ऊन, गलैंचा, पस्मिनाको निर्यात घट्यो



नेपाल समाचारपत्र
काठमाडौं
चालू आर्थिक वर्षको नौ महिनासम्ममा कुल वस्तु निर्यात ८ दशमलव २ प्रतिशतले वृद्धि भई ५९ अर्ब ७४ करोड रुपियाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो। गन्तव्यका आधारमा भारततर्फ ६ दशमलव ९ प्रतिशत, चीनतर्फ ५८ दशमलव ९ प्रतिशत र अन्य मुलुकतर्फ ७ दशमलव १ प्रतिशतले निर्यात बढेको छ। वस्तुगत आधारमा अलंैची, धागो, पोलिस्टर यार्न, अदुवा, तारलगायतका वस्तुको निर्यात बढेको छ भने जुस, जीआई पाइप, ऊन गलैंचा, पस्मिनालगायतका वस्तुको निर्यात घटेको छ।

समीक्षा अवधिमा कुल वस्तु आयात २० दशमलव ६ प्रतिशतले बढेर ८७६ अर्ब २९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३९ दशमलव ७ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २१ दशमलव ९ प्रतिशत, चीनबाट भएको आयात २२ दशमलव ८ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १५ दशमलव ७ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, अन्य मेसिनरी तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपूर्जा, सिमेन्ट, हटरोल सिटइन क्वाइल, लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार तथा पार्टपूर्जा, हवाईजहाजका पार्टपूर्जा, सेनिटरीवेयर्स, सानो अलैंची, जिंक इनगोट, लगायतका वस्तुको आयात घटेको छ।

भन्सार नाकाका आधारमा वीरगन्ज भन्सार कार्यालय, कृष्णनगर भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएको भएता पनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा वृद्धि भएको छ। त्यसैगरी आयाततर्फ समीक्षा अवधिमा सुख्खा बन्दरगाहा भन्सार कार्यालय र कञ्चनपुर भन्सार कार्यालयबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ। समीक्षा अवधिमा कुल वस्तु व्यापारघाटा २१ दशमलव ७ प्रतिशतले विस्तार भई ८१६ अर्ब ५५ करोड पुगेको छ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात ६ दशमलव ८ प्रतिशत कायम भएको छ जुन अघिल्लो वर्षको सोही अवधिमा ७ दशमलव ६ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०७४÷७५ को नौ महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांक वार्षिक बिन्दूगत आधारमा १ दशमलव ७ प्रतिशतले बढेको र आयात मूल्य सूचकांकमा ६ दशमलव ४ प्रतिशतले वृद्धि भएकाले व्यापारको सर्तमा ४ दशमलव ४ प्रतिशतले ह्रास आएको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो सर्त ३ दशमलव ३ प्रतिशतले बढेको थियो।

चिया, तामाको तार, पित्तलका पाता, कत्था, लगायतका वस्तुको मूल्य बढेको कारण निर्यात मूल्य सूचकांकमा वृद्धि भएको हो भने पेट्रोलियम पदार्थ, सवारी साधन, टायर, रेफ्रिजिरेटर, ल्यापटपलगायतका वस्तुको मूल्यमा वृद्धि भएका कारण आयात मूल्य सूचकांकमा वृद्धि भएको हो। समीक्षा अवधिमा कुल सेवा आय ४ दशमलव ८ प्रतिशतले र कुल सेवा खर्च १३ दशमलव १ प्रतिशतले बढेको कारण खुद सेवा आय २ अर्ब ७९ करोडले घाटामा गएको छ।

अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६ अर्ब ४२ करोडले बचतमा रहेको थियो। सेवा खाताअन्तर्गत पर्यटन आय समीक्षा अवधिमा १४ प्रतिशतले वृद्धि भई ५० अर्ब ३० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४५ दशमलव ३ प्रतिशतले बढेको थियो।

प्रतिक्रिया दिनुहोस्