प्रशासनले आँखा चिम्लिएको वीर अस्पताल चम्काउँदै धुर्मुस सुन्तली



रश्मी थापा

देशकै सबैभन्दा जेठो अस्पताल वीर अस्पतालको रुप अहिले काँचुली फेर्दैछ। वीर अस्पताल प्रशासनले आँखा चिम्लिएका कारण लथालिंग, फोहोर र दुर्गन्धित बन्न पुगेको अस्पताल अहिले चम्किलो बन्दैछ।अँध्यारो, मैलो र फोहोर भित्ताहरु रङ तथा चित्रकलाले सजिएका छन् भने बत्ती तथा धारा मर्मत कार्य पनि एकैसाथ अघि बढिरहेको छ।

नेपाल सरकारको सरसफाइ दूत रहेका हास्य कलाकार दम्पती सीताराम कट्टेल र कुञ्जना घिमिरेले स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, सफाइ अभियन्ता खेम शर्मा, वागमती सफाइ अभियन्ता अर्जुन धरेलसहित गत वैशाख २३ गते वीर अस्पताललाई नमुना अस्पताल बनाउने उद्देश्यका साथ १५ दिने अस्पताल सफाइ अभियान शुरू गरे पनि उनीहरुले अस्पतालको दुरावस्था देखेपछि रङ रोगनका साथ अन्य कामलाई पनि अघि बढाउने प्रस्ताव गरेका थिए।


यसैअनुरुप यो दम्पतीको सामाजिक संस्था धुर्मुस–सुन्तली फाउन्डसनको प्रमुख नेतृत्वमा भइरहेको सरसफाइ रङरोगन तथा निर्माण कार्यक्रममा विभिन्न संघ–संस्था तथा व्यक्तिहरुले सहयोग गर्दै आइरहेका छन्।

‘वीर अस्पताललाई नमुना अस्पताल बनाउने हाम्रो मात्र सोच होइन।’ स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले स्वास्थ्य क्षेत्रलाई राम्रो बनाउनका लागि सहयोग गर्नुपर्छ भन्नुभएको थियो। यो हामी सबैको दायित्व पनि हो।

त्यहीअन्र्तगत हामी यहाँको सफाइमा आयौं। शुरूमा सरसफाइका लागि मात्र आएका थियांै तर यहाँ आइसकेपछि धारा, बत्ती, भित्ताको अवस्था पनि हेर्नै नसकिने खालको भएको देखियो। त्यसकारण हामी बिस्तारै सबै काम अगाडि बढाउनुपर्छ भन्ने सोचले अघि बढ्यौं।

भूकम्पले भत्किएका संरचना निर्माणका लागि होस् या अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम निर्माण होस्, राज्यले बेवास्ता गर्दै आएको समस्या निराकरणका लागि सरकारलाई नै चुनौती दिँदै अगाडि बढ्ने सीतारामले नेपाल समाचारपत्रसँग कुरा गर्दै भने ‘यो काम हामीले सफाइ अभियन्ता खेम शर्मा, वागमती सफाइ अभियन्ता अर्जुन धरेल, सिस्नुपानी नेपालका टंक आचार्य, दाइ मनोज गजुरेल, कलाकार अर्जुन घिमिरे (पाँडे) र भाइ कुमार कट्टेल (जिग्री) लगायतका अभियन्ताको साथमा अगाडि बढाएका हौं।


सरसफाइ अभियानकै क्रममा भैरहवामा सम्पन्न लीलाराम कुन्तीदेवी प्रतिष्ठानले गरेको सामाजिक सेवा सम्मान कार्यक्रममा सहभागी हुँदा प्रतिष्ठानले वीर अस्पताल सरसफाइ गरिरहेको देखेर रङरोगनका लागि २ लाख रुपियाँ प्रदान गरेपछि उनीहरु लगत्तै काठमाडौं फर्किएर वीर अस्पतालमा रङ लाउने काम अगाडि बढाए। ‘त्यसबेला पत्रकार चेतन पन्तले पनि २५ हजार रुपियाँ सहयोग गर्नुभएको थियो। त्यही २ लाख २५ हजारबाट रङ रोगनको काम शुरू गरेका हौं।’ अहिलेसम्म अभियान चलिरहदा ६ लाख रुपियाँ सहयोग संकलन भइरहेको सीताराम बताउँछन्।

