बक्सिङ छनोट विवाद अदालतदेखि सांसदसम्म



नेपाल समाचारपत्र, काठमाडौँ ।
आगामी भदौ २ देखि १७ गतेसम्म इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुद प्रतियोगिताका लागि बक्सिङ खेलाडी छनोट विवाद अदालतदेखि सांसदसम्म पुगेको छ।

एसियाली खेलकुदका लागि नेपाल बक्सिङ संघले गत चैत २९ र ३० गते खेलाडी छनोट गरेको थियो। तर बन्द शिविरका खेलाडीबीच मात्र छनोट गराइएपछि असन्तुष्ट खेलाडीले यसको विरोध गर्दै आए। जसमध्ये अन्तर्राष्ट्रिय खेलाडी दिनेश श्रेष्ठले खुला छनोटमा खेल्न पाऊँ भनी सम्बन्धित विभिन्न १४ सरोकारवाला निकायविरुद्ध अदालतमा मुद्दासमेत दायर गरे। सो मुद्दालाई न्यायाधीशद्वय केशवराज जोशी र शान्तिसिंह थापाको संयुक्त इजलासले छनोट भएका खेलाडीको नामावली आयोजक राष्ट्रसमक्ष पठाइसकेकाले पुनः छनोट गर्न अन्तरिम आदेश जारी गर्नुनपर्ने निर्णय गरेको थियो।

तर अहिले ७५ केजी तौलका लागि भने कमल थापा र दीपक श्रेष्ठबीच जेठ २५ गते पुनः छनोट खेल हुने भएपछि अदालतको उक्त निर्णय अर्थहीन बनेको छ। सांसदकोे सिफारिसमा ७५ केजी तौल समूहमा पुनः छनोट खेल गराउन लागिएको हो।

अदालतले निर्णय गरेको विषयलाई राजनीतिक पहुँच भएकै आधारमा बदल्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उब्जिएको छ। यदि मिल्छ भने न्यायालयको महत्व के हो त? अर्कोतर्फ छनोट भएका खेलाडीको नामावली आयोजक राष्ट्रसमक्ष पेस गरिसकेकाले पुनः छनोट गरी नाममा हेरफेर गर्नुनपर्ने भनेर अदालतले के कुरालाई आधार मानेको हो स्पष्ट देखिँदैन। यदि ७५ केजी तौलमा पुनः छनोट गर्न अदालतको निर्णय बाधक हुँदैन भने अन्य खेलाडीले पनि खेल्न पाउनका लागि अदालतमा हालेको मुद्दाको तुक के हो त?

यसअघि नै इन्डोनेसियामा पठाइसकेका खेलाडीको नामावली फेरबदल गर्न नमिल्ने भए पुनः हुन लागेको छनोटले अदालतको निर्णयलाई अर्थहीन बनाउँछ। यसले अदालतजस्तो गरिमामय संस्था नै खुला छनोट प्रक्रियाको बाधक बनेको देखिन्छ। न्यायका लागि अदालतको सरणमा पुग्दा दिनेशले न्याय नपाउनु र पहुँच भएकै आधारमा कमलले छनोट खेल्न पाउनुले देशको वैधानिक पद्धतिकै खिल्ली उडाउने काम भएको छ।

कसरी पाए कमलले छनोट अवसर

सहीरूपमा खेलाडी छनोटका लागि कमल थापाले आफै राखेपमा निवेदन दिएको बताए। उनले गत वैशाख २३ गते सरोकारवाला निकायमा आफूले खेल्न पाउनुपर्ने भन्दै लिखित निवेदन दिएका थिए। यसअघि राखेप च्याम्पियनसिपमा ६४ केजीमा दोस्रो भएका दीपक श्रेष्ठलाई ७५ केजीमा सोझै छनोट गराउनुलाई ठीक नभएको भन्दै राखेपमा १ महिना अघिदेखि जानकारी गराउँदै आए पनि सुनुवाइ नभएपछि बाध्य भएर राजनीतिक सरणमा जानुपरेको थापाले बताए।

