचिब योसिहिदे सुगाले पत्रकार सम्मेलनमार्फत ठूलो क्षतिको खबर नरहेको बताएका छन् । ओशाका क्षेत्रमा रहेका नेपालीहरु घाइते भएको कुनै समाचार छैन तर नेपालीहरुद्धारा सञ्चालित केही रेष्टुरेन्टहरुमा क्षति भएको बताइएको छ । केहीले फेसबुकमा आफ्नो पसलमा भएको क्षतिका फोटो र भिडियो समेत राखेका छन् ।

जापानी समाचार संस्था एनएचकेले जापानको आत्म सुरक्षा दस्ता सहित फाइटर बिमान र हेलिकोप्टरहरुलाई भूकम्प प्रभावित क्षेत्रमा सूचना संकलनको लागि पठाइएको र प्रधानमन्त्री सिन्जो आबेको कार्यालयमा शिर्ष अधिकारीहरुको बैठक बस्दै गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्