जार काट्ने कथामा सोनाम ग्याल्मो



राजधानीमा शनिबारबाट ३ दिने सेलो नाट्य महोत्सव–२०७५ शुरू भएको छ। जंगबहादुरलाई जारले काटेको मिथकमा आधारित नाटक सोनाम ग्याल्मोको मञ्चनसँगै महोत्सव शुरू भएको हो।

सोनाम ग्याल्मोले जंगबहादुरलाई जारले काटेको तामाङ मिथकलाई अहिलेको जीवनसँग जोडेर प्रस्तुत गरेको थियो। पत्रकार तथा फिल्म निर्देशक फूलमान वलको लेखन र सोनाम लामा मोक्तानको निर्देशन रहेको नाटक तामाङ सुमदायको विवाहबाट शुरू भएको थियो। विवाहमा बेहुला र बेहुली राखेर चारधाम (वैवाहिक जीवनको कसम खुवाउने विधि) गर्दै गर्दा नाटक फ्लासब्याकमा जान्छ। त्यसपछि सर्लाही पत्थरघट्टा आसपासको पुरानो तामाङ समाज र जीवनको उत्तरार्धमा त्यही ठाउँमा शिकार खेल्न गएका जंगबहादुरबीचको संघर्षले नाटकलाई गति प्रदान गर्यो। मुख्य पात्र थिए, भर्खरै विवाह भएका सोनाम र ग्याल्मो। ग्याल्मोलाई जंगबहादुरले मन पराएर हरण गरेपछिको पीडादायी सन्दर्भ र उनैले बनाएको जार काट्ने कानुन टेकेर आइपुग्ने सोनामबीचको उतार–चढाव नाटकमा लोभलाग्दोरुपमा प्रस्तुत गरियो।

जंगबहादुर कसरी मरे? त्यो भने नाटकमा रहस्यमै छाडिएको थियो। तामाङ संस्कृति, परम्परा र जीवनशैली उनिएको नाटकमा सोनाम लामा, शान्ति वाइबा, फुलकुमार बम्जन, सुसन लामा, चा”दनी लामा, निकिता वाइबा, निशा पाख्रिन, मात्रिका घिमिरे, मनोज तामाङ, सन्तोष तामाङ (बोन्बो), सन्जीव राई, देविन चौधरी, विजय टुबा, सुनिल तामाङ, साजन लामालगायतले अभिनय गरेका थिए।

महोत्सवको शुभारम्भ गर्दै पूर्वसंस्कृति तथा पर्यटनमन्त्री आनन्द पोखरेलले काठमाडौं उपत्यका वरिपरि बसोबास गर्ने तामाङ समुदायको जीवन र संस्कृतिका आयामलाई महोत्सवले थप फराकिलो बनाउने चर्चा गरे। महोत्सवका अतिथिलाई डम्फुरे र ताम्बा (संस्कृतिविद्) हरूले गीत गाउँदै थिएटर भित्याएका थिए। आगन्तुकलाई ग्रामीण तामाङ परम्पराअनुसार टोटलाको फूलको टीका लगाएर स्वागत गरिएको थियो। कार्यक्रमस्थल शिल्पी थिएटर परिसर पुरै तामाङ मौलिकतासहित दज्र्युले सजाइएको थियो। जहाँ मौलिक तामाङ खानेकुरा गेङ, आलुम, खाप्से, फापर गेङ, गन्डु थोङसे, आइराक (तीन पाने रक्सी) लगायत चखाइएको थियो भने पुस्तक र मौलिक भेषभूषाको स्टल रमाइलो देखिएको थियो। धेरैजसो मानिस आइराक ताङ (परम्परागतरुपमा रक्सी पार्ने भाँडो) छेउ सेल्फी खिचेर रमाएका थिए। नेपाली मौलिक रंगमञ्च प्रबद्र्धन गर्ने उद्देश्यले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सेलो फाउन्डेसनले आयोजना गरेको महोत्सव अवधिभर ५ नाटक र २ कार्यपत्र प्रस्तुत गरिने कार्यक्रम रहेको छ।

महोत्सवको दोस्रो दिन आइतबार अमृत योञ्जनको कार्यपत्र प्रस्तुतिसँगै धादिङ जिल्लाको तामाङ समुदायमा प्रचलित ताचेमा लोकनाटक र वसन्त चौधरीको कविता ङाला फ्रेङबा धोङला टाङको मञ्चन गरियो। कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठले तामाङ समुदायको रंगमञ्च उत्थानका लागि महोत्सवले फलदायी हुने विश्वास व्यक्त गरे। पूर्वमन्त्री सूर्यमान दोङ, पूर्वराजदूत डा. गणेश योञ्जन र प्रज्ञा प्रतिष्ठानका रंगमञ्च विभाग प्रमुख पुष्कर गुरुङले महोत्सवको प्रशंसा गरे।

प्रतिक्रिया दिनुहोस्