प्लेअफमा भुवनलाई उपाधि



नेपाल समाचारपत्र
काठमाडौं
भुवन नगरकोटीले शिवराम श्रेष्ठलाई प्लेअफको दोस्रो अतिरिक्त होलमा हराएर सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप २०१८ को उपाधि हात पारेका छन् ।

सुर्य नेपाल गल्फ टुर २०१७–१८ अन्तर्गत अन्तिम प्रतियोगिता जितेर भुवनले यो सिजनमा लगातार तेस्रो उपाधि जितेका हुन् । साथै यो उनको करियरको छैटो र सिजनको चौथो उपाधि समेत हो । उनले पहिलो पुरस्कार ३ लाख २० हजार प्राप्त गर्दा नेपालका नम्बर एक गल्फर शिवरामले १ लाख ४० हजारमै चित्त बुझाउनु पर्यो । यो सिजनमा उनले पाँच उपाधि जितेका छन् ।

बिहीबार अन्तिम दिन गोकर्ण गल्फ क्लबमा भुवन र शिवरामबीच टाइ भएको थियो । दुबै जना तेस्रो चरणसम्म बराबरीमै थिए । अन्तिम १८ होलमा दुबैले १ अन्डर ७१ को स्कोर बनाएपछि कूल १२ अन्डर २ सय ७६ स्कोर बनेको थियो । पहिलो अतिरिक्त होलमा भुवन र शिवरामले बराबरीमा आएपछि दोस्रो अतिरिक्त होलमा भुवनले बर्डी खेलेपछि उनको उपाधि पक्का भएको थियो ।

भारतमा दुई दशक व्यवसायिक गल्फ खेलेर नेपालमा लामो समयपछि प्रतियोगितामा फर्केका तोरण विक्रम शाही तेस्रो भए । उनलाई उपाधि दावेदारीमा राखिएपनि भुवन र शिवरामसँग ८ स्ट्रोकले पछि परेका थिए । उनले कूल ४ अन्डर २ सय ८४ स्कोर गरेर ९५ हजार नगद प्राप्त गरे । त्यस्तै धनबहादुर थापाले ३ अन्डर २ सय २ सय ८५ स्कोरसहित चौथो स्थानमा रहेर ७७ हजार ५ सय रुपियाँको हकदार बनाए ।
प्रतियोगितामा पाँचौ स्थानमा सकाएर सञ्जय लामा (२८७) ले ६९ हजार नगद हासिल गरे । जबकी बलभद्र राई (२९०) छैटो स्थानको पुरस्कार ६३ हजार रुपियाँ प्राप्त गरेका थिए । अन्यमा जयराम श्रेष्ठ र दिनेश प्रजापतिले सातौं स्थान हासिल गर्दा कृष्णमान राजबाहक नवौं तथा पूर्णप्रसाद शर्मा र रवि खड्का १० औं स्थानमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्