चितवनको खैरहनीमा बर्डफ्लु भेटियो, १५ सय लेयर्स कुखुराको खोर नै रित्तियो



कृष्ण आचार्य चितवन । चितवनमा बर्डफ्लु भेटिएको छ । खैरहनी नरगपालिका ९ सुर्तनीका स्थानीय किसान राजन चौधरीले पालेका लेयर्स फर्मको कुखुरा मेरेपछि परीक्षण गर्दा बर्डफ्लुको पुष्टि भएको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला चितवनका बरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाईले जानकारी दिए ।
चौधरीले एउटै फर्ममा १५ सय लेयर्स कुखुरा पालेका थिए । खोरमा रहेका कुखुरा धमाधम मर्न थालेपछि यही बैशाख १४ गते जाँचका लागी भरतपुरमा रहेको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला पठाइएको थियो । परीक्षणमा बर्डफ्लु (एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान) नामक जीवाणु (भाइरस) भेटिएको चापागाईले बताए । ३१ गते कुखुरामा बर्डफ्लु भेटिएको रिपोर्ट आएपनि हिजो (बिहिबार) मन्त्रिस्तरिय निर्णयबाट कुखुरा नष्ट गर्न निर्देशन भएको उनले जानकारी दिए ।
सो क्षेत्रका धेरै कुखुरामा एच नाइन भाइरस धेरै देखिएको उनले बताए । बर्डफ्लुको स्वरुप भएपनि यसले खासै असर नगर्ने चापागाईको भनाई छ ।
चौधरीले पालेका सबै १५ सय कुुखुरा मरिसकेका छन् । राजन चौधरीको खोर संगै जोडिएको लक्ष्मण चौधरीको खोरका कुखुरा पनि धमाधम मर्न थालेपछि परिक्षणका लागी नमुना पठाइएको छ । त्यसको रिपोर्ट भने अझै आएको छैन् ।
बर्डफ्लु पुष्टि भएपछि खैरहनी ९ सुर्तनीको केही भागलाई संक्रमित क्षेत्र घोषणा गरिएको छ । उक्त क्षेत्रमा पंक्षी तथा पंक्षीजन्य पदार्थको ओसारपसारमा पनि रोक लगाइएको छ भने त्यस क्षेत्रमा रहेका पंक्षीको सुरक्षितरुपमा नष्ट गरिएको छ ।
यसैबीच पशु सेवा कार्यालयले कुखुराको खोरहरु सफा गर्न पालक किसानसमक्ष अनुरोध गरेको छ । यो जीवाणु मानिसमा पनि सर्न सक्ने भएकाले सतर्कता अपनाउन सर्वसाधारणसमक्ष पनि कार्यलयले आग्रह गरेको छ ।
यसअघि २०७० सालमा जिल्लामा बर्डफ्लु देखिएको थियो । सो समयमा बर्डफ्लुका कारण ठूलो संख्यामा कुखुरा मरेका थिए । नेपालको सीमा क्षेत्र भारतमा यस वर्ष पनि बर्डफ्लु देखा परेपछि नेपालमा उच्च सतर्कता अपनाइएको भए पनि बर्डफ्लु देखिएको हो । कुखुराजन्य क्षेत्रमा नेपालमा रु ७० अर्बभन्दा बढी लगानी छ । जसमध्ये आधाभन्दा बढी लगानी चितवनमा छ ।

प्रतिक्रिया दिनुहोस्