बीमा व्यवसाय फस्टायो, नौ महिनामा सवा खर्बको कारोबार



नेपाल समाचारपत्र
काठमाडौं
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मसम्म जीवन र निर्जीवन कम्पनीहरूले सवा खर्ब रुपियाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन्। उक्त अवधिमा जीवन बीमा कम्पनीले एक खर्ब र बाँकी निर्जीवन कम्पनीले बीमा शुल्क संकलन गरेका हुन्।

जीवन बीमा कम्पनीतर्फ सातवटा ९ महिनाको १ खर्ब ७ अर्ब २ करोड १६ लाख रुपियाँ बीमा शुल्क संकलन गरेको तथ्यांक छ। हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ७ जीवन बीमा कम्पनी र १५ वटा निर्जीवन बीमा कम्पनी सूचीकृत रहेका छन्। जीवन बीमा कम्पनीहरुले अघिल्लो आवको सोही अवधिको तुलनामा चालू आवमा ३० दशमलव २८ प्रतिशतले बीमा व्यवसाय बढाएका छन्। गत आवको सोही अवधिमा ८२ अर्ब १४ करोड ४७ लाख रुपियाँ बीमा शुल्क संकलन भएको थियो।

चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा जीवन बीमा कम्पनीतर्फ प्रतिशतका आधारमा सबैभन्दा बढी बीमा शुल्क वृद्धि गुराँस लाइफ इन्स्योरेन्सले संकलन गरेको छ। उक्त कम्पनीले ३६ दशमलव १८ प्रतिशतले शुल्क वृद्धि गरी कुल ५ अर्ब ३० करोड ३२ लाख रुपियाँ बीमा शुल्क आर्जन गरेको छ। त्यस्तै रकमका आधारमा सबैभन्दा बढी बीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ। यस कम्पनीको ६३ अर्ब १५ करोड २४ लाख रुपियाँ प्रिमियर संकलन गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा कम्पनीले ३१ दशमलव २९ प्रतिशतले वृद्धि गरेको हो।

चालू आवको नौ महिनामा रकमका आधारमा सबैभन्दा कम बीमा शुल्क सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले संकलन गरेको तथ्यांक छ। यस कम्पनीले यस अवधिमा १ अर्ब १० करोड ६ लाख रुपियाँ बीमा शुल्क संकलन गरेको छ। त्यस्तै प्रतिशतको आधारमा सबैभन्दा कम लाइफ इन्स्योरेन्स कम्पनीले ६ अर्ब ९९ करोड २० लाख रुपियाँ आर्जन गरेको छ। कम्पनीले गत वर्षको तुलनामा जम्मा १७ दशमलव ५७ प्रतिशतले मात्रै आफ्नो व्यवसाय वृद्धि गरेको छ।

यसैबीच चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीले साढे १४ अर्ब रुपियाँभन्दा बढी बीमा शुल्क संकलन गरेका छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूची १५ वटा निर्जीवन बीमा कम्पनीले १४ अर्ब ६९ करोड २८ लाख रुपियाँ संकलन गरेका हुन्। निर्जीवन कम्पनीहरूले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आवमा १६ दशमलव ७४ प्रतिशतले बीमा व्यवसाय बढाएका छन्। गत आवको सोही अवधिमा जम्मा १२ अर्ब ५८ करोड ५९ लाख रूपैयाँ संकलन भएको थियो। चालू आवको तेस्रो त्रैमासमा सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले बीमा शुल्क संकलन गरेको छ। कम्पनीको यस अवधिमा २ अर्ब ४५ करोड ९२ लाख रुपियाँ बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको अवधिमा कम्पनीले २ अर्ब ३९ लाख रुपियाँ बीमा शुल्क संकलन गरेको थियो।

युनाइटेड इन्स्योरेन्स कम्पनीले ३८ करोड ४९ लाख रुपियाँ बीमा शुल्क संकलन गरी पुछारमा रहेको छ। कम्पनीको अघिल्लो वर्षको सोही अवधिको तुलनामा २० दशमलव २६ प्रतिशतले व्यवसाय घटेको छ। युनाइटेडसँगै हिमालयन जनरल इन्स्योरेन्सको पनि व्यवसाय घटेको छ। तर, १३ वटा कम्पनीले बीमा शुल्क बढाएका छन्। प्रतिशतको आधारमा सबैभन्दा बढी बीमा शुल्क वृद्धि एभरेस्ट इन्स्योरेन्सले गरेको छ। उक्त कम्पनीले १२६ दशमलव ४३ प्रतिशतले शुल्क वृद्धि गरी कुल ४२ करोड ७३ लाख रुपियाँ बीमा शुल्क आर्जन गरेको छ। सबैभन्दा कम बीमा शुल्क हिमालयन जनरलले ७ दशमलव शून्य ३ प्रतिशतले घटेर ७५ करोड ३२ लाख रुपियाँ संकलन गरेको छ।

प्रतिक्रिया दिनुहोस्