उनले भने– ‘७५ केजीको स्वर्ण विजेता दीपेश लामा विदेशमा रहेका र दोस्रो हुने कौशल जंग थापा अध्ययनको सिलसिलामा उपस्थित हुन नसकेपछि तेस्रो भएका खेलाडी एसियन गेम्सका लागि स्वतः छनोट हुनुपर्ने हो। तर ६४ केजीमा दोस्रो भएकालाई सोझै ७५ केजीमा छनोट गरियो। त्यसैले मैले पनि न्यायका लागि सांसदसमक्ष आफ्नो दुखेसो राख्दा सहयोग मिलेको हो। शुरूमा नै बक्सिङ संघले नियमअनुसार खुला अथवा राखेप च्याम्पियनसिपमा पदक जित्ने खेलाडीबीच मात्र छनोट गराएको भए अहिले यस्तो अवस्था आउने नै थिएन।’

यसै विषयमा अर्का असन्तुष्ट खेलाडी दिनेश श्रेष्ठले पनि बक्सिङ संघको मनपरीका कारण खेलाडीले दुःख पाएको बताए। न्यायका लागि वैधानिक बाटो अपनाउँदा समेत आफूले न्याय नपाएको र राजनीतिक पहुँच भएका आधारमा अदालतको निर्णयसमेत अवहेलना भएकोमा उनले दुखेसो पोखे।

यस्तो थियो अदालतको निर्णय

१८औं एसियाली खेलकुदका लागि बक्सिङ खेलाडी छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै अन्तर्राष्ट्रिय बक्सर दिनेश श्रेष्ठले विभिन्न १४ संस्थाविरुद्ध दायर गरेको मुद्दामा पाटन उच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो। वैशाख २० गते तोकिएको पेसी बक्सिङका एक प्रशिक्षकले अदालतको पत्र नबुझेकाले वैशाख २७ सम्म सारिएको थियो।
वैशाख २७ गते भने न्यायाधीशद्वय केशवराज जोशी र शान्तिसिंह थापाको संयुक्त इजलासले छनोट भएका नेपाली बक्सिङ खेलाडीको नामावली एसियन गेम्सको आयोजक राष्ट्र इन्डोनेसियामा प्रेषित भइसकेकाले अन्तरिम आदेश जारी गर्नुनपर्ने निर्णय गरेको थियो। उक्त पत्रमा निवेदक दिनेश श्रेष्ठले उठाइएका विवादित विषयवस्तुका सम्बन्धमा अन्तिम सुनवाइमा सम्बोधन हुने हुँदा अन्तरिम आदेश जारी गर्न नपर्ने भनेर प्रस्ट लेखिएको छ।

खेलाडीको अन्तिम नामावली पठाउने मिति

१८औं एसियाली खेलकुद प्रतियोगितामा खेलाडीको अन्तिम नामावली पठाउने मिति १५ जुलाई २०१८ भनेर आयोजक संस्थाको आधिकारिक वेबसाइटमा स्पष्ट तोकिएको छ। एसियाली खेलकुदका लागि अझै खेलाडी छनोट भइरहेकाले नेपाल ओलम्पिक कमिटीले पनि खेलाडीको अन्तिम नामावली पठाउन समय बाँकी रहेको बताएको छ। तर अदालतले भने नेपाली बक्सिङ खेलाडीको अन्तिम नामावली आयोजकसमक्ष प्रेषित भइसकेको कारण देखाई तत्कालका लागि पुनः छनोट गर्न अन्तरिम आदेश जारी गर्नुनपर्ने निर्णय लिएको थियो। अन्तिम नामावली पठाउन ७ साता बाँकी रहँदै अदालतले उक्त निर्णय गरेकोे थियो। खुला छनोट खेल गराउने समय अनुकूल हुँदा हुँदै पनि अन्तर्राष्ट्रिय खेलाडी दिनेश श्रेष्ठको मुद्दामा अदालत किन गम्भीर हुन सकेन भनेर सबैको चासो बनेको छ।

यसअघि छनोटमा विवाद बढेपछि नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले गत पुसमा सम्पन्न राखेप च्याम्पियनसिपलाई नै एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुदका लागि खेलाडी छनोटको आधार मानिएकाले नेपाल बक्सिङ संघले बन्द शिविरमा रहेको खेलाडीबीच नै प्रतिस्पर्धा गराएर खेलाडी छनोट गरेको बताएका थिए।

