फिफा विश्वकप र नेपालको सहभागिता



कविरस शर्मा

सन् १९५१ मा अखिल नेपाल फुटबल संघ (एन्फा)को स्थापना भए पनि सन् १९७० मा मात्र नेपाल फिफाको आधिकारिक सदस्य राष्ट्र बनेको हो। फिफाको सदस्यता पाएको १५ वर्षपछि मात्र नेपालले सन् १९८५ मार्च २ मा विश्वकप छनोट चरणको पहिलो म्याच खेलेको थियो। फिफाको आधिकारिकतापश्चात् सन् १९७० देखि १९८५ सम्म सम्पन्न फिफा विश्वकपको तीन संस्करणको छनोट खेलमा नेपालको सहभागिता शून्य नै रहेको थियो। सन् १९८५ देखि विश्वकप छनोट चरणमा सहभागिता जनाएको नेपालले अहिलेसम्म ७ पटक प्रतिस्पर्धा गरिसकेको छ। यस्तै सन् १९९४ र २००६ को विश्वकप छनोट चरणमा भने नेपालले भाग नै लिएन। यस क्रममा नेपालले खेलेको कुल २८ म्याचमा विपक्षी टोलीसँग १ सय १ गोल बेहोर्दा १६ गोल मात्र फर्काएको छ।

पहिलो सहभागिता
सन् १९८६ मा मेक्सिकोले विश्वकप आयोजना गरेको थियो। फिफा विश्वकप प्रतियोगिताका लागि एसियाली छनोटमा सहभागी बनेपछि नेपाली राष्ट्रिय फुटबल टोलीले फुटबलको महाकुम्भबाट परिचित विश्वकप फुटबलसँग पहिलो पटक नाता गाँसेको हो। एसियन फुटबल कन्फेडेरेसन (एएफसी)ले छनोट चरणअन्तर्गत एसिया महादेशबाट सहभागी २७ राष्ट्रलाई ‘ए’ र ‘बी’ गरी दुई क्षेत्रमा विभाजित गरी ‘होम एन्ड अवे’को ढाँचामा खेलायो। जसमध्ये प्रत्येक क्षेत्रमा चार उपसमूह बनेकोमा नेपाल क्षेत्र ‘बी’को समूह १ मा परेपछि दक्षिण कोरिया र मलेसियाको चुनौती पाएको थियो। जसअनुरूप नेपालले छनोट चरणको पहिलो खेल सन् १९८५ मार्च २ मा भरिभराउ दशरथ रंगशालामा दक्षिण कोरियासँग खेलेको थियो।

खेलको ३५औं मिनेटमा रूपकराज शर्माको आत्मघाती गोलबाट मध्यान्तरसम्म नेपाल १–० ले पछि परेको थियो। यस्तै ६४औं मिनेटमा दक्षिण कोरियाका ली ते होले पेनाल्टीमार्फत गोल थपेपछि नेपाली टोली २–० ले पराजित भयो। यस्तै समूह चरणअन्तर्गत मार्च १६ मा भएको दोस्रो खेलमा नेपाललाई दशरथ रंगशालामा मलेसियाले पनि २–० ले नै पराजित गरेको थियो।

यस्तै ‘अवे’ म्याचअन्तर्गत सन् १९८५ को मार्च ३१ मा मलेसियासँग उसैको गृह मैदानमा भएको खेलमा ५–० ले पराजय बेहोरेको नेपाल ६ अप्रिलमा सियोल रंगशालामा दक्षिण कोरियासँग पनि ४–० ले पराजित भयो। यसरी नेपालले विश्वकप छनोट चरणअन्तर्गत आप्mनो पहिलो सहभागितामा खेलेको चार खेलबाट कुल १३ गोल बेहोर्दा विपक्षीलाई कुनै गोल फर्काउन नसकी घर फर्कनुपरेको थियो।

दोस्रो सहभागिता
सन् १९९० मा इटालीमा आयोजना भएको विश्वकप फुटबल प्रतियोगिताका लागि छनोटमा एसियाका २५ राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको थियो। जसअनुरूप नेपालले समूह ४ मा रही दक्षिण कोरिया, मलेसिया, सिंगापुर र भारतको चुनौती पाएको थियो। तर भारत छनोट चरणमा सहभागी नभएपछि नेपालले तीन राष्ट्रसँग मात्र प्रतिस्पर्धा गरेको थियो। जसअनुसार नेपालले प्रत्येक सहभागी राष्ट्रसँग दुईपटक गरी कुल ६ म्याच खेलेको थियो।

