क्युवामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो



एजेन्सी । विमान दुर्घटनाबारे अनुसन्धान गरिरहेका क्युबाका अधिकारीहरूले एक सयभन्दा बढीको ज्यान जाने गरी दुर्घटनामा परेको एउटा विमानको ब्ल्याक बक्स फेला परेको बताएका छन्।

क्युवाको राष्ट्रिय ध्वजाबहाक कम्पनी ‘क्युवना दे एभियसन’ ले मेक्सिकोको हवाई कम्पनी ग्लोबल एअरसँग भाडामा लिई चलाउँदै आएको करिब ४० वर्ष पूरानो बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको थियो । यात्रारत चालकदलका सदस्यसहित ११० जना यात्रारत विमान दुर्घटना हुँदा विमानका १०७ जनाको मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा तीनजना यात्रु मात्रै बाँच्न सफल भएका थिए।

फ्लाइट डेटा रेकर्डर फेला पर्नु दुर्घटनाग्रस्त विमानको अनुसन्धानमा महत्त्वपूर्ण उपलब्धि भएको सरकारी टेलिभिजनमा कुरा गर्दै क्युबाका यातायातमन्त्रीले बताए।

उनले भनेका छन्,’अधिकारीहरूले एउटा ब्ल्याक बक्स फेला पारेका छन् जसमा महत्त्वपूर्ण तथ्याङ्क र विमानमा के भएको थियो भन्ने जानकारी समेटिएको छ।’

उक्त उपकरण सही अवस्थामा रहेको र सुरक्षित राखिएको पनि क्युबाली यातायातमन्त्रीले जनाएका छन्।

दुर्घटनाको कारण पत्ता लगाउन अहोरात्र खटिरहेका प्राविधिकहरूको उनले प्रंशसा गरेका छन्।

क्युवाले शनिबार बिहानैदेखि आइतबार मध्यरातसम्म मृतकको सम्झनामा शोक मनाउने घोषणा गरेको, क्युवाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्व राष्ट्रपति राहुल क्यास्ट्रोले बताए ।

विमानमा दुई अजेन्टिनी नागरिकसहित पाँचजना विदेशी थिए भने अन्य प्राय सवै क्युवाली नागरिक रहेका थिए । विमान चालक दलका छ जना सदस्य भने मेक्सिकोका नागरिक भएको बताइएको छ । विमानको दुर्घटनाबारे अनुसन्धानका लागि प्राविधिकसहितको टोली बनाई अनुसन्धान शुरु गरिएको राष्ट्रपति दायज केनलले बताए ।

केनल दुर्घटनापछि उद्धार भइरहँदा दुर्घटनास्थलमा पुगेर उद्धार कार्यको प्रत्यक्ष निरीक्षण गरेको स्थानीय सञ्चारमाध्यमले देखाएका थिए ।

प्रतिक्रिया दिनुहोस्