अमेरिकी दूतावास जेरुसलममा, इवान्का र कुस्नर दूतावास उद्घाटन समारोहमा



जेरुसलम, (एजेन्सी)
इजरायल अधिनस्थ विवादास्पद शहर जेरुसलममा सोमबारबाट नयाँ अमेरिकी दूतावास खोलिने भएको छ। नयाँ दूतावासको उद्घाटन समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवान्का र ज्वाई जेरेड कुस्नर सहभागी हुन इजरायल पुगिसकेका छन्। जेरुसलममा अमेरिकी दूतावास सार्ने निर्णयका लागि इजरायली नागरिकले ट्रम्पलाई विशेष सम्मान व्यक्त गरिरहेका छन्। सन् २०१७ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो र विवादास्पद नीतिगत फैसला लिँदै अमेरिकी दूतावासलाई राजधानी तेल अभिवबाट ऐतिहासिक शहर जेरुसलम सार्ने निर्णय लिएका थिए। उनले सन् २०१६ को राष्ट्रपतीय चुनाव अभियानका क्रममै अमेरिकी दूतावास जेरुसलम सार्ने नीतिको अगाडि सारेका थिए।

यद्यपि दूतावासको उद्घाटन समारोहमा ट्रम्प आफैं भने उपस्थित हुने छैन। अमेरिकाको उक्त फैसलालाई मध्यपूर्वका मुस्लिम देशलगायत विश्वभरका कयौं देशले आलोचना गरेका थिए। इजरायलले जेरुसलमलाई आफ्नो ‘चिरकालीन र अविभाजित’ राजधानी मान्दै आइरहेको छ। तर सन् १९६७ का युद्धमा मात्र इजरायलको कब्जामा आएको पूर्वीजेरुसलमलाई प्यालेस्टाइनले आफ्नो प्रस्तावित राष्ट्रको राजधानी मानेका छन्।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अन्य देशसँग पनि उनीहरूको दूतावास तेल अभिवबाट जेरुसलम सार्न आग्रह गरेका छन्। आइतबार एक सार्वजनिक कार्यक्रममा बोल्दै नेतान्याहुले भने– ‘राष्ट्रपति ट्रम्पको अमेरिकी दूतावास जेरुसलम ल्याउने एक महान् फैसला हो। यो सत्यलाई सत्य मान्नु जस्तै हो। हामीलाई थाहा छ, जेरुसलम विगत ३ हजार वर्षदेखि यहुदीहरूको राजधानी रहेको छ र विगत ७० वर्षदेखि हाम्रो देशको राजधानी पनि हो र यो हाम्रो सधैं राजधानी बनी रहेनेछ।

उक्त कार्यक्रममा अमेरिकी उपविदेशमन्त्री जोन सुलिवनले त्यस क्षेत्रको स्थायी शान्तिका लागि सही दिशामा उठाइएको कदम भएको बताए। तर, प्यालेस्टिनी जनता अमेरिकाको यस कदमको कडा विरोध गरिरहेका छन्। प्यालेस्टिनीहरू इजरायलको कब्जमा रहेको पूर्वी जेरुसलम एक दिन उनीहरूको देशको राजधानी हुने अपेक्षा गरिरहेका छन्।

इजरायल अधिनस्थ पश्चिम किनाराको रमल्लामा प्यालेस्टिनी लिबरेसन अर्गनाइजेसनका एक वरिष्ठ नेता वासेल अबु युसुफले आफना दूतावासलाई जेरुसलममा सार्ने देशहरूलाई बहिस्कार गर्न अरब देशहरूसँग अपिल गरेका छन्। युरोपेली संघले पनि अमेरिकाको यस कदमको विरोध गरेको छ र युरोपका धेरैजसो देशका राजदूतले सोमबार हुने उद्घाटन समारोह बहिस्कार गर्ने बताइएको छ।

यद्यपि हंगेरी, रोमानिया, चेक गणतन्त्रका प्रतिनिधि यस समारोहमा सहभागी हुने बताइएको छ। यसबीच ग्वाटेमाला र पाराग्वेका राष्ट्रपति पनि समारोहमा सहभागी हुने बताइएको छ। दुवै देशले आफ्नो दूतावास जेरुसलममा ल्याउने भएका छन्।

अल जवाहिरीद्वारा जिहादको अपिल
अलकायदा प्रमुख अमन अल जवाहिरीले इजरायलमा अमेरिकी दूतावासलाई जेरुसलम सार्ने अमेरिकी फैसलाले वार्ता तथा खुसी पार्ने प्यालेस्टिनी नीति असफल भएको प्रस्ट देखिएको बताए। इस्लामिक कट्टरपन्थी संगठनका प्रमुखले अमेरिकाको उक्त कदमको पृष्ठभूमिमा मुसलमानलाई अमेरिकाविरुद्ध जिहाद छेड्न अपिल गरेका छन्।

‘तेल अभिव पनि मुलसमानको भूमि हो।’ –शीर्षकको पाँच मिनेट लामो भिडियो सन्देशमा अल जवाहिरीले प्यालेस्टिनी शासनलाई देश बेचुवा भएको आरोप लगाउँदै आफ्ना समर्थकहरूलाई हतियार उठाउन अपिल गरेका छन्। सन् २०११ मा ओसामा बिन लादेन मारिएपछि इजिप्टका डाक्टर जवाहिरीले विश्वका सबैभन्दा शक्तिशाली कट्टर इस्लामिक संगठन प्रमुखको पद सम्हालेका थिए। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्पष्ट भएको र उनले धर्म युद्धको आधुनिक रूपलाई उजागर गरेको बताए। अल जवाहिरीले इस्लामिक देशहरू मुसलमानको हितमा काम गर्न असफलर रहेको पनि आरोप लगाए।

४२ प्यालेस्टिनी मारिए
गाजा, (एजेन्सी)
गाजा सीमामा इजरायली सैनिकसँग प्यालेस्टिनीहरूको झडपमा कम्तीमा ४२ प्यालेस्टिनी मारिएका छन्। प्यालेस्टिनी अधिकारीका अनुसार सीमामा भएका हिंस्रक झडपमा १ हजार ३ सय जना घाइते भएका छन्। जेरुसलममा अमेरिकी दूतावासको उद्घाटन अगाडि उक्त हिंसा भएको हो। उक्त दूतावासलाई लिएर प्यालेस्टिनीहरूले आक्रोश व्यक्त गरिरहेका छन्।

प्यालेस्टाइनले यसलाई जेरुसलममाथि इजरायली कब्जामा अमेरिकी समर्थनका रूपमा हेरेको छ। उक्त दूतावास उद्घाटनका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पकी छोरी इवान्का र उनका पति जेरेड कुस्नर इजरायल पुगेको बताइएको छ।
दुबैले ≈वाइट हाउसका वरिष्ठ सल्लाहकारसहित उक्त समारोहमा भाग लिनेछन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भने यस समारोहमा उपस्थिति हुने छैन। अमेरिकाले इजरायलको ७०औं वर्षगाँठको दिन आफ्नो फैसला कार्यान्वयन गर्ने योजना बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्