‘निपा’को उच्च जोखिममा मकवानपुरको चेपाङ बस्ती



हेटौंडा, (नेस)। मकवानपुर जिल्लाको विकट गाउँपालिका हो, राक्सिराङ। उक्त गाउँपालिकाको अतिविकट वडा नम्बर–६ मा पर्ने सिलिङ्गेमा रहेको चेपाङ बस्तीमा हाल भारतलगायत देशमा तहल्का मच्चाएको खतरनाक ‘निपा’ भाइरस संक्रमणको जोखिम देखिएको छ।

उक्त क्षेत्र मकवानपुर प्रतिनिधिसभा–२ (ख)मा पर्दछ। जहाँका माकलदमार, सिवाङ र वाङ्गरामलगायत क्षेत्र जोखिमयुक्त छन्। भारतमा १२ जनाको ज्यान लिएको ‘निपा’ भाइरस मकवानपुरमा पनि पाइन सक्ने सम्भावना औंल्याइएको हो। उक्त भाइरस फैलाउने चमेरो उक्त क्षेत्रमा पनि रहेको अनुसन्धानका क्रममा फेला परेको छ। हाल नदेखिए पनि मकवानपुरमा उक्त भाइरस संक्रमित हुने सम्भावना प्रबल रहेको अनुसन्धानकर्ताको भनाइ छ।

त्यहाँ लामो समय लगाएर गरिएको चमेरोको अध्ययन अनुसन्धानबाट यस्तो तथ्य फेला परेको सम्बद्ध पक्षले जनाएको हो। उक्त गाउँका अतिविपन्न करिब ३ सय चेपाङ समुदायले खाद्यान्न संकटका कारण ओढारमा गएर स्तनधारी चमेरो मारी खाने गरेका छन्। सिलिङ्गेमा तामाङसहित करिब ४ सय ५० परिवारको बस्ती छ।

उक्त क्षेत्रमा वर्षको करिब ५ महिना खाद्यान्न संकट देखापर्ने गरेको छ। चेपाङ बस्तीमा जेठ÷असारमा अन्न बाली भित्रिसकेको हुँदैन। सागसिस्नु पनि बारीमा हुँदैनन्। कन्दमूल पनि सकिन्छ। मंसिरमा भित्रिएको अन्नले जेनतेन चैत÷वैशाखसम्म गुजारा चल्छ। साउनमा मकै नपाकुन्जेल भोकमरी हुन्छ। त्यसैले ओढारमा छिरेर चमेरो मारेर खानु उनीहरूको बाध्यता हुन्छ।

चमेरो खाने र चमेरोले दिसा गरेको स्थानमा बढी घुलमिल भए ‘निपा’ भाइरस सर्ने गर्दछ। अध्ययन प्रतिवेदन आएपछि गाउँपालिका अध्यक्ष राजकुमार मल्लले चमेरोबाट भाइरस मानिसमा सर्ने र मानिसबाट महामारीको रूप लिनसक्ने भएकाले सुरक्षित रहन स्थानीयलाई आग्रह गर्नुभएको छ।

चमेरो र मानिस रहेका ठाउँ उच्च जोखिममा देखिएको हुँदा सतर्क रहन उहाँको विशेषतः चेपाङ परिवारलाई आग्रह छ। उहाँले जिल्लाको सम्बद्ध पक्षसँग यस विषयमा समन्वय गरी संक्रमणको जोखिमबाट बच्ने उपाय अवलम्बन गरिने बताउनुभयो।

चेपाङ चमेरोको मासु खाने समुदाय हो। जिल्लामा बसोबास गर्ने चेपाङ समुदायलाई यतिबेला दुई छाक खान धौधौ पर्ने गर्दछ। चामलको भात त परको कुरा, दुई छाक खोले फाँडो खान पनि मुस्किल हुन्छ।

सिंगो गाउँमै अनिकाल लाग्ने गरेको गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो। ‘स्थानीयलाई जेठ÷असार महिना बाँच्न कठिन हुन्छ,’ पीडा सुनाउँदै उहाँले भन्नुभयो– ‘कसैको पनि घरमा अन्नपात छैनन्। एक÷दुई घर होइन, सबैको पीडा उस्तै छ।’

यस समय अनिकालको भएको भन्दै उहाँले अबका दिनमा कसरी जीविकोपार्जन गर्न सकिन्छ भन्ने विषयमा स्थानीय तहमा छलफल चलाइएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्