बर्डफ्लुको त्रास, ठाउँठाउँमा बर्डफ्लु, अवैध चल्ला बरामदमा प्रहरी सक्रिय



रोशन पराजुली

छिमेकी जिल्ला चितवनमा कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएको क्षेत्रमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मानव स्वास्थ्यबारे अनुगमन थाल्दा मकवानपुर प्रहरीले अवैध कुखुराको खोजी र नस्ट गर्ने अभियान थालेको छ। एकसाता अघि वीरगञ्जबाट
हेटांैडातर्फ आउँदै गरेको ग.४ च ३७९९ नम्बर पिकअप भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले हेटौंडा–९ स्थित सडकखण्डमा सवारी चेक गर्दा १ हजार वटा चल्ला फेला पारेको थियो। भ्यानमा चल्ला निकासी पैठारीका लागि आवश्यक कागजात नभएपछि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन चेकपोस्ट पथलैया, बारामा पठाइएको थियो।

यसलगत्तै बिहीबार तारकेश्वर नगरपालिका वडा नं ६ मा घरपालुवा हाँसमा बर्डफ्लु फेला पारी पशुसेवा विभागले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा मानव स्वास्थ्यका लागि सचेतनाका लागि आवश्यक सहयोगको माग गर्दै पत्राचार गरेको छ।

सरकारले चनाखो भएर खोजतलासी गर्ने र बर्डफ्लु देखा परेका क्षेत्रका कुखुरापालन गर्ने फार्म, कृषकको समेत निगरानी गरिरहेको इपिडियिोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदार सेन्चुरीले जानकारी गराउनुभयो। यसरी बर्डफ्लु लागेका कुखुराको हेरचाहमा खटिन कृषकलाई टाइमिङफ्लू नामक औषधि शुरू गरी कृषकलाई अन्यत्र नजानसमेत सचेत गराइएको डा. सेन्चुरी बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्