मेयरले नै कुटे सर्वसाधारण, प्रहरीले उजुरी लिनै मानेन



नेपाल समाचारपत्र, धनुषा ।

धनुषा स्थित शहीद नगरपालिकाका मेयर उदय बरबरियाले गएराति स्थानीयहरुलाई कुटपिट गरेका छन्।

निर्वाचित जनप्रतिनिधिले नै सर्वसाधारणमाथि हातपात गरेपछि घटनाको छानवीन गरी दोषिलाई कडा कारवाहीको माग गरेका छन्। घटनामा मेयर तथा त्यसै नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तनुक लाल कुसियैतसहित करिव ११ जना को समूहले कमला नगरपालिका ९ नरहामा स्थानीयहरुलाई निर्घाट कुटपिट गरेका हुन्।

तर, माओवादीबाट निर्वाचित मेयर भएका मेयर बरबरियाविरूद्ध प्रहरीले उजुरी लिन अस्वीकार गरेको छ। सशस्त्र प्रहरी बेस क्याम्प दुबरकोट हथलेटवाबाट भोज खाएर फर्किंदै गरेका मेयर बरवरिया सवार गाडीले राति सर्वसाधारणलाई ठक्कर दिएपछि विवाद भएको थियो।

विवादपछि मेयर बरबरिया नेतृत्वको समूहले सर्वसाधारणमाथि आक्रमण गरेको त्यहाँका स्थानीयले बताएका छन् ।

कुटपिटबाट ७ जना घाइते भएका छन् ।

मेयर समूहको आक्रमणबाट स्थानीय रामदेव साह, अमोद कुमार साह, राजेश यादव, जय कुमार साह, पुनिता कुमारी, शान्ति देवी लगायत घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुलाई जनकपुर अञ्चल अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्