ट्रम्पजस्तो मित्र भएपछि शत्रुको के खाँचो: युरोपेली संघ



सोफिया, (एजेन्सी)
इरानसँगको सम्झौताबाट बाहिरिनु र व्यापार युद्धलाई चर्काउनुले अमेरिकाका मित्र राष्ट्रहरु पनि उसँग रुष्ट देखिएका छन्। युरोपेली युनियनका अध्यक्षले बुधबार एक बैठकमा डोनाल्ड ट्रम्पजस्तो मित्र हुनेहरुका लागि शत्रुको आवश्यक नहुने बताएका थिए।
बुल्गेरियाको राजधानी सोफियामा इरानसँगको बाँकी सम्झौतालाई कसरी सुरक्षित गर्ने र युरोपेली देशको इरानसँगको व्यापारलाई ट्रम्पको प्रतिबन्धपछि कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न बुल्गेरियाको राजधानीमा २८ देखका नेताहरुको भेला भइरहेका छन्।

युरोपेली संघका प्रमुख डोनाल्ड टस्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फैसलाको सामना गर्न युरोपेली संघलाई पहिलाको भन्दा बलियो एकता देखाउनुपर्ने बताए। पत्रकार सम्मेलनमा टस्कले भने– ‘राष्ट्रपति ट्रम्पको हालैका फैसलालाई हेर्दा जसले पनि सोच्न सक्छ, ट्रम्पजस्तो मित्र भएपछि कसैलाई शत्रुको किन आवश्यक हुन्छ ?

‘प्रष्ट रुपमा भन्नुपर्दा युरोपलाई राष्ट्रपति ट्रम्पप्रति आभारी हुनुपर्छ। किनभने हामी सबै प्रकारका भ्रमबाट छुटकारा पाएका छौं’ –उनले अगाडि भने। ट्रम्पको ‘अमेरिका फस्ट’ नीतिबाट युरोपेली नेताहरुको समस्या लगातार बढिरहेको छ। पेरिस जलवायु सम्झौताबाट अमेरिका बाहिरिनु वा सन् २०१५ मा भएको इरान परमाणु सम्झौताबाट अमेरिका अलग्ग हुनुजस्ता ट्रम्प नीति पश्चिमी देशका लागि अप्रत्यासित हुन्। ट्रम्पका फैसलाले युरोपको आफ्नो विदेश नीतिका लागि खतरा उत्पन्न गराइरहेको छ।

टस्कले भने– ‘युरोपले आफ्नो सुरक्षाका लागि शक्ति भ्याएसम्म सबै गुर्नपर्छ। हामी त्यो स्थितिका लागि तयार रहनुपर्नेछ जब आफ्नै बलबुतामा सबैकुरा गर्नुपर्ने परिस्थिति सिर्जना हुनेछ।’

यसै हप्ता इजरायलको अमेरिकी दूताबासलाई जेरुसलम सारेको घटनालाई लिएर पनि युरोपेली देशहरु रिसाएका छन्। यद्यपि युरोपेली संघले यसको खुलेर विरोध गर्न सकिरहेको छैन, किनभने इजरायल समर्थक देश चेक गणतन्त्र र हंगेरीले अमेरिकाको फैसलालाई समर्थन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्