ट्रम्प – एफबीआई विवाद, एफबीआईमाथि छानबिन गर्नुपर्ने माग



वासिंगटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव प्रचार अभियानताकाको भूमिकालाई लिएर एफबीआईमाथि छानबिन गर्नुपर्ने माग गरेका छन्। उनले राजनितिक कारणबाट प्रेरित रही आफ्नो चुनाव प्रचार अभियानको जासुसी गरेको हुनसक्ने आशंका व्यक्त गर्दै जाँचको माग गरेका हुन्।

एक ट्विटमा ट्रम्पले यो कदम पछाडि यसअघिका राष्ट्रपतिको प्रशासनको आदेश त होइन, भन्ने प्रश्न उठाउँदै यस विषयमा जान्न चाहेको बताए। सोमबार यस विषयमा आधिकारिक उजुरी दिइने बताइएको छ। अमेरिकी सञ्चारमाध्यमहरूको समाचार सामग्रीले एफबीआईका एक प्रमुख ट्रम्पका प्रचार अभियानका सहयोगीको सम्पर्कमा रहेको संकेत दिइरहको थियो।

उक्त प्रचार अभियानसँग जोडिएका सबै पक्षलाई समेटेर पहिले नै जाँच भइरहेको थियो। ट्रम्पले आईतबार यस विषयमा कैयौं ट्विट गर्दै आफूलाई बिनाकारण निसाना बनाइएको आरोप लगाएका थिए। अहिलेसम्म रुससँग कुनै प्रकारको साँठगाँठ नभेटिएको उनले बताए। उनले विशेष काउन्सलर रोबर्ट मुलरको नेतृत्वमा भइरहेको जाँचतर्फ संकेत गरेका थिए। यस छानबिनमा सन् २०१६ को चुनावलाई रुसद्वारा प्रभावित पार्ने प्रयास भएको थियो वा थिएन भन्ने पत्ता लगाउने प्रयास भइरहेको छ।

रुस र ट्रम्पको प्रचार अभियानबीच कथित साँठगाँठको पनि जाँच भइरहेको छ। राष्ट्रपतिले उक्त छानबिनलाई गैरकानुनी ढंगले रोक्ने प्रयास गरेको हुनसक्ने तथ्यलाई पनि अनुसन्धानको दायरामा राखिएको छ। डोनाल्ड ट्रम्पले उक्त जाँचमा प्रश्न उठाउँदै आइरहेका छन्। यसअघि शुक्रबार ट्रम्पले उनको प्रचार टोलीमा एफबीआईले एकजना गुप्तचर पठाएको आरोप लगाएका थिए।

कुनै प्रमाण पेस नगरिकन ट्रम्पले आईतबार जाँच रोक्न माग गरेका थिए। उनले यसमा २ करोड डलर खर्च भइसकेको र ‘रुस्ट तथा अत्यन्त पक्षपाती‘ १३ डेमोक्र्याट्सले यसको जाँच गरिरहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्