इरानमाथि अहिलेसम्मकै कडा नाकाबन्दी : पोम्पियो



वासिंगटन, (एजेन्सी)
अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिकाले इरानमाथि अहिलेसम्मकै सबैभन्दा कडा नाकाबन्दी लगाउन लागेको सोमबार बताएका छन्। वासिंगटनमा भाषण दिने क्रममा पोम्पियोले भनेका छन्– ‘नाकाबन्दी लागू गरिएपछि इरानले अब आफ्नो अर्थतन्त्र जोगाउनका लागि ठूलै संघर्ष गर्नुपर्ने भएको छ।

इरानको कुनै पनि आक्रामक कदमलाई निरुत्साहित गर्नका लागि म रक्षा मन्त्रालय पेन्टागन र क्षेत्रीय सैनिक गठबन्धनसंग निकट रहेर काम गर्नेछु।’

यसै महिनाको शुरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका सन् २०१५ मा भएको ऐतिहासिक इरान आणविक सम्झौताबाट पछि हटेको औपचारिक घोषणा गरेका थिए।
विदेशमन्त्री भए यता आफ्नो पहिलो महŒवपूर्ण भाषण दिने क्रममा पोम्पियोले सरकारले इस्लामिक गणतन्त्र इरानविरुद्ध प्लान बी अनावरण गरेको जानकारी दिएका छन्।

उनले तेहरानसँग कुनै नयाँ सम्झौता गर्नका लागि वासिंगटनको १२ वटा सर्त पूरा गर्नुपर्ने पनि बताएका छन्। ती सर्तमध्ये सिरियाबाट इरानले आफ्नो फौज फर्काउनुपर्ने र यमनमा लडाकुहरूलाई दिइँदै आएको सहयोग रोक्नुपर्ने पनि रहेका छन्।

उनले इरानको नीतिमा वास्तविक परिवर्तन आएपछि मात्र त्यसमाथि लगाइने नाकाबन्दी खुकुलो गर्न सकिने बताएका छन्। उनले भनेका छन्– ‘हामीले इरान सरकारमाथि अप्रत्यासित आर्थिक दबाब दिनेछौं। तेहरानस्थित नेतालाई हाम्रो गम्भीरतामाथि कुनै शंका छैन होला। इरानले अब फेरि कहिल्यै पनि मध्येपूर्वमा हालीमुहाली गर्ने कोसिस गर्ने छैन।’

प्रतिक्रिया दिनुहोस्