वीर अस्पताल सफाइको नाममा फाउन्डेसनको लुट !



सन्तोष खनाल, काठमाडौं
नेपाल सरकारले शुरुआत गरेको वीर अस्पताल सरसफाइ कार्यक्रमका नाममा धुर्मुस–सुन्तली फाउन्डेसनमाथि गम्भीर आरोप लागेको छ। फाउन्डेसनको नाममा लाखौं रकम असुल गरेको आरोपसमेत लागेको छ।
शताब्दी इतिहास बोकेको फोहोर र प्रदूषित वीर अस्पताल सरसफाइको नाममा धुर्मुस–सुन्तली फाउन्डेसनले मनपरी ढंगले सहयोग उठाइरहेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले सरकारी स्वास्थ्य संस्थालाई पूर्ण सरसफाइ युक्त बनाउन जेठो अस्पतालबाटै एकमहिने सरसफाइ अभियान सञ्चालन गर्नुभएको थियो।


धुर्मुस सुन्तली फाउन्डेसनका साथीहरूको आर्थिकबाहेकको अरू माववीय रूपमा गरिने सहयोग मागिएको हो। अस्पताल सफाइको सबै खर्च अस्पतालले बेहोर्छ।


गत वैशाख २३ गतेदेखि सफाइ अभियान चलाइएको थियो। अस्पतालमा खटिने १ सय ५० सरसफाइ कर्मचारीले हरेक दिन सरसफाइ गरिरहे पनि अस्पताल निक्कै दुर्गन्धित भएपछि स्वास्थ्य राज्यमन्त्रीले आफैं शौचालयसमेत सफा गर्न वीर पुग्नुभएको थियो। स्वास्थ्य राज्यमन्त्री अर्यालले अभियानको थालनी गरेपछि सरसफाइ दूतका रूपमा समेत रहेका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले अस्पताल सफाइको बहानामा रकम असुल्न शुरू गरेको आरोप लागेको छ।
स्वास्थ्य राज्यमन्त्रीको अगुवाइमा शुरू भएको वीर अस्पताल सरसफाइ तथा रङरोगन अभियानको सबै खर्च अस्पतालले बेहोर्नुपर्नेमा धुर्मुसले इमोसनल कुरा गर्दै लाखौं रुपियाँ उठाएको आरोप लागेको छ।

सरसफाइका लागि सहयोग गर्न सार्वजनिक अपिल गरेरै रकम संकलनमा लागेको फाउन्डेसनले दैनिक लाखौं रुपियाँ उठाएको बताइएको छ। स्वास्थ्य राज्यमन्त्री अर्यालले अस्पताललाई अझ राम्रो बनाआंै भनेर अभियान चलाउन खोज्दा धुर्मुस–सुन्तलीलाई अभियान्ताका रूपमा खोजी भएको थियो।
१ सय २८ वर्ष पुरानो अस्पतालको बाहिरी भाग (शौचालयसमेत) आफैं सफाइ गर्दै आन्तरिक सफाइ पनि जरुरी भएको स्वास्थ्य राज्यमन्त्री अर्यालले त्यस बेला नै बताउनुभएको थियो।

देशका कुनाकाप्चाबाट दैनिक ५ हजार बढी बिरामी आउने अस्पतालमा स्वास्थ्य मन्त्रालयले अस्पताल र ट्रमा सेन्टरको १५–१५ दिनको सफाइ अभियान चलाउन अन्तर्राष्ट्रिय विमानस्थल र पशुपतिनाथ क्षेत्र सफा गरेको खेम्स क्लिनिङसँग सहकार्य गरेको थियो। नेपाल सरकारका सरसफाइ दूत सीताराम कट्टेल पनि अभियानमा सहभागी भएका थिए। अस्ट्रेलियाबाट नेपाल आउनुभएका खेम्स क्लिनिङका खेम शर्माका १५ जना स्वयंसेवकसहित वीर अस्पतालका १० जना सरसफाइ कर्मचारी पनि सफाइमा जुटेका थिए।


वीर अस्पतालका निर्देशक डा, भुपेन्द्र बस्नेतले सबै सरसफाइको काम अस्पतालले गरेको सञ्चारमाध्यमलाई बताउदै आउनुभएको छ।