‘हामीले पहिले नै योजना बनाएर काम शुरू गरेका होइनौं, तर काम गर्दै जाँदा सहयोग गर्ने हात पनि बढ्दै गइरहेका छन्’, सीतारामले सुनाए– ‘अहिलेसम्म १८ लाख रुपियाँ खर्च भइसकेको छ। रङ उधारोमै ल्याएका छौं। अनुमानित बजेट ५० लाख रहेको छ। हामीले वीर अस्पताल र स्वास्थ्य मन्त्रालयबीच समन्वयको लागि कुरा गरिरहेका छांै। सहयोगका लागि अपिल पनि गरिरहेका छौं।’

सबैभन्दा बढी सफा र व्यवस्थित हुनुपर्ने अस्पतालकै प्रशासन र व्यवस्थापनका कारण अस्पतालको फोहोर अस्तव्यस्त रुप देखेपछि सीताराम र कुञ्जना चुप बस्न सकेनन्। ‘शुरूमा ट्वाइलेट सफाइमा आएका थियौं। पछि अव्यवस्थित बिजुलीका तार, जलेका चीम, टुटेफुटेका धारा, अँध्यारो प्यासेज आदि देखेपछि यी सबै कुरालाई बनाएर संरचना नै परिवर्तन गर्नुपर्छ भन्ने सोचले काम गर्दै गयौं। सबै कुरा ठीक अवस्थामा नभएकाले हामीले यहाँका सबै डिपार्टको सहयोग लिँदै सबै काम एकैसाथ अघि बढाइरहेका छौं’ –सितारामले भने।

दिउँसो बिरामीको चाप बढी हुने भएका कारण सीतारामको समूहले सरसफाइको काम भने राति गर्ने गरेको छ। त्यस्तै रङरोगन तथा मर्मत सम्भारका काम भने बिहान ६ बजेदेखि राति १२–१ बजेसम्म गर्ने गरेको उनले बताए। ‘वीर अस्पताल देशकै पुरानो र सरकारी अस्पताल भएकाले यहाँ दुरदराजका व्यक्तिहरु उपचारका लागि आउने र चाप पनि धेरै हुन्छ।

त्यसकारण पनि समय व्यवस्थापन र अस्पताललाई छिटो तयार बनाउनको लागि हामी काममा खटिइरहेका छौं। काम पूरा हुन अझै २० दिन जति लाग्छ। अब बिरामीलाई प्राईभेट अस्पतालमा छिरेको अनुभव हुने अस्पताल बनाउनेछौं। योसँगै वीर अस्पताल अटोमेटिक सिस्टममा चल्न थाल्छ’ –सिताराम सुनाउँछन्।

पेटको समस्याका कारण ४ वर्षअघि वीर अस्पतालमा तेस्रो ईन्डोस्कोपी गरेका उनी अहिले वीरमै चौथो ईन्डोस्कोपी गरी औषधि खाँदै अहोरात्र अस्पतालमा खटिइरहेका छन्। ‘पहिले पनि अस्पतालमा सरसफाइका कर्मचारीहरु खटिएर काम गरिरहनुभएको थियो। तर, कतिपय कर्मचारी दक्ष हुनुहुन्थेन होला या प्रभावकारीरुपमा सफाइका काम भएनन् होला’ –सीताराम वीरको कर्मचारी संयन्त्रको बचाउ गर्दै भन्छन्– ‘हामीले सरसफाइ अभियन्ताको रुपमा यहाँका सबै ठाउँमा सरसफाइ ग¥यौं। यो हाम्रो एउटा सचेतनाको अभियान मात्रै हो।

निरन्तर सफाइ चाहिँ वीर हस्पिटलकै कर्मचारीले गर्नुहुनेछ र हामीले उहाँहरुलाई ट्रेनिङ दिदैं दिगो हिसाबमा सरसफाइलाई अघि बढाउने सोचका साथ यो अभियान चलाएका हौं।’ यस कार्यमा ख्यातिप्राप्त हास्य अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य तथा बद्री पंगेनी, यमन श्रेष्ठ, अशोक धिताल, भद्रगोलका टिमका कलाकारलगायतले साथ दिइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्