विदेशी पत्रकारसामु परमाणु परीक्षणस्थल ध्वस्त पार्ने



सोल, (एजेन्सी)
उत्तर कोरियाले दुई हप्ताभित्र विदेशी पत्रकारको रोहवरमा आफ्नो परमाणु परीक्षणस्थल नष्ट गर्ने भएको छ। शनिबार उत्तर कोरियाको सरकारी न्युज एजेन्सी केसीएनएका अनुसार मे २३ देखि २५ को बीचमा ती स्थल नष्ट गर्न ‘प्राविधिक कदम’ उठाइरहेको बताएको छ। उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको शिखर बैठक हुन करिब ३ हप्ता अगाडि उत्तर कोरियाले उक्त काम गर्न लागेको हो।

उत्तर कोरियाको परमाणु हतियार परीक्षणस्थल पुंगेरी पर्वतस्थित उक्त स्थल ध्वस्त गर्ने तिथि मौसममा निर्भर रहने बताइएको छ। किनभने उक्त दिन विस्फोटक पदार्थको प्रयोगबाट सबै सुरुङ ध्वस्त पारिनेछ। यसअघि त्यहाँस्थित निगरानी व्यवस्था, शोध व्यवस्था र सुरक्षा चौकीहरू पनि हटाइनेछ। उक्त महŒवपूर्ण घटनाका साक्षी बन्नका लागि दक्षिण कोरिया, रुस, अमेरिका, चीन र बेलायतबाट पत्रकारलाई बोलाइनेछ। शनिबार उत्तर कोरियाले जारी गरेको एक बयानमा भनेको छ– ‘हाम्रो मनशाय, हामी जुन स्थान ध्वस्त पार्दै छौं, त्यो पारदर्शी तरिकाबाट होस्। यसैलाई देखाउन हामी स्थानीय प्रेससँगै विदेशबाट पनि पत्रकारलाई बोलाएका छौं।’

ट्रम्प र किम जोङ उनबीचको शिखर बैठक जुन १२ मा सिंगापुरमा हुने तय भएको छ। दुई देशका लागि एक–अर्कासँग भेटवार्ता गर्ने यो पहिलो अवसर पनि हो। यस शिखर बैठकमा उत्तर कोरियाको हतियार कार्यक्रमका विषयमा वार्ता हुनेछ। अमेरिकाले वार्ताअगाडि नै उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम रोकोस् भन्ने चाहेको छ।

उत्तर कोरियाले सन् २००६ देखि हालसम्ममा कुल ६ परमाणु परीक्षण गरेको छ। ती सबै परीक्षणमा पुंगेरी पहाडमा निर्माण उक्त भूमिगत स्थलको प्रयोग गरिएको थियो।

उत्तर कोरियाको उत्तरपूर्वी पहाडी इलाकास्थित यो स्थल परमाणु परीक्षणका लागि देशको सबैभन्दा महŒवपूर्ण स्थान हो र विश्वको एकमात्र सक्रिय परमाणु परीक्षणस्थल पनि हो। पुंगेरी नजिकको माउन्ट मनटापमुनि बनेका सुरुङहरूमा परमाणु परीक्षण गरिन्थे। गत सेप्टेम्बर ३ मा भएको परीक्षणअगाडि अगस्टमा स्याटलाइटबाट प्राप्त तस्वीरका आधारमा केही विज्ञले उक्त स्थानलाई परीक्षणका लागि तयारी भइरहेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्