पेट्रोलियम पाइपलाइन ७ किलोमिटर बिच्छाइयो



नेपाल समाचारपत्र
काठमाडौं
हुप्रतिक्षित नेपाल–भारत पेट्रोलियम पाइपलाइन परियोजनाको पाइप हालसम्म ७ किलो मिटर बिछ्र्याइएको छ। नेपाल आयल निगमले गत महिनाबाट पाइप विछ्याउन शुरू गरेको थियो। निगमले बाराको जीतपुरबाट पाइप बिछ्याउने काम थालेको थियो। बिच्छाएको पाइपलाइनबाट पहिलो चरणमा डिजेल आयात गरिने निगमले जनाएको छ। मोतिहारी–अमलेखगञ्जहुँदै पाइपलाइन विस्तार हुनेछ। मोतीहारी–रक्सौल पेट्रोलियम पाइपलाइन ३२ दशमलव ७८ किलोमिटर रहेको छ भने रक्सौल–अम्लेखगन्ज भने ३६ दशमलव २८ किलोमिटर रहेको छ।

कुल २ अर्ब ७५ करोड भारतीय रुपियाँमा परियोजना निर्माण हुन लागेको हो। त्यसमध्ये भारतीय आयल निगम (आईओसीं) को २ अर्ब र नेपाल आयल निगम (एनओसी) को ७५ करोड भारतीय रुपियाँ खर्च हुनेछ। बरेली नाकाबाट आयात हुँदै आएको पेट्रोलियम पदार्थ भने अब मोतिहारीमा नै आईओसीले डिपो निर्माणसँगै सोही स्थानबाट आयात गर्नेछ। भारतबाट ल्याइएको करिब ११ मिटर लम्बाई रहेको १० दशमलव ७५ इन्च मोटाइको माइल स्टिल एमएस पाइपबाट प्रतिघण्टा २ सय ९४ किलोलिटर पेट्रोलियम पदार्थ आयात हुनेछ। रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाका मेकानिक इन्जिनियर सरोजप्रसाद पौडेलका अनुसार हालसम्म ३७ किलोमिटरनै पाइप आएको र बाँकी अरू साना ठूला पाइप आउने क्रममा रहेको बताउनुभयो। अहिले पाइप लाइन बिच्छाउने मार्गमा पर्ने पोल हटाउने काम पनि जारी रहेको पौडेलले जानकारी दिनुभयो। परियोजनामा अरू थप पाइप बिच्छाउनको लागि रेडियोग्रफी टेस्ट गरिँदै वल्डिङ गरी बिछ्याउनको तयार पारिँदै गएको समेत पौडेलले बताउनुभयो।

काम शुरू भएको १५ महिनामा भारतको मोतीहारीबाट निगमको अमलेखगन्जस्थित डिपोमा जोडिने निगमको दाबी छ। सन् २०१५ को अगस्ट २४ मा नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनबीच सो परियोजना निर्माण गर्ने सहमति भएको थियो। सहमतिमा काम शुरू भएको २ वर्षभित्र सक्ने सहमति भए पनि नाकाबन्दीले गर्दा आयोजनाले गति लिन सकेको थिएन भने आयोजनामा दुवै पक्षको नीतिगत निर्णयमा ढिलाइ हुँदा निर्माण प्रक्रिया ढिलो शुरू भएको थियो।

पेट्रोलियम पाइपलाइनको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मोतिहारी–अम्लेखगन्ज पेट्रोलियम पाइपलाइन परियोजनाको चैत २५ गते गर्नु भएको थियो। प्रधानमन्त्रीद्वयले दिल्लीबाट रिमोटमार्फत् परियोजना शुभारम्भ गर्नुे भएको थियो भने मोतिहारीमा पाइप बिछउनेकाम शुरू गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्