अब आयआर्जन गर्ने शीप सिकाउ



आर्थिक बर्षको अन्तिम महिना सुरु हुनै लाग्दासबै जिल्लाका स्थानिय तहको व्यस्तता बढेको छ । आगामी आर्थिक बर्षका लागि टोल तथा वडा स्तरबाट योजनाको छनौट गर्ने कामदेखी चलिरहेको आर्थिक बर्षको बजेटलाई सक्नका लागि विनियोजित योजनाहरुको काम गर्ने चटारो स्थानिय तहमा देखीन्छ ।

उपभोक्ता समिती गठन गरेर चलिरहेका कामहरुले तिब्रता पाएका छन भने नगरपालिका÷गाउँपालिका तथा वडा कार्यालय आँफैले गर्नुपर्ने कामहरुको समेत चाप यतिबेला छ । अन्तिम समयमा आएर विनियोजित बजेटलाई सक्नकै लागि काम गर्ने परिपाटीले स्थानिय सरकार गठन भएपछि पनि छोडेको छैन् । उपभोक्ता समितीमार्फत भएका कामको भुक्तानी, अनुगमन तथा लक्षित वर्गका लागि छुट्टाईएको रकम अनुसार काम गर्नुपर्ने बाध्यता पनि स्थानिय निकायका सामु छ ।

योजना तर्जुमाको समय भएकाले यो समयमा स्थानिय सरकारको ध्यान सबैभन्दा धेरै जनताका साझा जनजिविकाका सवालमा जानु आवश्यक छ । योजनाको तर्जुमा गर्दा जनजिविका र पछि परेको वर्गलाई उथ्थान गर्दै साझा आर्थिक उन्नती हुने खालका योजना निर्माणमा सर्वसाधारणलाई सघाउनु स्थानिय सरकारको दायित्व हो । टोल तथा वडा तहबाट आएका योजनाहरुको अध्ययन गरी उनीहरुका साझा एजेण्डाको सम्बोधन गर्ने र छुटेका विषयमा ब्यापक छलफल गरेर आफ्नो तहबाट योजना निर्माण गरिनु पर्छ ।

योजना तर्जुमाको समय भएकाले धेरैभन्दा धेरै समय लगाएर जनप्रतिनिधि तथा स्थानिय सरकारमा कार्यरत कर्मचारीले यो समयमा योजना निर्माण र बजेटको व्यवस्थापनलाई समय खर्चनु आवश्यक हुन्छ तर यसको साटो जनप्रतिनिधि र कर्मचारी अन्तिम समयमा आएर चालु आर्थिक बर्षको बजेट सक्ने धुनमा लागेका छन् । अन्तिम समय कुरेर नबसी चालु आर्थिक बर्षका कामहरु केही समय अगाडि नै गर्न सक्ने भएपनि त्यो तत्परता नहुनाका कारण आज यो समस्या देखा परेको हो ।

सबै स्थानिय तहमा अन्तिम महिना सुरु हुनै लाग्दा तालिम गोष्ठी तथा साना योजनाका काम चलिरहेका छन् । लक्षित वर्गको लागि छुट्टाईएको बजेटबाट एक दुई दिनको तालिम तथा गोष्ठीको बहाना बनाउने, लक्षित समुदायलाई भक्ता बाढ्ने, स्रोत व्यक्तिका रुपमा उपस्थित रहेका कर्मचारी तथा जनप्रतिनिधिले चर्को दैनिक भ्रमण भत्ता असुल्ने र बजेट सक्ने काम भैरहेको छ । यो एकातर्फ समयका हिसाबले उपयुक्त समय होईन भने अर्कोतर्फ लक्षित वर्गका लागि जुन उद्देश्य राखेर बजेटको व्यवस्था गरिएको हो, त्यो उद्देश्य प्राप्तीका लागि भत्ता बाँढेर पुग्दैन् ।

एक दिन तालिमको नाममा बोलाएर भक्ता बाँढ्दा एक छाक टर्ला तर उनीहरुको जिविकासँग जोडेर आयआर्जन हुन सक्ने खालको सिप दिन नसक्दा बजेट सक्ने तर फाईदा न बेफाईदाको काम हुने गरेको छ । स्थानिय सरकारको रुपमा रहेका स्थानिय तहहरुले बजेको बिनियोजन, बजेट अनुसारको काम र योजनाको तर्जुमा गर्दा समयलाई ध्यान दिनुपर्ने आवस्यकता छ । नेपाली उखान छ ‘जब भयो राती तव बुढी ताती’ भने जस्तै अन्तिम समयमा आएर सबै काम एकैपटक गर्न खोज्दा एकातर्फ सोचे अनुसारको काम नबन्ने र अर्कोतर्फ सरकारका दैनिक क्रियाकलापलाई समेत असर गरिरहेको छ । यो परिपाटीको अन्त्यका लागि सर्वसाधारणको तहबाट पनि दबाब र ध्यानाकर्षणको आवश्यकता रहेको छ ।

सुरज बैद्य, दाङ ।

प्रतिक्रिया दिनुहोस्