मौसमलाई थप तताउँदै फेसन शो



राजधानीमा बढ्दै गएको गर्मीलाई अझ तापिलो बनाउँदै फेसन शो आयोजना गरिएको छ। द क्रिएसन इन्स्टिच्युट अफ फेसन डिजाइनले हालै राजधानीको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा फेसन नोभा २०१८ ः सिजन ७ आयोजना गरेको हो।

शोमा विभिन्न फेसन डिजाइनरद्वारा डिजाइन गरिएका आकर्षक पहिरनमा मोडलहरूले र्याम्प नापेका थिए।

फेसन शोमा पहिलो मिस नेपाल रुवी राणा शाह शो–स्टपर्सका रूपमा प्रस्तुत भएकी थिइन् भने मोडल दीपक घिमिरे, निलम चन्द, अभिनेत्री रक्षा श्रेष्ठ, मोडल तथा अभिनेत्री रेनुका सिंह ठकुरी, अभिनेता पृथ्वीराज प्रसाईं र बाल कलाकार कुशाग्र भट्टराईले ७ थिममा सिक्वेन्स स्टपर्सको रूपमा क्याटवाक गरेका थिए। उनीहरूलाई डेढ दर्जन व्यवसायिक मोडलले क्याटवाकमा साथ दिएका थिए। जेनिफर बज्रँचार्यद्वारा संयोजन गरिएको उक्त फेसन शोलाई मोडल तथा कोरियोग्राफर विपना थापाले कोरियोग्राफी गरेकी थिइन्।

फेसन शोमा डिजाइनर निश सिंह, मेनुका भट्टराई, जिबा श्रेष्ठ, संगीता पण्डित, ज्योती अग्रवाल, विना थापा, शर्मिला न्यौपाने, जुमना नेपाली, निर्मादा स्याङतान तथा सजिना विष्टले तयार पारेका पहिरन मोडलले प्रदर्शन गरेका थिए। डिजाइनरले ब्ल्याक टु ब्ल्याक, बार्बी गोज टु बजार, लभ्ली लेयर्स, समर अफ लभ, आर्टिस्टिक, ब्राइडल र कक्टेल वेयर सिक्वेन्समा विभिन्न पहिरन तयार पारेका थिए।

कार्यक्रमा हास्य अभिनेता तथा जादुगर महादेव त्रिपाठी, गायक ध्रुव विश्को, गायिका सिर्जना गुरुङले कमेडी तथा गीत–संगीत प्रस्तुत गरेका थिए भने कलाकार अभिषेक श्रेष्ठले नृत्य प्रस्तुत गरेका थिए।

आयोजक द क्रिएसनकी अध्यक्ष मनिता थापाले फेसन डिजाइन क्षेत्रलाई प्रवद्र्धन तथा व्यावसायिकरूपमा विकास गर्ने उद्देश्यले फेसन शो आयोजना गरिएको बताइन्।

प्रतिक्रिया दिनुहोस्