लोपोन्मुख जीवजन्तुको जीवनबाट फेसन



भनिन्छ फेसन सिर्जना गर्नेहरूका लागि सीमितता हुँदैन। फेसनमा देखिने नयाँ प्रयोग, अकल्पनीय शैली यसैको उपज हो।

गत शनिबार बेलुकी ८ बजेपछिको समयमा बौद्धस्थित हायात रिजेन्सी होटलमा देखा परेका दृश्य पनि यस्तै थिए। १६ पहिरनका स्वरूपको भव्यता, तिनमा देखिएको अनुपम कला, सीप र मिहेनत प्रशंसनीय थियो। ती सबै पहिरनका स्वरूप प्रभावित थिए लोपोन्मुख र खतराको सूचीमा परेका जीवजन्तु, वनस्पति, पन्छीलगायतका जीवनबाट। हिमालयन मुनाल, इन्डियन फ्याइङ फक्स ब्याट, रेन्बो लोरिकेट, सारस क्रेनदेखि स्नो लियोपार्ड, ह्वाइट ब्याट फ्लावरसम्मबाट प्रेरित पहिरनका स्वरूपले फेसन कार्यक्रममा आकर्षण थपेको थियो। प्रसंग हो नमुना कलेज अफ फेसन टेक्नोलोजीमा फेसन डिजाइनिङमा स्नातकको पढाइमा अध्ययनरत १३औं ब्याचका ६३ जना विद्यार्थीको अन्तिम परीक्षाको महत्त्वपूर्ण पाटोका रूपमा प्रस्तुत सेरा डि स्टिलिस्टा शीर्षकमा सम्पन्न फेसन शोको।

सिर्जनात्मक सोच र कल्पनाशीलताले सजिएका यी पहिरनले फेसन पारखी दर्शकलाई फेसनको नौलो स्वादले मन्त्रमुग्ध बनाएको त थियो नै। साथै लोपोन्मुख जीवजन्तुको संरक्षणको आवश्यकताबारे पनि सचेतना प्रदान गरेको थियो। विद्यार्थी डिजाइनर स्वयंले आयोजना एवं व्यवस्थापन गरेको सो ग्राजुएसन फेसन शोमा अन्य ४ सिक्वेन्स पनि प्रस्तुत गरिएका थिए। कार्यक्रमको प्रमोसनका लागि फोटोसुटमा प्रयोग भएका पहिरनका मोडलसहित नमुना कलेजका संस्थापक प्रिन्सिपल एवं अग्रणि नेपाली फेसन डिजाइनरका रूपमा परिचित ज्ञानी शोभा तुलाधरको रनवेमा उपस्थितिसँगै अगाडि बढेको उक्त फेसन शो रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न भएको थियो। फेसन शोमा १० युवा मोडलसहित ३ दर्जनभन्दा बढी मोडलले ¥याम्पमा ओहोरदोहोर गरेका थिए। कार्यक्रममा यस वर्ष मिस नेपाल विजेताको पनि विशेष उपस्थिति रहेको थियो।

फेसन शोको प्रारम्भ हाकु पटासि फ्लेवरबाट प्रभावित पहिरनबाट भएको थियो। त्यसपछि अहिले प्रचलनमा रहेको कलर ब्लकिङ शैलीबाट प्रभावित रंगीन पहिरनको आकर्षण थियो। गोल्ड एन्ड ग्लिटर सिक्वेन्समा भने फ्लोर लेन्थ गाउन, ब्लेजर तथा डिनर ज्याकेट, कोट आदिको सुनौला रंगमा ग्लिटर मिश्रित पहिरनको प्रधानता थियो। ट्रान्सफोरमेसन सिक्वेन्स अलिक पृथक थियो। जसमा प्रारम्भमा मोडलहरू स्कर्टलगायतका छोटा पहिरनमा देखिएका थिए भने तिनै पहिरन अन्ततः फ्लोर लेन्थ पहिरनमा बदलिएका थिए। ट्रान्सफोरमेसन स्टाइलबाट एउटै पहिरन शैलीमा २ स्वरूपको नमुनालाई डिजाइर एवं मोडलहरूले आकर्षक एवं मनमोहक तरिकाले प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्