संघीय संसद्को नियमावली पेस



काठमाडौं, (नेस) । संघीय संसद्को आइतबारको संयुक्त बैठकमा संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५ प्रस्तुत भएको छ ।

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले संघीय संसद्मा आइतबार प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिलाई संयुक्त बैठक आह्वानका लागि सिफारिस गरेको थियो । प्रतिवेदनमा ८ परिच्छेद र ४३ नियम छन् । सोमबार र मंगलबार संशोधनका लागि फारम भर्न समय दिइएको छ । संसद् सचिवालय नयाँ बानेश्वरमा फारम पाइने सभामुख कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

संयुक्त बैठक सञ्चालन कार्यविधि, साझा समिति र कतिपय निर्णय तथा अनुमोदन गर्ने प्रक्रिया संघीय संसद्को कार्यक्षेत्रभित्र पर्दछन् । संघीय संसद्को अर्को बैठक ८ गते ४ बजे बोलाइएको छ । संयुक्त बैठक सञ्चालन कार्यविधि, साझा समिति र कतिपय निर्णय तथा अनुमोदन गर्ने प्रक्रियाहरु संघीय संसद्को कार्यक्षेत्रभित्र पर्दछन् । प्रतिनिधि सभामा रहेको १३ सदस्यीय र राष्ट्रिय सभामा ९ सदस्यीय नियमावली समितिले यो नियमावली बनाएको हो ।

गत सोमबार बस्ने भनिएको संयुक्त बैठक विशेष कारणबश भन्दै अन्तिम समयमा स्थगित गरिएको थियो । विधि र प्रक्रियाका बारेमा प्रश्न उठ्ला कि भनेर सोमबारको बैठक स्थगित गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरीले बताउनुभएको थियो । संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले गत आइतबार सूचना जारी गरी संयुक्त बैठक बोलाउनुभएको थियो ।

आज सोमबार नै दुवै सदनको अलग–अलग बैठक बिहान ११ बजे बोलाइएको छ । प्रतिनिधि सभामा विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकमाथि छलफल भइरहेको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका सञ्चारविज्ञ केशव पौडेलले प्रतिनिधि सभा र राष्ट्रिय सभाको नियमावली बनाउन गठित दुवै सदनको संयुक्त समितिले संयुक्त नियमावली बनाएको जनाउनुभयो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले अघिल्लोपटक बोलाइएको संयुक्त बैठक रोकिएपछि त्यसै दिन आजका लागि बैठक बोलाउने सहमति भएको बताउनुभयो । प्रतिनिधि सभामा १३ सदस्यीय र राष्ट्रिय सभामा ९ सदस्यीय नियमावली समिति बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्