नेपालले पहिलो खेल सन् १९८९ मे २३ मा मलेसियाविरुद्ध खेलेको थियो। दक्षिण कोरियाको सियोलस्थित दोङग्देमुन रंगशालामा भएको उक्त खेलमा मलेसियाले नेपाललाई २–० ले पराजित ग¥यो। मलेसियाका लागि अजिजोलले दोस्रो मिनेटमै गोल गरेको उक्त खेलको ९०औं मिनेटमा डोल्ला सालेहले पेनाल्टीमार्फत दोस्रो गोल थपेका थिए। यस्तै दोस्रो खेलमा दक्षिण कोरियाले नेपाललाई ९–० को फराकिलो गोलअन्तरले पराजित गरेको थियो। तेस्रो खेलमा सिंगापुरसँग पनि नेपाल ३–० ले पराजित भएको थियो। यसैगरी सिंगापुरमा भएको दोस्रो चरणको खेलमा दक्षिण कोरियासँग ४–०, सिंगापुरसँग ७–० तथा मलेसियासँग ३–० गोल अन्तरले हार्दा छनोट चरणभरि नेपालले कुल २८ गोल बेहोर्दै घर फकिर्नुपरेको थियो।

तेस्रो सहभागिता
सन् १९९४ को विश्वकप छनोट चरणमा नखेलेका नेपालले सन् १९९८ मा फ्रान्समा आयोजित विश्वकपका लागि एसियाली छनोट खेलेको थियो। जसअन्तर्गत एसियाका ३६ राष्ट्रलाई १० समूहमा विभाजन गरिएको थियो। नेपालले समूह ४ मा जापान, ओमान र मकाउको चुनौती पाएको थियो। ओमानमा सम्पन्न पहिलो चरणको खेलमा मकाउसँग १–१ गोलको बराबरीसँगै नेपालले विश्वकप छनोटमा पहिलोपटक अंक बटुल्नुका साथै पहिलो गोलसमेत गर्न सफल भयो।

खेलको १३औं मिनेटमा मकाउसँग १–० ले पछि परेको नेपालका लागि हरि खड्काले खेलको २३औं मिनेटमा उक्त बराबरी गोल फर्काएका थिए। यस्तै दोस्रो खेलमा ओमानसँग १–० ले हार बेहोरेको नेपाललाई तेस्रो खेलमा जापानले ६–० ले पराजित गरेको थियो। यसैगरी जापानमा भएको दोस्रो चरणको खेलमा ओमानसँग ६–०, जापानसँग ३–० तथा मकाउसँग २–१ ले पराजित हँुदै ६ खेलबाट १ अँक जोड्दा २ गोल गरेको बदला १९ गोल बेहोर्दै छनोट चरण टुंग्याएको थियो।

चौथो सहभागिता
सन् २००२ मा पहिलोपटक एसिया महादेशमा हुने तय भयो। दक्षिण कोरिया र जापानले संयुक्तरूपमा आयोजना गरेको सो विश्वकप छनोटका लागि एसियाको ४० राष्ट्रलाई १० समूहमा विभाजन गरीएको थियो। नेपालले समूह ६ मा कजाखस्तान, मकाउ र इराक सम्मिलित टोलीमा परेको थियो। दुई चरणमा खेलाइएको उक्त प्रतिस्पर्धाअन्तर्गत समूहमा रहेका प्रत्येक टोलीसँग दुई खेल भएको थियो। जसअनुसार बग्दादमा भएको आफ्नो पहिलो खेलमा नेपाललाई कजाखस्तानले ६–० ले पराजित गरेको थियो। यस्तै दोस्रो खेलमा इराकसँग ९–१ ले हार्दा नेपालका लागि निराजन रायमाझीले एक गोल फर्काएका थिए।

तेस्रो खेलमा भने मकाउलाई ४–१ ले हराउँदै विश्वकप छनोट चरणमा नेपालले पहिलो पटक जितको स्वाद चाखेको थियो। नेपाललाई उक्त ऐतिहासिक जित दिलाउन निराजन रायमाझीले २ तथा हरि खड्का र वसन्त थापाले १÷१ गोल गरेका थिए। यस्तै कजाखस्तानको अल्माटीमा सम्पन्न दोस्रो चरणको खेलमा कजाखस्तानले नेपाललाई ४–० ले पराजित गरेको थियो। यस्तै इराकसँग ४–२ ले हारेको नेपालले अन्तिम खेलमा मकाउलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको थियो।

नेपालका तर्फबाट निराजन रायमाझीले ≈याट्रिक पूरा गरेको उक्त खेलमा बालगोपाल महर्जन, दीपक लामा तथा वसन्त थापाले १÷१ गोल गरेका थिए। उक्त छनोट चरणअन्तर्गत समग्रमा नेपालले ६ खेलबाट ६ अंक जोड्दै २५ गोल बेहोर्दा विपक्षीलाई १३ गोल फर्काउन सफल भयो। उक्त नतिजा नेपालले विश्वकप छनोटमा अहिलेसम्म गरेको उत्कृष्ट प्रदर्शनसमेत हो।

