पहिलो दिन चार खेलाडीको अग्रता



नेपाल समाचारपत्र
काठमाडौं
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपअन्तर्गत सोमबार पहिलो दिन चार खेलाडीले संयुक्तरूपमा अग्रता बनाएका छन्।

चार प्रोफेसनल खेलाडी सञ्जय लामा, भुवन नगरकोटी, दिनेश प्रजापति र बलभद्र राईले पार ७२ गोकर्ण गल्फ क्लबमा अग्रता लिएका हुन्। यी सबै खेलाडीले सूर्य नेपाल गल्फ टुर २०१७–१८ अन्तर्गतको १०औं र अन्तिम प्रतियोगितामा ४ अन्डर ६८ स्कोर गरे।

दोस्रो स्थानमा रहेका रामे मगर २ स्ट्रोकले पछाडि छन्। जबकि विकास अधिकारी, कृष्णमान राजबाहक र दीपक आचार्यले १ अन्डर ७१ स्कोरसहित छैटौं स्थान शेयर गरेका छन्।

अन्य दाबेदारीमा रहेका डिफेन्डिङ च्याम्पियन शिवराम श्रेष्ठसहित धनबहादुर थापा, पशुपति शर्मा, चूडाबहादुर भण्डारी, भुवनकुमार रोक्का, तोरण विक्रम शाही र पूर्णप्रसाद शर्माले ७२ स्कोर बराबरी गर्दै नवौं स्थानमा संयुक्तरूपमा रहेका छन्।

सञ्जय र भुवनले फ्रन्ट नाइनमा ४ अन्डर ३२ र ब्याक नाइनमा ३६ पार खेलेका थिए। बलभद्रले फ्रन्ट नाइनमा ३ अन्डर ३३ खेल्दा ब्याक नाइनमा १ अन्डर ३५ स्कोर गरेका थिए। यीमध्ये पहिलो स्थानमा रहेका दिनेशले भने फ्रन्ट नाइनमा सबैभन्दा राम्रो खेले। ५ अन्डर ३१ स्कोर गरे पनि ब्याक नाइनमा उनी १ ओभर ३७ स्कोर गर्न पुग्दा पहिलो स्थानमा एकल अग्रता बनाउनबाट चुकेका थिए।

१२ लाखभन्दा बढी पुरस्कार राशि भएको प्रतियोगितामा ५६ खेलाडीले सहभागिता जनाएका छन्। पहिलो पुरस्कार २ लाख ३० हजार र दोस्रो पुरस्कार १ लाख ४० हजार रुपियाँ रहेको छ। तेस्रो स्थानमा रहनेले ९५ हजार कमाउनेछन् भने शीर्ष २४ भित्र रहने खेलाडीलाई पनि नगद बाँडिनेछ।

प्रतिक्रिया दिनुहोस्