बुद्धि तिखार्ने बालकथा



रोहिणी घिमिरे
बालबालिका सत्मार्गमा लागून् भन्ने चाहना सबै अभिभावकको हुन्छ। यसका लागि उपाय धेरै हुन्छन्। ती मध्ये एक हो– बालबालिकालाई सत्मार्गमा डोर्याउने खालका मीठा बालकथाहरू सुनाउने वा पढ्न लगाउने। यस्ता कथाले बालबालिकालाई मनोरञ्जन प्रदान गर्नुका साथै असल चरित्रवान् बन्न प्रेरित गर्ने हुन्छ। यसै कुरालाई हृदयङ्गम गरी स्याङ्जाका लेखक घनबहादुर थापाले ‘सुवासको सपना’ नामक बालकथाको पुस्तक तयार गरेका छन्।

ट्रिनिटी प्रकाशन प्रा.लि.द्वारा प्रकाशित रु. ११०।– मूल्यको यस बालकथा स्रग्रहमा १५ वटा कथा संगृहीत छन्। बालमस्तिष्कलाई राम्रोसँग बुझेका लेखक थापाले यस पुस्तकका पात्रहरू प्रायः बालबालिकालाई नै रोजेका छन्। उनका हरेक कथा ज्ञानवद्र्धक छन्। बालबालिकालाई सत्मार्गमा डोर्याउन, असल चरित्रवान् बन्न, नैतिकता सिकाउन थापाका कथाहरू अब्बल मानिन्छन्।

हरेक बालबालिका कथा सुन्न र भन्न इच्छुक हुन्छन्। उनीहरूलाई वरिपरि राखेर हजुरबा–हजुरआमाहरूले कथा सुनाउने चलन पुरानै हो। ती बालबालिकाले जस्तो कथा सुन्छन्, पढ्छन्, उनीहरूको काँचो दिमाग पनि त्यतै मोडिन्छ। भूतका कथा सुनायो भने उनीहरू डराउने हुन्छन्। त्यस्तै अग्लो ठाउँबाट हाम्फालेका वीरताका कथा सुनाएमा उनीहरू पनि वीरता प्रदर्शन गर्न अग्लो ठाउँबाट हाम्फाल्न नजालान् भन्न सकिन्न। उनीहरूको उमेर नै त्यस्तो हुन्छ कि जस्तो कथा सुन्यो त्यस्तै गर्न खोज्ने। त्यसैले उनीहरूका लागि घनबहादुर थापाका कथा धेरै उपयोगी छन्।

कथाकार थापाका कथाहरू काँचो बालमस्तिष्कलाई परिपक्व बनाउने खालका छन्। बालबालिकालाई सचेत गराउन उनका कथाले धेरै मद्दत पुर्याउनेछन्। थापाको कथा संग्रहमा प्रस्तुत ‘अद्भूत सिन्को’ शीर्षकको कथालाई हेर्ने हो भने, यस कथामा एउटा गोकुल नामको केटो हुन्छ। उसले आफ्नो बुबासँग एक गफाडीले कुरा गरेको सुन्छ। गफाडीले कागको गुँडमा एउटा यस्तो छेस्को हुन्छ कि त्यसलाई खोलाको पानीले पनि बगाउँदैन, त्यसको मूल्य १० लाख पर्छ भनेको हुन्छ। यो कुरा सुनेको गोकुल कागको गुँड देख्नेसाथ रुख चढ्ने प्रयास गर्छ। कागले देखेर उसलाई ठुग्न थाल्छ। ऊ रुखबाट ओर्लन खोज्दा खसी घाइते हुन्छ। यस घटनाबाट उसले अरूको कुरा सुनेर लोभ गर्नु नहुने रहेछ भन्ने शिक्षा पाउँछ। यस कथालाई लेखक थापाले निकै रोचक पाराले प्रस्तुत गरेका छन्।

यस्ता कथाले बालबालिकालाई निकै सकारात्मक प्रभाव पार्ने हुन्छ। प्रत्येक कथाको अन्त्यमा दिइएका विद्वत् व्यक्तित्वहरूका प्रेरणादायी भनाइहरूले बालबालिकाको बुद्धि तीक्ष्ण बनाउन सघाउन पुर्याउने देखिन्छ। घनबहादुरका हरेक कथामा प्रज्ज्वल्ल थापा मगरद्वारा कोरिएका चित्रहरू छन्। यी चित्रले बालबालिकालाई झनै आकर्षित गर्ने देखिन्छ। बालबालिकालाई खराब कामबाट रोक्न र असल कामका लागि अभिप्रेरित गर्न थापाका कथाहरू सहयोगीसिद्ध छन्।

प्रतिक्रिया दिनुहोस्