रसिदको प्रदर्शनमा हैदराबाद फाइनलमा



नयाँ दिल्ली । रसिद खानको अल राउन्ड प्रदर्शनको सहयोगमा सनराइजर्स हैदराबादले दोस्रो क्वालिफायर खेलमा कोलकाता नाइट राइडर्सलाई १३ रनले हराएर जारी सिजनको आईपीएलको फाइनलमा पुगेको छ ।
हैदराबादले कोलकोताको इडेन गार्डेन्समा भएको खेलमा पहिले ब्याटिङ गरेर १ सय ७५ रनको लक्ष्य दिएको थियो । जवाफमा कोलकोताले आफनै घरेलु मैदान र दर्शकको फाइदा उठाउन सकेन । टोली २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६० रनमै समेटियो । योसँगै आईतबार हुने फाइनलमा हैदराबादले चेन्नई सुपर किंग्ससँग उपाधिको लागि खेल्ने पक्का पनि भएको छ । पहिलो क्वालिफायर खेलमा चेन्नईले हैदराबादलाई हराएर फाइनलमा स्थान सुरक्षित गरेको थियो ।
कोलकाताले अन्तिम ओभरमा १५ रन बनाउनु पर्ने थियो । टोलीको ३ विकेट सुरक्षित थिए । क्रिजमा शुभम गिल राम्रो ब्याटिङ गरिरहेका थिए । अन्तिम ओभर फँयाक्न आएका कार्लोस ब्राथवेटको पहिलो बलमै चौका प्रहार गरेर शिवम मावीले कोलकातालाई जितको आस दिलाए । कोलकातालाई ५ बलमा १५ रन बनाउनु पर्ने समीकरण भयो । तर दोस्रो बलमा उनी बाउन्ड्री निकट रसिद खानद्वारा क्याच आउट हुन पुगे । तेस्रो बलमा गिलले पनि उनकै पथ पछ्याए । उनको छक्का प्रहार गर्ने प्रयासलाई रसिदले नै सानदार क्याच लिएर विफल तुल्याए । शुभमले ३० रन बनाएका थिए । चौथो बल डट हुँदा हैदराबादको जित सुनिश्चित भयो ।

अन्तमा दुई क्याच लिनु अघि अफगानिस्तानका बलर रसिदले राम्रो खेलिरहेका क्रिस लीनलाई रनआउट गरेका थिए । लीनले ४८ रनको योगदान दिएका थिए । रसिदले दुई विकेट लिने क्रममा एन्डे« रसेल (३) र राबिन उथप्पा (२) लाई सस्तैमा पवेलियन फर्काएका थिए । त्यसअघि सिद्धार्थ कौलले ओपनर सुनील नारानलाई २६ रनमा र नितीश राणालाई २२ रनमा आउट गरेर कोलकातालाई समस्यामा पारेका थिए । खेलमा तीन विकेट लिएका कौलले खतरनाक देखिरहेका पियुष चावलालाई १२ रनमा क्लिन बोल्ड गरेका थिए ।

यसअघि कोलकाताका कप्तान दिनेश कार्तिकले टस जितेर हैदराबादका कप्तान केन विलियमसनलाई ब्याटिङको निम्तो दिएका थिए । हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७४ रन जोडेको थियो । कुलदीप यादवले ओपनर शिखर धवनलाई ३४ रनमा एलबीडब्यु आउट गरेर हैदराबादलाई पहिलो झट्का दिएका थिए । कप्तान केन पनि कुलदीपकै सिकार बन्दै ३ रनमा पवेलियन फर्के । रिद्दीमान शाहाले ३५ रन बनाएर पियुष चावलालाई विकेट ठम्याएर आउट भए भने शकिब अल हसन २८ रनमा रनआउट भएपछि अन्यले राम्रो खेल्न सकेनन्। केवल रसिद खानले १० बलमा ३४ रनको आकर्षक ब्याटिङ गर्नु नै हैदराबादलाई सुरक्षित स्कोरमा पुग्न मद्दत मिलेको थियो ।

प्रतिक्रिया दिनुहोस्