ब्राजिलद्वारा विश्वकप खेल्ने खेलाडीहरूको टिम घोषणा



लण्डन  । आउँदो महिना सुरु हुने विश्वकप फुटबलका लागि उपाधिको दाबेदार मानिएको ब्राजिलले टिम घोषणा गरेको छ ।

ब्राजिलले रुसमा आउँदो जुन १४ देखि सुरु हुने विश्वकपका लागि २३ सदस्यीय टोली घोषणा गरेको हो । त्यसमा चोटका कारण अहिले मैदान बाहिर रहेका नेइमार पनि परेका छन् ।

पेरिस सेन्ट–जर्मेन (पिएसजी) का नेइमार गएको मार्चखि चोटका कारण मैदान बाहिर छन् । तर उनी अब प्रशिक्षणमा फर्किन तयार रहेको बताइने गरेको छ ।

ब्राजिलको टिमका डाक्टरले नेइमार विश्वकपका लागि फिट हुने बताएका छन् । विश्वकपका लागि घोषणा गरिएको टिममा नेइमारसँगै एण्डर्सन, डानिलो, फरनान्डिन्हो, गाब्रिएल जिसस, रोबर्टो फिरमिनो तथा विलियनसहितका खेलाडी पनि छन् ।

ब्राजिल विश्वकपका लागि समूह इ मा छ र उसले कोस्टारिका, सर्बिया र स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । उसले आफ्नो पहिलो खेल जुन १७ मा खेल्नेछ ।

टिममा गोलरक्षकमा एलिसन, एण्डर्सन, कासिओ परेका छन् । डिफेन्डरमा डानिलो, फाग्नर, मार्सेलो, फिलिप लुइस, थिएगो सिल्भा, मार्क्युइनहोस, मिरान्डा, पेड्रो गेरोमेल रहेका छन् ।

मिडफिल्डरमा कासेमिरो, फरनान्डिन्हो, पाउलिन्हो, फ्रेड, रेनाटो अगस्टो, फिलिप कोन्टिन्हो, विलियन, डुग्लस कोस्टा टिममा परेका छन् ।

फर्वार्डमा नेइमार, टाइसन, गाब्रिएल जिसस, रोबर्टो फिरमिनो रहेका छन् । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्