मलेसियाली नेता अनबर इब्राहिम जेलमुक्त



 एजेन्सी । मलेसियाली नेता अनबर इब्राहिम जेलमुक्त भएका छन् ।

अप्राकृतिक यौनव्यवहारमा दोषी बनाएर जेल हालिएका इब्राहिमलाई मलेसियाली सुल्तान मुहम्मद पाँचौंले माफी दिएपछि बुधबार उनी जेलमुक्त भएका हुन् ।

सन् २०१५ मा उनलाई अप्राकृतिक यौनव्यवहारमा दोषी बनाएर पाँच वर्षका लागि जेल हालिएको थियो । कतिपयले तत्कालीन प्रधानमन्त्री नजिव रजाकले राजनीतिक प्रतिशोध साँधेर उनलाई जेल हालेको बताउँदै आएका थिए ।

जेलमुक्त भएपछि इब्राहिम काँधको उपचारका लागि अस्पताल गएका छन् । उनी मलेसियाका प्राइममिनिस्टर इन वेटिङ (भावी प्रधानमन्त्री) हुन् । प्रधानमन्त्री मोहम्मद महाथिरले यसअघि नै दुई वर्षभित्र इब्राहिमलाई सत्ता हस्तान्तरण गर्ने वाचा गरेका छन् ।

महाथिरले नै इब्राहिमलाई राजनीतिमा अगाडि बढाएका थिए । तर उनी आफैंले सन् १९९८मा इब्राहिमलाई उपप्रधानमन्त्रीबाट बर्खास्त गरे र अर्को वर्ष अप्राकृतिक यौनव्यवहारको मुद्दामा उनलाई जेल हालियो ।

सन् २००४ मा जेलमुक्त भएपछि इब्राहिम विपक्षी दलको नेता बने । तर विपक्षी पार्टीले चुनाव जित्न सकेन । सन् २०१५ मा उनलाई अप्राकृतिक यौनव्यवहारको अर्को मुद्दा लगाएर जेल हालियो ।

यता ७७ वर्षका महाथिरले सन् २००३ मा उनले सत्ता छोडे । प्रधानमन्त्री अब्दुल्ला अहमद बडावीको आलोचना गर्दै सन् २००८मा उनले पार्टी परित्याग गरे ।

केहीले उनको पार्टी परित्यागलाई आफैंले उत्तराधिकारी बनाएका बडावीलाई राजीनामा दिन बाध्य पार्ने चाल भएको मान्छन् । बडावीले राजीनामा दिएपछि उनी फेरि पार्टीमा फर्किए ।

वानएमडिबी विकास कोषमा भएको अर्बौंको भ्रष्टाचारबारे उनका राजनीतिक चेला प्रधानमन्त्री रजाकसँग मनमुटाव भएपछि उनले सन् २०१६ मा फेरि युएमएनओ परित्याग गरे । विपक्षीसँग मिलेर गठबन्धन बनाए । हुँदा आफैंले उपप्रधानमन्त्री हटाएका इब्राइमसँग मिले ।

चुनावमा महाथिर नेतृत्वको गठबन्धन विजयी भयो। उनी ९२ वर्षको उमेरमा प्रधानमन्त्री बने । अब महाथिरले २० वर्षअघि उपप्रधानमन्त्रीबाट आफूले बर्खास्त गरेका इब्राहिमलाई प्रधानमन्त्री हस्तान्तरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्