दर्जन बढी निर्माण कम्पनी कालोसूचीमा



कृष्णउदास खनाल, वीरगन्ज

गृह मन्त्रालयले ठेक्का सकार गरी समयमा ठेक्का पूरा नगरेका ठेकेदारविरुद्ध कारबाही शुरू गर्न थालेपछि पर्सासहितका मध्य तराईमा रहेका निर्माण कम्पनीहरुमा खैलाबैल्ला मच्चिएको छ। शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले पर्सा, बारा, रौतहटमा लामो समयदेखि स्वास्थ्य भवन निर्माण र क्वाटर निर्माणको ठेक्का सकार गरी काम पूरा नगर्ने ३१ वटा ठेकेदार कम्पनीको सूची तयार गरेको छ।
भवन डिभिजन कार्यालय, पर्साले २०६२ सालदेखि हालसम्म ठेक्का सकार नगरेर अधूरो काम राखेका ३१ जनाको सूची तयार गरेकोमा पर्साका १८ वटा अधूरा योजना देखिएको छ भने बारामा ८ र रौतहटमा ५ वटा योजना लामो समयदेखि अधूरो अवस्थामा रहेको पाइएको छ।

स्वास्थ्य भवन निर्माण एकाई डिभिजन कार्यालय पर्साले तयार गरेको सूचीमा पर्साको हरपतगंज उपस्वास्थ्य चौकीमा हेल्थपोस्ट निर्माणको लागि २०६७ असार २४ मा बिरुवारजिया कन्स्ट्रक्सनले लिएको ठेक्का २०६८ असार २३ मा सम्पन्न गर्नुपर्नेमा अन्तिमपटक २०७२ सालमा म्याद थप भए पनि हालसम्म ९७ प्रतिशत काम सम्पन्न भएको छ। यसैगरी लिपनीबिर्तामा हेल्थपोस्ट निर्माणको लागि २०६७ जेठ ५ मा सम्झौता भएर २०६८ असार ४ मा सम्पन्न हुनुपर्ने काम २०७३ सालमा म्याद थप भए पनि हालसम्म ९५ प्रतिशत मात्र काम भएको छ। यो ठेक्का डाँफे तिरूपतिले संयुक्तरूपमा लिएका हुन् ।

त्यस्तै गादी उपस्वास्थ्य चौकी हेल्थपोस्ट निर्माणको लागि २०६७ असार २४ मा सम्झौता भएकोमा २०६८ असोज २३ मा कार्य सम्पन्न गर्नुपर्नेमा २०६८ पुस २३ मा म्याद थप भए पनि हालसम्म ९० प्रतिशत मात्र काम सम्पन्न भएको सो कार्यालयले जनाएको छ। यो ठेक्का लोकप्रिय, अकेला र शर्मा कन्स्ट्रक्सनले संयुक्तरूपमा लिएका हुन्। भवानीपुर, भेडिहारीमा उपस्वास्थ्य चौकी भवन निर्माणको लागि स्वस्ति श्री विनायक कन्स्ट्रक्सनले २०६७ असार र१७ र २५ गते दुईवटा टेन्डर सकार गरी सम्झौता गरेकोमा अन्तिमपटक २०७० सालमा म्याद थप भए पनि हालसम्म एक ठाउँमा ४० प्रतिशत र एक ठाउँमा ८५ प्रतिशत मात्र काम सम्पन्न गरेको भवन कार्यालयले जनाएको छ।

पोखरिया अस्पतालमा स्टाफ क्वाटर भवन निर्माणको लागि २०६८ फागुन १९ मा सम्झौता भएको र २०७० वैशाख १८ मा कार्य सम्पन्न हुनुपर्नेमा २०७२ कात्तिक १५ अन्तिम म्याद थप भए पनि अहिलेसम्म ५० प्रतिशत मात्र काम सकिएको छ। यो ठेक्का विशाल एन्ड विराट कम्पनी जोरपाटीले लिएको हो।

पर्साकै पोखरिया अस्पतालमा चिकित्सकहरूको लागि क्वाटर भवनको अर्काे ठेक्का पप्पु र तिरूपतिले संयुक्तरूपमा लिएकोमा सो ठेक्का पनि २०७० मंसिर र १४ मा सकिनुपर्नेमा २०७३ असोज ३० मा अन्तिम म्याद थप भएर पनि हालसम्म काम पूरा हुन सकेको छैन ।

स्वास्थ्य भवन निर्माण काम २०७२ असारमा सकिनुपर्नेमा हालसम्म ८० प्रतिशत मात्र काम भएको छ। यो ठेक्का शिवराम कन्स्ट्रक्सन कम्पनी प्रालि दोलखाले लिएको हो। स्वास्थ्य चौकी भवन औराहाको काम पनि २०७२ सालमा सकिने गरी म्याग्लुङ, टौदह, पञ्चकन्या जेभी ललितपुरले संयुक्तरूपमा लिएकोमा हालसम्म ८५ प्रतिशत मात्र कार्य सम्पन्न भएको छ।

बारामा बीएस कन्स्ट्रक्सन हेटौंडा, डाँफे, तिरूपति, बिरुवा कन्स्ट्रक्सन बानेश्वर, विशाल एन्ड विराट र शिवशक्ति, धनञ्जय, चौधरी कन्स्ट्रक्सन गौरले २०७३ सालमा सम्पन्न गर्नुपर्ने काम हालसम्म सम्पन्न गरेका छैनन्। उनीहरूले २० देखि ९० प्रतिशत मात्र काम पूरा गरी अधूरा राखेका छन्।

प्रतिक्रिया दिनुहोस्