रूपकुमार र मेनुकाको मेलोडीमा ज्योती मगरको नयाँ लुक्स



गायक रूपकुमार राई र गायिका मेनुका राईले संयुक्त प्रस्तुतिस्वरूप नयाँ गीत सार्वजनिक गरेका छन्। शुक्रबार राति राजधानीमा आयोजित एक समारोहबीच रूपकुमार र मेनुकाले ९ लाई शून्य नब्बे बोलमा लोकशैलीको गीत सार्वजनिक गरेका हुन्।

मीठासपूर्ण यो गीतलाई रूपकुमार र मेनुकाको सुमधुर स्वरले जति सुमधुर बनाएको छ, त्यति नै यसको म्युजिक भिडियोले आकर्षक पनि बनाइदिन्छ। रमाइलो कुरा यो गीतको म्युजिक भिडियोमा गायिका तथा मोडल ज्योती मगरले कम्मर मर्काएकी छिन्। रमाइलो यस अर्थमा कि सधैं छोटो र पारदर्शी कपडामा देखिने ज्योती पहिलोपटक यो भिडियोमा सारी र चोलोमा सादारूपमा प्रस्तुत भएकी छिन्।


हट प्रस्तुतिबाट दर्शक तताउँदै आएकी ज्योती यो गीतको म्युजिक भिडियोमा शालीन देखिएकी छिन्, तर पनि कुल भने लाग्दिनन्। सधैं हिट गीत र लुक्समा देखिने ज्योतीलाई यो साधारण लुक्समा देखेर दर्शक पनि आश्चर्यमा पर्नेछन्।


विन्ध्यवासिनी म्युजिक प्रालिले उत्पादन गरेको गीत र यो म्युजिक भिडियो पनि दमदार बनेको छ। यसको गीतमा लय तथा शब्द डीआर अटुको रहेको छ भने म्युजिक भिडियोमा ज्योती मगरलाई मोडल काजिश श्रेष्ठले साथ दिएका छन्। काजिश श्रेष्ठकै निर्देशन रहेको भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् सम्पादन दीपक विष्टको गरेका छन्। यसको म्युजिक भिडियो विन्ध्यवासिनी म्युजिककै युटुब च्यानलबाट सार्वजनिक गरिएको छ। विन्ध्यवासिनी म्युजिकका सञ्चालक सुवास रेग्मीले लामो समयपछि एउटा मौलिक सिर्जना पाएको बताए।

‘यो सिर्जना आम दर्शक श्रोताकै सिर्जना भनेर सुन्नुहुनेछ, गीतको कुनै पनि पाटो हामीले औंला उठाउने ठाउँ राखेको छैनौं’, रेग्मी भन्छन्– ‘समग्रमा राम्रो गीतले त्यस्तै म्युजिक भिडियो पाएको छ।’ गायक रूपकुमार राईले मेहनतअनुसार यो गीत र यसको म्युजिक भिडियो बनेको बताए। गायिका मेनुका राईले यो गीतले आफ्नो सांगीतिक करियरमा नयाँ उचाइ दिने विश्वास व्यक्त गरिन्। म्युजिक भिडियोमा गायक रूपकुमार राई र गायिका मेनुका राई पनि देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्