एपीएफलाई प्रधानमन्त्री कप उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
त्रिभूवन आर्मी क्लबमाथि एकतर्फी जित निकाल्दै नेपाल एपीएफ क्लबले दोस्रो प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार त्रिवि मैदानमा भएको दुई विभागीय टोलीको उपाधि भिडन्तमा एपीएफले आर्मीलाई ६ विकेटले हरायो। यो जितसँगै एपीएफले २० लाख र आर्मीले १० लाख नगद हासिल गरेका छन्। फाइनलमा एपीएफका बलर र ब्याटसम्यानले च्याम्पियनसरह प्रदर्शन गरेका थिए। पहिले ब्याटिङ गरेको आर्मीलाई २ सय ९ रनमा रोकेर बलर ब्याटसम्यानका लागि सहज बनाइदिए। बलरको मेहनतलाई खेर जान नदिई एपीएफका ब्याटसम्यानले सानदार प्रदर्शन गरेर उपाधि पक्का गराएका थिए।

२ सय १० रनको लक्ष्य एपीएफले ४ विकेट गुमाएर ४१.२ ओभरमै भट्टायो। कुनैबेला पनि आर्मीका बलर एपीएफका ब्याटसम्यानलाई चुनौती दिन सकेनन्। ओपनर विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेल चोटका कारण रिटायर्ड भएपछि क्रिज सम्हाल्न आएका प्रदीप ऐरीले अर्का ओपनर ब्याट्सम्यान अनिलकुमार शाहलाई राम्रो सहयोग गरे। उनीहरूले पहिलो विकेटका लागि ३०.१ ओभरमा १ सय ३८ रनको साझेदारी गर्नु नै जितको आधार तयार भएको थियो।

३ छक्का र २ चौकाको सहयोगमा ६३ रन बनाएका प्रदीपलाई सोमपाल कामीले आउट गरेका थिए। यो विकेटले आर्मीको टोलीमा उत्साह बढेको थियो। दोस्रो विकेटको रूपमा अनिल १ सय ४९ रनमा पवेलियन फर्के। उनलाई व्यक्तिगत ६३ रनमै विक्रम सोबले आउट गरे। म्यान अफ द म्याच अनिलले ४ चौका र ३ छक्का प्रहार गरेका थिए। तर यसपछि पृथु बास्कोटा र रोहितकुमार पौडेलले थप विकेट छिटो गुमाउन दिएनन्। रोहित १५ रनमा आउट भए भने पृथु ३२ रनमा सोमपालकै शिकार बनुन्जेल एपीएफ जितबाट १० रनले मात्रै टाढा थियो। करण केसीले १ छक्का प्रहार गर्दै १५ रनमा र रिटायर्ड हर्ट भएका सुवास फेरि क्रिजमा आउँदा १४ रनमा नटआउट रहे।

गतवर्षदेखि शुरू भएको यस प्रतियोगितामा पहिलो संस्करणको फाइनलमा वर्षा भएको थियो। फाइनल खेल हुन नसकेपछि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब दुवै टोलीलाई संयुक्तरूपमा विजेता घोषित गरिएको थियो।

एपीएफका बलरमा सोमपाल दोस्रो स्पेलमा धेरै सफल भए। पहिलो स्पेलमा विकेट लिन नसकेको उनले पछि ३ विकेट हात पारेका थिए। त्यस्तै विक्रमले १ विकेट लिए भने पुलिसविरुद्ध राम्रो खेलेका सागर पुनले ९ ओभरमा ४२ रन खर्चेका थिए। शहाब आलमले ८ ओभरमा ३८ रन र शुसान भारीले १० ओभरमा ३२ रन दिएका थिए। उनीहरू किफायती भए पनि विकेट निकाल्न नसक्नु नै आर्मीका लागि जित सम्भव भएन।

यसअघि आर्मीले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा २ सय ९ रन बनाएको थियो। ५६ रनसम्म पुग्दा शीर्ष ४ विकेट गुमाएको टोलीलाई भीम सार्की र राजेश पुलामी मगरले उकासेका थिए। उनीहरू टिकुन्जेल आर्मी चुनौतीपूर्ण लक्ष्य दिने संकेत भएको थियो। तर ६८ रनको साझेदारीपछि भीमलाई वसन्त रेग्मीले क्लिन बोल्ड गरिदिए। भीमले सर्वाधिक ४५ रन बनाए। ६ रनपछि राजेश पनि भुवन कार्कीको बलमा पवेलियन फर्केपछि आर्मी २ सय रन पनि नपुग्ने स्थितिमा थियो।

सोमपाल र कप्तान विनोद भण्डारीले अर्को ६७ रनको साझेदारी गरेर २ सय रन कटाउन सहयोग गरे। तर उनीहरू पनि ६ रनको अन्तरालमा आउट हुनु आर्मीका लागि दुर्भाग्य नै भयो। सोमपालले ३६ रन र विनोदले ३५ रन बनाएका थिए। बलिङमा करण केसीले सर्वाधिक ३ विकेट लिए भने भुवन र वसन्तले २÷२ विकेट हात पारेका थिए।

प्रतियोगितामा म्यान अफ द सिरिज आर्मीका सागर पुन घोषित भए। उनले प्रतियोगिताभरि २ सय ११ रन बटुल्नुका साथै ११ विकेट लिएका थिए। उनले १ लाख नगद हासिल गरे। त्यस्तै उत्कृष्ट बलर आर्मीकै शुसान भारी बने। प्रतियोगिताको ६ इनिङमा सर्वाधिक १२ विकेट लिएका भारीले ३० हजार रूपियाँ पुरस्कार पाए। यसैगरी एपीएफका प्रदीप ऐरी उत्कृष्ट ब्याट्सम्यान चुनिए। समूह चरणमा प्रदेश –२ विरुद्ध प्रतियोगिताकै सर्वाधिक १ सय ५८ रनको शतकीय पारी खेले। ६ इनिङमा कुल ३१५ रन बनाएका ऐरीले पनि ३० हजार रूपियाँ पुरस्कार पाए। प्रदेश–४ का हरि चौहान उदीयमान खेलाडी चुनिँदै ५० हजार नगद पुरस्कार हात पारे।

प्रतिक्रिया दिनुहोस्