छनोटमा कसरी भयो विवाद

१८औं एसियाली खेलकुदका लागि नेपाल बक्सिङ संघले गत चैत २९ र ३० गते खेलाडी छनोट गरेको थियो। गत पुसमा सम्पन्न राखेप च्याम्पियनसिपमा आफ्नो तौल समूहमा स्वर्ण र रजत जितेर बन्द शिविरमा बसेका खेलाडीलाई मात्र समावेश गरिएको थियो।

जसमा पुरुषमा सात र महिलाको तीन तौल समूह गरी कुल १० जना खेलाडी छानिएका थिए। त्यतिबेला खुला छनोट नगर्नु र अहिले पुरुष ७५ केजी तौलमा मात्र छनोट खेल गराउने निर्णय गर्नुले विवाद उठेको हो। राखेप च्याम्पियनसिपमा ६४ केजीमा दोस्रो भएका दीपक श्रेष्ठलाई एसियन गेम्स छनोटमा ७५ केजीमा सोझै छनोट गरिएपछि विवाद शुरू भएको हो। राखेप च्याम्पियनसिपअन्तर्गत ७५ केजीका स्वर्ण विजेता दीपेश लामा विदेशमा रहेको र दोस्रो हुने कौशल जंग थापा पनि अध्ययनका कारण उपलब्ध हुन नसक्ने भएपछि सोही तौलका कांस्य विजेताबीच छनोट गराएर एसियन गेम्स खेल्न पाउने पर्ने भन्दै कमल थापाले सरोकारवाला निकायमा लिखित निवेदन दिएका थिए। तर उनको सुनवाइ कतै पनि नभएपछि सांसदले सहयोग गरेको उनले बताए। राखेप च्याम्पियनसिपअन्तर्गत पुरुष ६४ केजी तौल समूहमा भूपेन्द्र थापामगरले स्वर्ण जित्दा दीपक श्रेष्ठले रजत जितेका थिए।

कसैलाई काखा कसैलाई पाखा

नेपाली बक्सिङ खेलाडीको नामावली एसियन गेम्सको आयोजक राष्ट्र इन्डोनेसियामा प्रेषित भइसकेकाले खुला छनोटको विषयमा अदालतले अन्तरिम आदेश जारी गर्नुनपर्ने निर्णयसँगै दिनेश श्रेष्ठको एसियन गेम्स खेल्ने आशामाथि तुषारापात भएको थियो। उनमा अदालतको उक्त निर्णयलाई स्वीकार्नुबाहेक अन्य विकल्प छैन। उनी आफ्नो क्षमता र योग्यताको बलमा बक्सिङ छनोट खेल्न चाहन्थे, तर पूरा भएन।

अर्कोतिर दिएको निवेदन अर्थहीन भएपछि दिनेशकै हविगत निश्चितप्राय हुने अवस्थामा पुगिसकेका कमल थापालाई सांसदको सहयोगले छनोट खेल्ने अवसर जुर्यो । खेलकुदमा राजनीतिलाई घुसाउने सकारात्मक कुरा होइन। तर कतैबाट न्याय नपाएपछि उनले यसो गर्नुपरेको बताए।

वास्तवमा कमल यसबाट सन्तुष्ट भने छैनन्। उनले भने– ‘मैले राखेप च्याम्पियनसिपको ७५ केजीमा कांस्य जितेको हुँ। तर अहिले मलाई राखेप च्याम्पियनसिपको ६४ केजीमा दोस्रो हुनेसँग छनोट खेलाउन लागिएको छ। राखेप च्याम्पियनसिपमा खेलेका मेरै तौलका खेलाडीसँग पो छनोट खेलाउने हो अथवा खुला छनोट गराउनुपर्ने हो। तर, त्यसो हुन सकेन। त्यति बेला बन्द शिविरकाबीच मात्र छनोट गराएको भनिए पनि अहिले शिविर बाहिरको मलाई पनि छनोट खेल खेल्ने अवसर जुरेको छ।’

प्रतिक्रिया दिनुहोस्