नेवार सुन्दरीहरू ट्यालेन्ट शोमा



नेप्लिज फेसन होमको आयोजनामा आगामी जेठ १२ गते राजधानीमा हुने नेवार सुन्दरीको सुन्दरी प्रतियोगिता मिस नेवाः ११३८ का प्रतिस्पर्धीबीच शनिबार ट्यालेन्ट शो भएको छ।

ट्यालेन्ट शोमा सहभागी १७ प्रतिस्पर्धी सुन्दरीमध्ये अधिकांशले नृत्य प्रस्तुत गरेका थिए। परम्परागत नेवारी पहिरन हाकु पटासीमा सजिएका अधिकांश सहभागीले नेवारी भाषाका लोकप्रिय गीतमा नृत्य गरेर आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए भने केही प्रतिस्पर्धीले विभिन्न धार्मिक नृत्यसहित चर्या, कुमारी, चण्डी जस्ता धार्मिक नृत्य प्रस्तुत गरेका थिए। प्रतिस्पर्धीहरू धार्मिक नृत्य प्रस्तुत गर्ने क्रममा देवीकै स्वरूपमा प्रस्तुत भएका थिए।

ट्यालेन्ट शोका क्रममा प्रतिस्पर्धीहरू रिजु मानन्धर, बिना महर्जन, सृष्टि शाक्य, राधा श्रेष्ठ, निकिता शाक्य, प्रजिता श्रेष्ठ, सन्ध्या श्रेष्ठ, प्रज्ञा श्रेष्ठ, अनिशा तोयना, मतिना मानन्धर, प्रदिका महर्जन, उस्मी श्रेष्ठ र पस्मिना शाक्यले नृत्य, अञ्जु श्रेष्ठ, सरिसा श्रेष्ठ र मिलु श्रेष्ठले वक्तृत्वकलामार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए भने सरिला महर्जनले एक वाद्यवादकका साथ धिमे बाजा बजाएकी थिइन्।

ट्यालेन्ट शोको निर्णायकमा निर्णय श्रेष्ठ, उज्जवलकृष्ण श्रेष्ठ, पूर्वमिस नेवाद्वय योगिता महर्जन, इप्सु श्रेष्ठ, नेपाल टेलिकमकी व्यवस्थापक रीना डंगोल, नेपाः डान्स एकेडेमीकी संयोजक रीना महर्जन, उद्योगी प्रदीपमान प्रधान, क्यान्सर एसोसिएसनका अध्यक्ष अजयसिंह सुवाल र डा. विमला शाक्य निर्णायक रहेका थिए।

नेवार समुदायका युवतीहरूलाई नेवार भाषा, कला, संस्कृति, धर्म तथा रीतिरिवाजका बारेमा जानकारी दिँदै यसको संरक्षणमा प्रेरित गर्ने उद्देश्यले १३ वर्षदेखि मिस नेवाः प्रतियोगिता आयोजना गरिँदै आएको आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताइन्।

प्रतिक्रिया दिनुहोस्