मस्कोलाई एक्ल्याउने प्रयासमा पुनः विचार गर्न ट्रम्पलाई पुटिनको आग्रह



सेन्ट पिटर्सवर्ग, (ऐजेन्सी)
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मस्कोलाई एक्ल्याउने वासिङ्टनको प्रयासलाई लिएर पुनः विचार गर्न आग्रह गरेका छन्। आफ्ना समकक्षीलाई सम्भावित मुठभेडको स्थिति अन्त्य गर्न कूटनीतिको आवश्यक भएको पुटिनले बताए।

सेन्ट पिटर्सवर्गमा भइरहेको इन्टरनेसनल इकोनोमिक फोरमको सम्मेलनलाई सम्बोधन गर्ने क्रममा पुटिनले उक्त कुरा राखेका हुन्। सम्मेलनमा जापानी प्रधानमन्त्री सिन्जो आबे, अन्तर्राष्ट्रिय मुद्रा कोषका महाप्रबन्धक क्रिस्टिना लेगार्ड, फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रों र चिनियाँ उपाध्यक्ष वाङ किसानको सहभागिता रहेको थियो। अमेरिका र उसका पश्चिमी सहयोगीहरूले हालैका वर्षमा मस्कोको अन्तर्राष्ट्रिय मामिलामा गलत हस्तक्षेपलाई लिएर रुसमाथि एकपछि अर्को नाकाबन्दी लगाउँदै आएका छन्। मस्कोले ती आरोपहरूलाई लगातार अस्वीकार गर्दै आइरहेको छ।

रुसी नेताले इरान तथा उत्तर कोरियाजस्ता जटिल मुद्दाहरूमा समेत अमेरिकासँग नियमित सम्पर्क स्थापित गर्न आवश्यक रहेको बताए। वासिङ्टनले यी मुद्दाहरूमा मस्कोको भन्दा बढी आक्रामक अडान लिँदै आइरहेको छ। राष्ट्रपति पुटिनले विश्व अर्थतन्त्रलाई पुनर्जीवित पार्नका लागि अमेरिकासँग सामान्य सम्बन्ध हुनु आवश्यक भएको बताए। होइन भने विवाद समाधानमा सैन्य मात्रै विकल्प हुन सक्ने उनले बताए।

इरानी परमाणु सम्झौताबाट बाहिरिने ट्रम्पको निर्णयको पनि तिखो आलोचना गर्दै यसले खतरनाक अस्थिरतालाई निम्त्याउन सक्ने पुटिनले बताए। तेहरानले आफ्नो प्रतिबद्धतालाई पूरा गरिरहेको अन्तर्राष्ट्रिय परमाणु निगरानी संंस्थाहरूले पुष्टि गरिरहँदा पनि सन् २०१५ सहमतिबाट अमेरिका फिर्ता भएको रुसी नेताले जोड दिए। ‘के यसका लागि दण्डित गर्नु आवश्यक छ?’ –उनले प्रश्न राखेका छन्।

त्यसैगरी अन्तर्राष्ट्रिय न्युज एजेन्सीका वरिष्ठ सम्पादकहरूको एक बैठकमा रुसी राष्ट्रपति पुटिनले अमेरिकासँग सम्बन्ध सुधार्न चाहेको तर राष्ट्रपति ट्रम्प घेरिएका विवादहरूले त्यसलाई बन्धक जस्तै बनाएको बताएका थिए।

चीनसँगको सम्बन्ध इतिहासकै सर्वश्रेष्ठ
राष्ट्रपति पुटिनले रुसको चीनको रणनीतिक साझेदारी इतिहासकै सर्वश्रेष्ठस्तरमा विकसित भइरहेको बताएका छन्। उनले यसको भविष्य पनि अत्यन्त राम्रो भएको दाबी गरे। प्रेससँगको कुराकानीमा एक प्रश्नको जवाफमा रुस चीन सम्बन्ध पुनः परिभाषित गर्न आवश्यक नभएको बताए। उनले भने– ‘वास्तवमा रुस र चीनले राम्रो रणनीतिक सम्बन्ध स्थापित गरको छ।’

पुटिनले चिनियाँ कम्युनिस्ट पार्टीको १९औं नेसनल कांग्रेसका विषयमा बाल्दै आफूले लामो अवधिमा द्विपक्षीय सम्बन्ध राम्रो बनाउनका लागि अनुकूल स्थिति उत्पन्न गराएको बताए। उनले भने– ‘उसको ताजा फैसलाले हाम्रो सम्बन्धलाई अझ स्थायी बनाएको छ। यो अल्पकालीनका लागि होइन, दीर्घकालीनका लागि हो।’

कोरियाली प्रायद्वीपको परमाणु निशस्त्रीकरणलाई अगाडि बढाउन चीनको सक्रिय प्रयास रहेको पुटिनले बताए। यससँग सम्बन्धित मुद्दा सल्टाउनमा पनि चीनको सक्रिय भूमिकाले प्रायद्वीपको स्थितिमा सुधार आएको उनले बताए।

एक अर्को प्रश्नको जवाफ दिँदै पुटिनले स्पेनको क्याटालोनियाको स्वतन्त्रतालाई लिएर भइरहेको अभियानमा आफ्नो समर्थन रहेको आरोपलाई अस्वीकार गरे। स्पेनले आफ्नो क्षेत्रीय अखण्डता बनाइराखोस् भन्ने आफूले चाहेको पुटिनले थपे।

प्रतिक्रिया दिनुहोस्