हामीले नै हो देश बनाउने



सधैँ राज्यलाई मात्र सरापेर देश पारा लाग्दैन। सधैँ अधिकार मात्र प्रयोग गरेर जिन्दगी प्रगतिशील र समृद्ध बन्दैन। गन्तव्यमा पुग्न अधिकार मात्रले पुग्दैन, कर्तव्यलाइ पनि पालना गर्नुपर्छ। अधिकारको मालपोत त केवल नकारात्मक विभेदको परिणाम र कमजोरीपनको झुन्ड मात्र हो। यो कर्मशील समाजमा त कर्तव्यको तेलविना विकासको रेल कसरी चल्ने ? हामीले व्यक्तिगत, जातिगत, पेसागत, दलगत र सामाजिक पुनर्संरचनाको बारेमा धेरै कुरा ग¥यौं, बोल्यौं र केही हदसम्म कार्यान्वयनको चरणमा पनि लागेका छौं। अब त एकचोटि राष्ट्रिय हित र विश्वसमाज परिवर्तनको लागि सोच्नुपर्ने होइन र ? सीमित स्रोत र असीमित आवश्यकतालाई वैकल्पिक प्रयोगबाट जीवनलाई अग्रगामी परिवर्तन गर्नुपर्ने अवस्थामा सर्वपक्षीय र वादविवादरहित हुन सक्नुपर्ने हुन्छ।
हामी जीवित प्राणीका सबैभन्दा बौद्धिक मानिस हौं। हामीमा कमी–कमजोरी नहुने त कदापि हुँदैन। जानेर वा नजानेर, थाहा पाएर वा नपाएर, व्यक्तिगत र पारिवारिक स्वार्थका लागि हामीले भूल गरेका हुन्छौं। त्यसैले हामीले ठूला–ठूला कुरा गरेर ठूलो परिवर्तन गर्छु भन्नु मुर्खालुको कुभिन्डो बोक्नेबाहेक केही हुँदैन। केवल स–साना कार्य पसिना नाचुहाईकन गरेर भए पनि हाम्रो समाजलाई मरेतुल्य हुनबाट बचाउन त सकिन्छ। राम्रो काम गर्नको लागि ठूलो मान्छे नै हुनुपर्छ भन्ने दिमाग आजै हटाएर आफ्नो भूमिकालाई बाँधेर यथार्थको घडीलाई केलाउँदै केही गर्नु हाम्रो सामाजिक कर्तव्य पनि हो। जब हामी आफ्नो कर्तव्यलाई बिर्सन थाल्छौं, सामाजिक फोहोरको काँचुली शरीरमै भिरेर हिँड्न मजा आउने गर्दछ। हामी ब्रह्माण्डका करिब सम्पूर्ण प्राणीमा सबैभन्दा बौद्धिक प्राणी हौं। जिन्दगी आफ्नो हो भन्दैमा जे पायो त्यही गर्दै हिँड्नु घमण्डको मतियार हो। समाजमा बसेपछि यो मेरो जिन्दगी हो भनेर मात्र पनि हुँदैन, त्यहाँ अरुको पनि जिन्दगी मिसिएको छ भन्ने हेक्का राख्नु अनिवार्य छ। पहिले आ–आफ्नो कर्तव्यलाई पालना गरिहेरौं। अनि थाहा हुन्छ, हामीले नै कति परिवर्तन गर्न सक्छौं, कोपिलालाई कसरी फूल बनाउन सक्छौं भनेर। वास्तवमा हामीले केही हदसम्म व्यक्तिगत तथा सामूहिक कार्य नगरेका पनि हैनौं। तर हामी जब नकारात्मक कुण्डमा हामफाल्दै उफ्रन थाल्छौं अनि हाम्रो बादल निकै कालो हुन्छ। र, त्यसैमा हामी लुकामारी खेल्दै सामन्ती सोचमा लिप्त हुनु निकै दुर्भाग्य हुँदै गएको छ।
परिवार समाजको अंग हो भने समाज राष्ट्रको अंग हो। व्यक्तिमा सद्भाव र समन्वय भएन भने सामाजिकरूपमा वैमनस्यता हुन्छ। यही समाजमा बसेको म, तपाईं, गृहिणी, आमाबुबा, छोराछोरी, इस्टमित्र, छिमेकी, पसले, ग्राहक, चालक, यात्रु, कर्मचारी, विद्यार्थी, रंगकर्मी, नेता, कार्यकर्ता, खेलाडी, प्रहरी, किसान, विश्लेषक सम्पूर्णले आ–आफ्नो ठाउँबाट जे जसरी हुन्छ सद्भाव बढाउनुपर्छ। जब समाजको स्थायित्व हुन्छ, एक–अर्काले स्वीकार्ने अवस्था आउँछ। रूपान्तरणको नयाँ आयाम शुरु हुन्छ। यो नै हामीले खोजेको र चाहेको समाज हो।
