आठबिसकोटको एक बर्षको उपलब्धीः ४२ कानुन निर्माण ,८५ लाख राजस्व संकलन



धनवीर दाहाल, रुकुम ।
स्थानीय तहको निर्बाचन भएको एक बर्ष पुरा भइ जनताको सेवा गर्छु भनि जनप्रतिनिधिले सपथ खाएको एक बर्ष पुरा भइसक्दा सम्म उपलब्धी के भइरहेको छ ? भनि सबत्र चासो बढीरहेका बेला रुकुम पश्चिमको आठविसकोट नगरपालिकाले एक बर्षको अवधिमा ४२ कानुन निर्माण गरेको र ८५ लाख बढी राजश्व संकलन गरेको जनाएको छ ।

एक बर्षको अवधिमा ८ वटा ऐन, ५ वटा नियमावली, १७ वटा कार्यबिधि र १२ वटा मापदण्ड निर्माण गरेको जानकारी नगरपालिकाले दिएको छ । कार्यपालिकाका पदाधिकारीको आचारसंहिता, सभा सञ्चालन कार्यविधि, नगरपालिका आर्थिक ऐन, कार्यपालिकाको बैठक सञ्चालन कार्यविधि, कार्यपालिकाको कार्य विभाजन, कार्य सम्पादन नियमावली र विनियोजन ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, स्थानीय कृषि व्यवसाय प्रवद्र्धन विधेयक, प्रशासकीय कार्यविधि नियमित गर्ने विधेयक, शिक्षा विधेयक र सहकारी विधेयक लगाएत पारित भएको नगरपालिकाले जानकारी दिएको हो ।

यस्तै नगरपालिकाले १० महिनाको अवधिमा ८५ लाख बढी राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष साउन महिनादेखि गत चैतसम्म नगरपालिकाले विभिन्न शीर्षकमा गरी ८५ लाख २२ हजार तीन सय सात रुपैयाँ संकलन गरेको छ । निर्वाचित भएको एक वर्षपछि नगरपालिकाले एक वर्षभरि गरेको कार्यहरूको समीक्षा प्रतिवेदनमा संकलन भएको राजस्वका बारेमा उल्लेख छ ।

नगर प्रमुख गोर्खबहादुर केसीले वडा, कर संकलन केन्द्र र नगरपालिकाबाट कर संकलन भएको बताउनुभयो  । उहाँका अनुसार नगरपालिकाका ९ शीर्षकबाट ४१ लाख ७९ हजार २ सय, १४ वडाबाट ३६ लाख ४१ हजार ५ सय ४४ र कर संकलन केन्द्रबाट सात लाख एक हजार ५ सय ६३ रुपैयाँ राजस्व संकलन भएको छ ।

आठबीसकोट नगरपालिका पछिल्लो पटक बनेको नयाँ नगरपालिका हो । नगरपालिकाले वडा कार्यालयबाट मालपोत, एकीकृत सम्पत्ति, सेवा शुल्क, व्यवसाय दर्ता, दण्ड जरिवाना, जडीबुटी, जीवजन्तु कर, मिलापत्र दस्तुर र पञ्जीकरण शुल्क लिने गरेको छ । यस्तै, नगरपालिकाका झारमारे, घारीखोला, छेपारे, त्रिवेणी र सिमबजारमा स्थापना गरिएका कर संकलन केन्द्रबाट पनि नगरपालिकाले कर संकलन गरेको छ ।

निर्वाचित जनप्रतिनिधि आएलगत्तै नगरपालिकाले कर संकलक नियुक्त गरेर कर संकलन केन्द्र स्थापना गरेको थियो । यस्तै, नगरपालिका कार्यालय अन्तर्गत परीक्षा, शुल्क, प्रशासनिक दण्ड, सेवा शुल्क, व्यवसाय दर्ता, प्राविधिक फाँट, शिक्षा शुल्क र यातायातबाट कर संकलन भएको छ । वडा कार्यालय, कर संकलन केन्द्र र नगरपालिकाका २१ शीर्षकमा सबैभन्दा बढी कर मालपोतबाट उठेको छ । १७ लाख रुपैयाँ १४ वडाबाट मालपोत करबापत जम्मा भएको भएको छ ।

चालु आर्थिक वर्षमा नगरपालिकाले एक करोड दुई लाख राजस्व संकलन गर्ने लक्ष्य किटान गरेको छ । आर्थिक वर्षका ३ महिना बाँकी रहेकाले लक्ष्य अनुसार नै राजस्व संकलन हुने विश्वासमा नगरपालिका छ । कर्णाली प्रदेशमा नयाँ बनेको नगरपालिकामा एकीकृत सम्पत्तीकरण संकलन गर्ने आठबीसकोट नगरपालिका पहिलो र एक मात्रै नगरपालिका भएको दाबी नगर प्रमुख केसीले गर्नुभयो ।

नगरपालिकाले एकीकृत सम्पत्ति कर बापत १० लाख ५६ हजार ८ सय ३ रुपैयाँ संकलन गरेको छ । एकीकृत सम्पत्ति कर संकलनको सुरुवातमा ठूलो चुनौतीका बीच सुरु गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्