बुहारी र नातिनी जलाएर मार्न खोजेको आरोपमा ससुरा पक्राउ



कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सा प्रहरीले बुहारी र नातिनी जलाएर मार्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ गरेको छ ।

पर्साको धोबिनी गाउँपालिका–३, हरिहरपुर घर भएका ५५ बर्षीय लक्ष्मीप्रसाद साह कानु र उनका १९ बर्षीय छोरा मुनाकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो । पर्सा प्रहरीले लक्ष्मीले मुनाको सहयोग लिएर आफ्नै छोरा सञ्जयकुमार साहकी पत्नी सञ्जु देवी र उनकी ८ महिनाकी छोरी रियालाई जलाएर मार्न खोजेको आरोपमा पक्राउ गरेको जनाएको छ ।

आगोले सञ्जु देवी र नाबालिका घाइते भएका छन् । उनीहरुलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि थप उपचारका लागि कीर्तिपुर अस्पतालमा रिफर गरिएको छ । घरायसी विवादमा ससुरा लक्ष्मीप्रसादले देवर मुनाको सहयोगमा आफ्नो र छोरीको शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप सञ्जुले लगएकी छिन् । उपचारमा संलग्न चिकित्सकका अनुसार छोरीको अवस्था गम्भीर छ । सञ्जु देवीको घाँटीमा धारिलो वस्तुले काटेको घाउ छ । त्यस्तै उनको छाती, गाला र दुवै हात आगोले पोलेको छ ।

प्रारम्भिक बयानका क्रममा घाइते महिलाले ससुराले नै देवरसँग मिलेर आफू र छोरीलाई कुटपिट गरी जीउमा आगो लगाएर मार्ने प्रयास गरेको आरोप लगाएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए ।

सञ्जुका अनुसार सुतिरहेका बेला शुक्रबार बिहान तीन र चार बजेतिर अचानक आएका ससुराले कुटपिट गर्दै आफ्नो र छोरीको जीउमा आगो लगाएर मार्ने प्रयास गरेका थिए ।रंजुका पति सञ्जय नेपाल प्रहरीमा काभ्रे जिल्लामा कार्यरत छन् । घटनाको बिषयमा अनुसंधान जारी रहेको पर्सा प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्