निर्माताको शेयर थोरै प्रतिशतले वृद्धि, टिकट दर आफैं तोक्न सकिने



नेपाल चलचित्र संघसँग आइतबार राति भएको सहमतिबाट निर्माताहरूले थोरै मात्र लाभ पाउने भएका छन्। शेयर बाँडफाँडको विषयमा २०६० सालमा निर्माता संघ र चलचित्र संघबीच भएको सम्झौताअनुसार काठमाडौं उपत्यकामा निर्माताले ५५ देखि ६० प्रतिशतसम्म र प्रदर्शकले ४० देखि ४५ प्रतिशतसम्मका दरले शेयर बाँड्ने सहमति भएकाले सोहीअनुसार शेयर हेरफेर गरिनुपर्ने माग राखी आन्दोलनमा उत्रने चेतावनी दिइए पनि थोरै प्रतिशत शेयर वृद्धिमै दुई संघबीच सम्झौता भएको छ।

आगामी ४ गतेदेखि २ वर्षका लागि लागू गरिएको सम्झौताअनुसार मल्टिप्लेक्स हलबाट निर्माताले पहिलो साता ५०, दोस्रो साता ४५ र तेस्रो साता ४० प्रतिशत शेयर पाउनेछन्। चौथो सातादेखि भने निर्माताले ३५ प्रतिशत पाउनेछन्। यसअघि निर्माताले मल्टिप्लेक्स हलबाट पहिलो साता ५०, दोस्रो साता ४२.५, तेस्रो साता ३७.५ र चौथो साताबाट ३० प्रतिशत शेयर पाइरहेका थिए।

नयाँ सहमतिबमोजिम सिंंंगल थिएटरको शेयर बाँडफाँड भने ५०–५० प्रतिशतको आधारमा हुनेछ। निर्माताका पक्षमा लाभदायी सहमतिचाहिँ के भएको छ भने हलले फिल्मको टे«लर, ब्यानर, पोस्टर र स्ट्यान्डीको प्रचार सामग्री २ सातासम्म निःशुल्क उपलब्ध गराउनेछ भने अबका दिनमा मल्टिप्लेक्स हलबाट २ साताभित्र अनिवार्यरूपमा रकम भुक्तानी गर्नुपर्नेछ। सिंगल स्टेसनले भने फिल्म उत्रेको २ साताभित्र भुक्तानी गर्नुपर्नेछ। सोबमोजिम नभए २ संघको संयुक्त कार्यदलको निर्णयअनुसार हर्जानासहित कारबाही गरिने भएको छ।

फिल्म हलले आफ्नो क्याबिनको हिसाबसमेत उपलब्ध गराउनुपर्नेछ भने हलभाडा वा हल खर्चको नाममा कुनै पनि खर्च काट्न पाउने छैन। वार्ताका क्रममा कस्तो हललाई मल्टिप्लेक्स र कस्तोलाई सिंगल थिएटर भन्ने विषयमा भएको विवाद टुंग्याउँदै उपत्यकाभित्रका २ सय ५० टिकट दर रहेका तथा ३ वा ३ भन्दा बढी थिएटर रहेका हललाई मल्टिप्लेक्सको मान्यता दिने, उपत्यकाबाहिरको हकमा २ सय टिकट दर रहेका तथा ३ वा ३ भन्दा बढी थिएटर रहेका हललाई मल्टिप्लेक्सको मान्यता दिइने भएको छ।

त्यसै गरी गोपीकृष्ण मुभिजको गोपी र कृष्ण हल, अष्टनारायणको ‘क’ र ‘ख’ हल, गुण सिनेमाको ‘क’, ‘ख’ र ‘च’ तथा वाराही मुभिजको ‘क’ हलले मल्टिप्लेक्स सरहको शेयर बाँडफाँँड गर्ने सहमति भएको छ भने पोखराको श्रीकृष्ण, वाराहीको ‘क’ र ‘ख’ले मल्टिप्लेक्स सरहको शेयर बाँडफाँड गर्ने सम्झौता भएको छ। दुवै पक्षले हस्ताक्षर गरेको सम्झौतापत्रमा बक्स अफिस लागू गर्ने सम्बन्धमा पूर्ण प्रतिबद्धता व्यक्त गरिएको छ भने सम्झौतापश्चात् निर्माताले आफ्नो फिल्मको टिकट दर आफैं तोक्न पाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस्