ट्रम्प–किमको पूर्वनिर्धारित ऐतिहासिक शिखरवार्ता रद्द



विश्व इतिहासकै दुखद क्षण

वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उत्तर कोरियाली नेता किम जोङ उनसँगको पूर्वनिर्धारित शिखर वार्ता रद्द गरेका छन्। उनले उत्तर कोरियाको एउटा पछिल्लो विज्ञप्तिप्रति साह«ै रिस उठेर आफूले यो निर्णय गरेको बताएका छन्। सो ऐतिहासिक वार्ता आगामी १२ जुनमा सिंगारपुरमा हुने तय गरिएको थियो।

किमलाई पठाइएको एक पत्रमा ट्रम्पले आफूले कुनै दिन उनीसँग भेट्ने आफ्नो ठूलो अभिलाषा रहेको उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति भवन र्वाइट हाउसबाट किमलाई पठाइएको पत्रमा ट्रम्पले आफूले सिंगापुरमा किमसँग भेट्ने ठूलो अपेक्षा राखे तापनि आफूलाई वर्तमान परिपे्रक्ष्यमा लामो नियोजित भेटवार्ता उपयुक्त नलागेको उल्लेख गरेका छन्।

ट्रम्पले भनेका छन्– ‘तपाईं आफ्नो आणविक क्षमताबारे कुरा गर्नुहुन्छ। तर हाम्रो क्षमता तपाईंको भन्दा निकै विशाल र शक्तिशाली छ। म भगवानसँग प्रार्थना गर्दछु कि हामीले हाम्रो शक्तिशाली आणविक हतियार प्रयोग गर्न नपरोस्।’ ट्रम्पले पत्रको अन्त्यमा आफ्नो विचार बदलिएका बेला किमलाई आफूसँग सम्पर्क राख्न सल्लाह दिएका छन्।

ट्रम्पले पत्रमा उल्लेख गरेका छन्– ‘विशेष गरी विश्व र उत्तर कोरियाले दीर्घकालीन शान्ति, समृद्धि र सम्पत्तिको महान् अवसर गुमाएका छन्। यो अवसर गुम्नु भनेको इतिहासकै वास्तविक दुखद क्षण हो।’
हिजो बिहान सबेरै उत्तर कोरियाली वरिष्ठ सरकारी अधिकारी चोय सोन हुइले अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाको पनि लिबियाको जस्तै अन्त्य हुन्छ भनी दिएको अभिव्यक्तिको कडा आलोचना गरेका थिए।

आफ्नो आणविक कार्यक्रम त्यागेको आठ वर्षपछि अर्थात् सन् २०११ मा लिबियाका नेता कर्णेल मोमर गद्दाफीको लडाकूहरूद्वारा हत्या भएको थियो। विगत एक दशकदेखि अमेरिकासँगको थुप्रै कूटनीतिक अन्तरक्रियामा प्रत्यक्ष संलग्न रहने गरेका चोयले भनेका छन्– ‘उत्तर कोरियाले वार्ताका लागि भिख मागेको होइन। यदि कूटनीतिक पहल असफल भएको खण्डमा आणविक शक्ति प्रदर्शन गर्न हामी पनि पछि हट्ने छैनौं।’

यसैबीच हिजो नै उत्तर कोरियाले आफ्नो एकमात्र आणविक परीक्षणस्थलको सुरुङहरू विस्फोट गराउन थालेको अनुमान गरिएको छ। उत्तर पूर्वी भागमा रहेको पुन्ग्गेरीस्थलमा आफूहरूले ठूलो विस्फोट देखेको त्यहाँस्थित विदेशी पत्रकारहरूले बताएका छन्। पछि प्योङयाङ आफैले सो क्षेत्र नष्ट गरिएको औपचारिक पुष्टि गरेको थियो।

प्रतिक्रिया दिनुहोस्