कालिगण्डकीमा परियोजना, अघि बढाउन स्थानीय तह सहमत



नेपाल समाचारपत्र
पर्वत
कालिगण्डकी नदी करिडोरमा रहेका स्थानीय तहले एक हजार मेगावाट विद्युत् निकाल्न कालीगण्डकी बहुद्देश्यीय परियोजनालाई अघि बढाउन सहमत भएका छन्। विद्युत् र लिफ्ट सिंचाइ सुविधा दिन सकिने भएकाले कालीगण्डकी करिडोर क्षेत्रका स्थानीय तहको समृद्धि र विकासको लागि कालीगण्डकी बहुउद्देश्यीय परियोजना अघि बढाउन सहमत भएका हुन्।

पर्वतको फलेबास नगरपालिका, कुस्मा नगरपालिका र विहादी गाउँपालिका, बाग्लुङको जैमिनी नगरपालिका र गुल्मीको कालिगण्डकी गाउँपालिकाले परियोजना अघि बढाउन सम्भाव्यताको अध्ययन र लगानीकर्ताको खोजी गर्न सहमत भएका हुन्। कालीगण्डकी नदीमा बाँध बाधेर जलाशययुक्त बहुउद्देश्यीय कालीगण्डकी परियोजना निर्माण गर्दा बूढीगण्डकीभन्दा सस्तो पर्ने र त्यसबाट एक हजार मेगावाटसम्म बिद्युत उत्पादन गर्न सकिने, कालीगण्डकी करिडोरतर्फका सबै टार र फाँटहरूमा लिफ्ट सिंचाइ योजना बनाउन सकिने तथा जलयातायात समेत सञ्चालन गर्न सकिने भएकाले परियोजना अघि बढाउन आववश्यक देखिएको स्थानीय तहले निष्कर्ष निकालेका छन्।

फलेबास नगरपालिकाले आयोजना गरेको अन्तरपालिका संवाद कार्यक्रममा करिडोरका स्थानीय तहको आर्थिक समृद्धिका लागि परियोजना सबैभन्दा महŒवपूर्ण हुने निष्कर्षमा पुगेको फलेबास नगरपालिका प्रमुख पदमपाणि शर्माले जानकारी दिनुभयो।

‘यो परियोजना अघि बढाउन सकेमा यस क्षेत्रको कायापलट गर्न सकिन्छ,’ प्रमुख शर्माले भने–‘परियोजना अघि बढाउन स्थानीय तह लगानी र सहकार्यमा जान तयार छौं।’ परियोजनामा स्थानीय सरकारले पनि लगानी गर्ने, सर्वसाधरणबाट शेयर संकलन गर्ने तथा अन्य लगानीकर्ता खोज्न लगानीबोर्डसंँग समन्वयको काम तत्काल अघि बढाइने प्रमुख शर्माले बताउनुभयो।

संघीय सरकार र लगानी बोर्डलगायतका निकायसँंग समन्वय गरेर यो परियोजनाका लागि स्रोत खोज्ने र यसलाई अघि बढाउन फलेबास नगरपालिकाका प्रमुख पदमपाणि शर्मालाई समन्वयको जिम्मा बैठकले दिएको छ। बैठकमा आयोजनाबाट प्रभावित हुने स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीको सहभागिता रहेको थियो। पर्वत, बाग्लुङ तथा गुल्मीको संगम स्थालको रूपमा रहेको सबैको साँझ र बृहत् सम्भावना बोकेको नदी भएकाले यसलाई अघि बढाउन आवश्यक भएको कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार लामिछानेले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्