अस्पतालले आफ्नै खर्चमा सरसफाइ गरेको बताएपनि सो फाउन्डेसनले अभियान भन्दै रकम संकलन गरेको र संकलित रकम कहाँ कसरी खर्च भएको छ भन्ने बारेमा अहिलेसम्म कुनै हिसाब किताब सार्वजनिक भएको छैन। सफाइकै लागि ४७ लाख खर्च भएको भन्दै धुर्मुस सुन्तलीले आफू ऋणमा चलेको बताउँदै आएका छन्। वीरका निर्देशकले काम गर्ने मान्छेदेखि खर्चसमेत अस्पतालले नै गरेको बताउनु र धुर्मुसले ४७ लाख खर्च भएको बताउनुले कुरा बाझिएको छ।

हाम्रो नबोल्ने नीति छ
वीर अस्पतालका निर्देशक डा. भुपेन्द्र बस्नेतले नेपाल समाचारपत्रसँग यस विषयमा कुराकानी गर्न आनाकानी गरेका छन्। स्वास्थ्य मन्त्रालयको अगुवाइमा काम भएको बताउँदै उनले रड्डरोगनमा धुर्मुसले साथ दिएको बताउनुभयो।‘स्वास्थ्य मन्त्रालयको अगुवाइमा काम भइरहेको छ। रड्ड रोगन धुर्मुसजीले गर्दै हुनुहुन्छ। अहिले यतिमात्रै भनौँ।’ उहाँले वीर सरसफाइको बारेमा आफू नबोल्ने नीति भएकोसमेत बताउनुभयो। ‘यस बारेमा हाम्रो नबोल्ने नीति छ।’ –उहाँले भन्नुभयो।

सरसफाइको जिम्मा वीर अस्पतालको : मन्त्रालय
यता स्वास्थ्य मन्त्रालयले सरसफाइको जिम्मा वीर अस्पतालको भएको बताएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले नेपाल समाचारपत्रसँग कुरा गर्दै स्वास्थ्य राज्य मन्त्रीले सरसफाइको शुरुआत गरेको र सबै सरसफाइको जिम्मा अस्पतालको भएको बताउनुभएको छ।

सरसफाइ दूतको रूपमा धुर्मुसको सहयोग आएको बताउँदै उहाँले सरसफाइको सबै खर्च अस्पतालले बेहोर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘धुर्मुस सुन्तली फाउन्डेसनका साथीहरूको आर्थिकबाहेकको अरू माववीय रूपमा गरिने सहयोग मागिएको हो। अस्पताल सफाइको सबै खर्च अस्पतालले बेहोर्छ।’उहाँले अस्पतालको आफ्नै बजेट भएकोले आफैं सरसफाइको खर्च गर्ने समेत बताउनुभएको छ। अस्पतालले नसकेको खण्डमा मन्त्रालयको सहयोग मागेर काम गर्नुपर्ने उहाँको भनाइ छ।

के भन्छन् धुर्मुस

अस्पतालले गरिरहेको सरसफाइका नाममा सहयोगको याचना गरी रकम उठाउँदै गरेका सीताराम कट्टेल ‘धुर्मुस’ले नेपाल समाचारपत्रसँग कुरा गर्दै सरकारले सरसफाइ मात्रै भनेको तर रङरोगन पनि गर्नुपर्ने भएकाले फाउन्डेसनमार्फत अपुग सहयोग मागेको बताउनुभएको छ।
उहाँले प्रारम्भिक चरणमा सरसफाइ मात्रै गर्ने अभियान भएको र पछि नमुना अस्पताल बनाउनुपर्छ भन्ने लागेर निःस्वार्थरूपमा अस्पताल सरसफाइ र रङरोगनमा लागेको बताउनुभएको छ। सरकारबाट १ लाख मात्रै प्राप्त भएको, अरू सहयोगीबाट र बाँकी ऋणमा चलेको कट्टेलले दाबी गर्नुभयो।
हास्य कलाकार कट्टेलले नेपाल समाचारपत्रसँग कुरा गर्दै यसो बताइरहँदा उहाँले सरसफाइका लागि रकम अपुग तथा थप रकम व्यवस्थापन गर्न अस्पताल तथा मन्त्रालयलाई कुनै अनुरोध नगरेको स्वीकार गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्