बलिउड नायिकाको अनौठो दुश्मनी



रश्मी थापा
बलिउड फिल्म नगरीमा एउटा भनाइ छ कि हिरोइनहरू कहिल्यै पनि एकअर्काको असल साथी हुन सक्दैनन्। केही बलिउड नायिकाहरू नै यस कुराको उदाहरण बनेका छन्।
बलिउडमा यस्ता केही नायिका छन्, जसको दुश्मनीको चर्चा समय–समयमा हुने गर्छ। को होलान् त ती नायिकाहरू?

प्रियंका र करिना
सँगै काम गरे पनि दुश्मनी

बलिउड फिल्म ऐतराजमा प्रियंका चोपडा र करिना कपुरले एकसाथ काम गरे। उक्त फिल्ममा करिना नायिका थिइन् भने प्रियंका खलनायिकाको भूमिकामा थिइन्। फिल्ममा सँगै काम गर्दा पनि उनीहरू कहिल्यै साथी बनेनन्। बरु उनीहरूको दुश्मनी त्यतिबेला झाँगियो, जब करिनाभन्दा प्रियंकाको काममा प्रशंसा बढी हुन थाल्यो।
करिनालाई यो कुरा स्वीकार्य भएन र प्रियंकाका बारेमा अन्ट सन्ट भन्न थालिन्। १४ वर्ष पुरानो यो दुश्मनी अहिले पनि कायमै रहेको भारतीय सञ्चारमाध्यमले चर्चा गरेका छन्।

रेखा र जया
हाई हेल्लो मात्र
बलिउड अभिनेतृद्वय रेखा र जया बच्चनबीच पनि लामो समयदेखि दुश्मनी छ। जया रेखालाई मन पराउँदिनन्। रेखा र अमिताभ बच्चनबीचको रोमान्सको खबरले अमिताभपत्नी जयालाई बेचैन बनाएको थियो।

फिल्म कुल्लीको शुटिङ सेटमा दुर्घटना हुँदा अमिताभ घाइते भएका थिए र रेखाले महिनौंसम्म अमिताभको हेरचाह गरिन्। त्यहीबेला उनीहरू नजिकिएका थिए। यही कारण जया र रेखाबीचको सम्बन्ध पनि राम्रो छैन। उनीहरू एक अर्कालाई मन पराउँदैनन्। तर भेट्दा औपचारिकताका लागि हाई हेल्लोचाहिँ गर्ने गर्छन्।


कट्रिना र दीपिका

दुश्मनीको कारण प्रेम

बलिउड अभिनेता रणवीर कपुरलाई लिएर नायिका कट्रिना कैफ र दीपिकाबीच वाकयुद्धको सुरुआत भएको थियो। दीपिकासँग रणवीरको ब्रेकअप हुनासाथ कट्रिना रणवीरको जिन्दगीमा प्रवेश गरिन्। तर दीपिकालाई यो मन परेन। त्यही बेलादेखि नै उनीहरू दुवैजना एकअर्कालाई मन पराउँदैनन्। उनीहरूबीच व्यावसायिक प्रतिद्वन्द्व पनि छ।

सनी र राखी
बढ्यो बेचैनी
पूर्व क्यानेडियन पोर्नस्टार तथा बलिउड नायिका सनी लियोनी बलिउड प्रवेश गरेपछि राखीको चर्चा कम हुन थाल्यो। त्यसपछि राखीले सनीप्रति कुविचार राख्न थालिन्।
उनले सनीलाई पोर्न स्टार तथा आफ्नो मोबाइल नम्बर पोर्न फिल्म क्षेत्रमा बाँडेर अफ्ठेरो पारेको आरोपसमेत लगाइन्। सनीले भने यसमा चुपचाप रहनु नै बुद्धिमानी सम्झिइन् र राखीसँग टाढा रहिन्।

सोनम र दीपिका
सामाजिक सञ्जालबाट दुश्मनी

नायिका सोनम कपुर तथा दीपिका पादुकोणबीचको शीतयुद्धबारेमा त सबैलाई थाहै छ। एकपटक दीपिकाले मानसिक स्वास्थ्य ठीक नभए पनि काम गरिरहेको बताएकी थिइन्। सोनमले यसको जवाफमा लेखेकी थिइन्– ‘यदि मलाई कुनै पनि कारणले काम गर्नु छैन भने म यस प्रकारले सामाजिक सञ्जालमार्फत भनिरहनु आवश्यक मान्दिन।’ दीपिकाप्रति लक्षित उनको यस प्रकारको कमेन्टको चर्चा भएपछि दीपिका उनीसँग रुष्ट भइन्। केही समयअघि सोनमको विवाहमा दीपिका सामेल भइनन्। तर हलिउडमा भएको एक समारोहमा भाग लिन गएका कारण उनी त्यसमा सहभागी हुन नसकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्