अहिले हामी एक्काइसौं शताब्दीको लोकतान्त्रिक समाजवाद र प्रगतिशील शब्दकोषबाट अगाडि बढेका छौं। त्यसैले आफ्नो चश्माले जे देख्यो त्यही ठीक हो, आफूले जे सोच्यो त्यो नै जायज हो भन्नु एकतर्फी मानसिकताको उपजमा सामन्तीराजको वकालतबाहेक केही हैन। आजकलका मानिसले नैतिकता र आदर्शका कुरा धेरै गरेको देखिन्छ। तर व्यवहारमा निकै कम मात्र लागू गरेको देखिन्छ। यो भनेको नकारात्मकताको पराकाष्ठा हो। यसले मानिसलाई नैराश्यता तथा संस्थागत कार्यमा खिन्नता सिर्जना गर्दछ। उद्देश्य उन्मुख हुन पनि गाह्रो हुने गर्दछ। त्यसैले गफको चुड्का फ्याँक्नुभन्दा पहिले त्यसले अरुको कार्यमा कति असर पार्दछ भन्ने बारेमा पनि सोच्नु श्रेयष्कर हुन्छ। परिवारभित्र बसिसकेपछि, परिवारको स्रोत उपयोग गरेपछि पारिवारिक दायित्व पनि निभाउनुपर्दछ। ससुरा–सासूले मलाई वास्ता गरेनन् भन्नुभन्दा पहिले मैले बूढाबूढीको कसतो ख्याल गरेकी छु भन्ने बारेमा पनि सोच्नुपर्दछ। ससुरा–सासूले पनि आफ्ना छोराछोरीलाई देखाउने व्यवहार बुहारीका अगाडि पनि देखाउनुपर्दछ। हाम्रै समाजका कतिपय परिवारमा अझै पनि छोरी जन्मनु अभिशाप सम्झन्छन्। एक्काइसौं शताब्दीको यो भन्दा नालायक के होला ? यसले भावी रणनीतिलाई कस्तो प्रभाव पार्ला ? यो संसार त छोराछोरीकै संसार हो, बाबुआमाबीचकै संसार हो। न छोराले मात्र चल्छ, न त छोरीले मात्र चल्छ ? यो प्रकृतिक नियमको अखण्ड नियम हो।
हाम्रो समाजमा अझै पनि जातीय र वर्गीय छुवाछूत पूर्णरूपमा सकिएको छैन। आफ्नो जात, धर्म र कर्मकाण्डलाई महत्व दिएर अरुकोलाई हेप्ने मानवीय गुण कदापि राम्रो हुन सक्दैन। हामीले अहिलेसम्म धर्मगत र जातिगतको नाममा रगत बगाएका खासै छैनौं। समाजमा भैरहेको बालविवाह, बहुविवाह र पशुबलिजस्ता जडरूपी कुरूपका तत्वले बाजा बजाएका छन्। यो कुकर्मको लहरोमा अझै पनि हामी गाडिएका छौं। यसलाई मिलेर उखेल्नु हाम्रो दायित्व हो। जब संविधानले सारा नेपाली एक हौं भनिसकेपछि हामी कानुनीरूपमा बलिया पनि छौं।
हाम्रो संविधानले भनेझैँ बहुजातीय, बहुभाषिक, बहुधार्मिक बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी वर्गीय, जातीय, क्षेत्रीय भाषिक, लैंगिक विभेद र सबै प्रकारका छुवाछूतको अन्त्य हामीले गर्नुपर्छ। साथै आर्थिक समानता र सहभागितामा आधारित समतामूलक समाजको परिकल्पना गर्दै प्राकृतिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक गौरवलाई पर्यटनको मुख्य आधार बनाउनुपर्छ। जल, जमिन र जवानीलाई प्रचूर मात्रामा प्रयोग गर्नुपर्छ। चिन्तन र कर्तव्यलाई प्राकृतिक, व्यावहारिक र शैक्षिकरूपमा सृजनशीलाताको पटुकी बाँध्नुपर्छ। गौतम बुद्धको जन्मभूमिलाई शान्तिको ध्वनिबाट संसारलाई मोहित बनाउनुपर्छ। बुद्धिवृक्षलाई रोप्ने संकल्पसहित एकताको नारा बोकेर समाज निर्माणमा आजैबाट हिँडौं।
सोमनाथ खनाल, अर्घाखाँची
हाल ः काठमाडौं

प्रतिक्रिया दिनुहोस्