पाँचौं सहभागिता
सन् २००६ मा जर्मनीमा आयोजित विश्वकपका लागि छनोट नखेलेको नेपालले सन् २०१० को विश्वकपका लागि पाँचौंपटक छनोट चरणमा प्रतिस्पर्धा गरेको थियो। सन् २०१० मा दक्षिण अफ्रिका आयोजक रहेको विश्वकपका लागि एसियाका ४३ राष्ट्रहरूलाई वरीयताक्रमअनुसार छनोट चरणका खेलहरू खेलाइएको थियो।
जसअनुसार वरीयताक्रममा रहेका एकदेखि ५ स्थानसम्मका राष्ट्रहरूले सोझै अन्तिम चरणमा खेलेका थिए। ६ देखि २४औं स्थानमा रहेका राष्ट्रहरूले भने २५ देखि ४३औं स्थानमा रहेका राष्ट्रहरूसँग ‘होम एन्ड अवे’को ढाँचामा खेलेका थिए। जसअनुसार नेपालले ओमानको चुनौती पाएको थियो।

‘अवे’ म्याचअन्तर्गत ओमानको राजधानी मस्कटमा भएको खेलमा नेपाल ओमानसँग २–० ले हारेको थियो। दशरथ रंगशालामा भएको दोस्रो खेलमा पनि ओमानले नेपाललाई २–० ले नै पराजित गरेको थियो। समग्रमा दुई खेलमा चार गोल बेहोर्दै नेपालले विश्वकप छनोट चरण टुंगेको थियो।

छैठौं सहभागिता
सन् २०१४ को ब्राजिल विश्वकपका लागि एसियाली राष्ट्रको वरीयताक्रमअनुसार खेलाइएको थियो। छैठौं स्थानभन्दा माथिका ३० राष्ट्रहरूलाई ‘होम एन्ड अवे’को ढाँचामा खेलाइएको थियो। जसअनुसार नेपालले जोर्डनको सामना गरेको थियो। ‘अवे’ म्याचअन्तर्गत अम्मानमा सम्पन्न खेलमा नेपालले जोर्डनसँग ९–० को लज्जास्पद हार बेहोरेको थियो। यस्तै काठमाडौंको दशरथ रंगशालामा भएको दोस्रो खेलमा भने जोर्डनलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको थियो। उक्त समय फिफा वरीयताक्रममा नेपालभन्दा धेरै माथि रहेको जोर्डनलाई १–१ गोलको बराबरीमा रोक्नु पनि नेपाली फुटबलका लागि ठूलो उपलब्धि नै सावित भएको थियो। नेपालका लागि भरत खवासले बराबरी गोल फर्काएका थिए।

सातौ सहभागिता
यसअघिका फिफा विश्वकप छनोटमाझैं २०१८ को छनोटमा पनि नेपालको नतिजामा कुनै आश्चर्यजनक फेरबदल भएन। एसियाली वरीयताअनुसार उत्कृष्ट ३४ स्थानभित्र पर्न नसकेका भारत र नेपालले प्रारम्भिक छनोट खेलेका थिए। ‘होम एन्ड अवे’ प्रणालीमा भएको उक्त दुई लेगको खेलमा भारतले आफ्नो मैदानमा नेपाललाई २–० ले हराएको थियो। काठमाडौंमा भएको दोस्रो लेगमा भने नेपालले गोलरहित बराबरीमा खेल टुंग्याएको थियो। समग्रमा नेपाल २–० ले पराजित भएपछि एसियाली छनोटको प्रमुख ड्रमा भारतले आफ्नो नाम लेखायो।

भारतको गुवाहाटीमा २०१५ को मार्च १२ मा भएको पहिलो लेगमा नेपालविरुद्ध सुनिल क्षेत्रीले गरेको २ गोल नै भारतलाई अघिल्लो चरणमा पु¥याउन पर्याप्त बन्यो। यद्यपि त्यसको ५ दिनपछि काठमाडौंमा भएको दोस्रो लेगको खेलमा नेपाली फुटबल टोलीले प्रतिस्पर्धामा पुनरागमन गर्ने भरमग्दुर प्रयास नगरेको भने होइन। सदाझैं सराहनीय प्रदर्शन गरे पनि गोल नगर्ने पुरानो रोगबाटग्रस्त नेपालले खेलको अधिकांश समय भारतलाई पूर्ण दबाब राखेर दर्शकहरूको मन जित्ने खेल पस्केको थियो। तर खेलमा आवश्यक गोल नै गर्न नसकेपछि नेपालको चुनौती समाप्त भएको थियो।

प्रतिक्रिया दिनुहोस्