रोपिएका आधा विरुवा मरे



सलिम अन्सारी, प्युठान । केहि वर्ष अघि मात्र राप्ती नदी वगरमा वृक्षारोपण गरियो । संरक्षण भएन हुर्कन नपाउदै विरुवा मरे । गत वर्ष पनि जिल्ला वन द्धारा त्यही रानीवास बगरमा विरुवाहरु रोपिए । तारवार गरि चार हेक्टर जमिनमा झण्डै पाँच हजार विरुवा रोपिए तर आधा भन्दा धेरै जमिनमा रोपिएको संकेत वाहेक केहि छैन ।

सरुमारानी–२ स्थित डोदखोली सामुदायिक वनमा रोपेका आधा विरुवा जागेका छैनन् । तारवार गरिएको यो चुरे क्षेत्रको लाज यहाँ उम्रिएको घाँसले जोगाईदिएको छ । टाढाबाट हेर्दा घासले वगरै हरियो देखिन्छ तर नजीक पुग्दा विरुवा छुट्टाउनै मुस्किल छ । यहाँ रोपिएका सिमल, वकाईनो,खाप्रो लगाएतका विरुवाहरुको नामोनिसाननै छैन । खएर शिशौ जस्ता ठुला बनस्पतीका विरुवा भने हलक्क बढेका छन् ।

माटो सुहाँउदो विरुवा नरोपिदा अन्य विरुवा सुकेका हुन। ईलाका वन कार्यालय हंसपुरका प्रमुख मनीराज खनालले भने,‘त्यसैपनि चुरेको भूगोल कमजोर हुन्छ, सुख्खा हुन्छ ।’चुरेमा विरुवा हुर्काउनै मुस्किल छ उनले भने । स्थानीयको सहभागीतामा हेरालुको व्यावस्था गरी यहाँ रोपेका विरुवा हुर्काउन, गोडमेल गर्न र विरुवामा उकेरा लगाउने कार्य गरिएको खनालले बताए ।

उनले ५० प्रतिशत विरुवा नजागेको भन्दै आउदो असारमा पुन रोपन गर्ने सुनाए । खाली भागलाई हराबरा पार्न राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति मार्फत यहाँ वृक्षारोपण गरिएको हो । वनले वागेंशाल र विजुवारमा नर्सरी स्थापना गरी विरुवा उत्पादन गर्दै आएको छ । जिल्ला वनको तथ्यांकमा नीजि र सामुदायिक वन गरि कुल २८ हेक्टर क्षेत्रफलमा गतवर्ष विरुवा रोपेको देखिन्छ । विभिन्न प्रजातीका १ लाख ४० हजार वढी विरुवा रोपिएका थिए । तर रोपिएका ठाउँमा त्यती हरीयाली भने छाएको देखिन्न ।

जिल्ला वन कार्यालय प्युठानले यस वर्ष पनि वृक्षारोपणको तयारी गरेको छ । जडीवुटी विकास कार्यक्रम अन्र्तगत १० हजार टिमुर, तेजपात र श्रीखण्ड १०÷१० हजारका दरले रोप्ने तयारी गरेको छ । त्यस्तै नीजि र सामुदायिक कबुलियत वन कार्यक्रम अन्र्तगत जिल्लाभर १ लाख वढी विरुवा रोप्ने योजना बनाईएको रेन्जर हरी पौडेलले बताए । विरुवा हुर्काउनेलाइृ यस वर्ष देखि प्रोत्साहन गरिने छ ।

विरुवा जोगाउनेलाई पुरस्किृत गर्ने भनेका छौ पौडेलले भने,‘निर्णय भएको छ, लागु पनि गर्छौ ।’ विरुवा रोप्दा प्राविधिक नपुग्ने, कम्सल खालको माटोमा विरुवा रोपिनु र मलपानी अभाव ,गोडमेल, रेखदेख र हेरचाँह नहुँदा विरुवा हुर्कन नसकेको जिल्ला वन कार्यालयको श्रोतले जनाएकको छ ।

संरक्षण नहुँदा विरुवा मर्ने गरेका हुन् । वन कार्यालयका सुचना अधिकारी ठाकुर प्रसाद वाग्लेका अनुसार ३० देखि ८० प्रतिशत विरुवा मात्र जाग्ने गरेका छन् । विरुवा नजागेको स्थानमा पुन रोपन गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्