छक्का पञ्जा–३ शुरू



छक्का पञ्जा नामबाट बनेका २ फिल्म सुपरहिट भएपछि सोही निर्माण समूहले छक्का पञ्जा–३ को निर्माण कार्य पनि शुरू गरेको छ। शुक्रबार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजाआजा गर्दै फिल्मको छायांकन शुरू गरिएको हो।
जितु नेपाल ‘मुन्द्रे’ र केदारप्रसाद घिमिरे ‘माग्ने बूढा’ कार्यकारी निर्माता रहेको फिल्ममा किरण केसी, शिवहरि पौडेल, सुमन गिरी ‘भान्जा’, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाईं, दीपेन्द्र खनियाँ, केशव न्यौपानेलगायत निर्माता छन्।

छक्का पञ्जा र छक्का पञ्जा–२ मा दीपकराज गिरीको जोडी रहेकी नायिका प्रियंका कार्की यसपटक भने विशेष भूमिकामा हुने र दीपकको जोडीका रूपमा पहिलोपटक दीपिका प्रसाईंलाई प्रस्तुत गरिने निर्देशक दीपाश्री निरौलाले जानकारी गराइन्।

फिल्ममा यसपटक पुष्प खड्का पनि थपिएका छन्। यसका साथमा फिल्ममा जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुराग कुँवर, शिशिर राणा, शिशिर वाग्देल, शारदा गिरी र वसन्त भट्ट प्रमुख भूमिकामा रहनेछन्। दीपकराज गिरीकोे कथा रहेको फिल्ममा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे र यमन श्रेष्ठको संवाद, अर्जुन पोखरेल र दीपक शर्माको संगीत, कविराज गहतराज र प्रवीण सिंहको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन र पुरुषोत्तम प्रधानको छायांकन रहनेछ।

काभ्रे, दमौली, पोखरा, बाग्लुङलगायतका स्थानमा छायांकन हुने फिल्ममा यसपटक वैदेशिक रोजागरीको कथा नहुने गिरीले बताए। नायिका दीपिका प्रसाईंले छक्का पञ्जा टिमसँग जोडिन पाएकोमा खुसी व्यक्त गरिन्। ‘यो टिमसँग काम गर्न पाउनु मेरा लागि ठूलो कुरा हो’, दीपिकाले भनिन्– ‘ममाथि विश्वास गरिदिनु भएकामा आभारी छु।’ छवि ओझा र शिल्पा पोखरेलको मंगलमबाट दर्शकलाई रुवाएका नायक पुष्प खड्काले छक्का पञ्जा–३ मा दर्शकलाई हँसाउने बताए। ख्यातिप्राप्त हास्य अभिनेता हरिवंश आचार्यले फिल्मको सफलताका लागि शुभकामना दिएको कार्यक्रममा निर्देशक दीपाश्री निरौलाले यसपटक पनि दर्शकको माया पाउने विश्वास व्यक्त गरिन्।

‘दर्शकको माया जति बढ्छ त्यति नै जिम्मेवारी पनि बढ्छ, त्यस्तै बोध भएको छ। यसमा हामी अझै परिपक्क हुँदैछांै। फिल्मलाई टिमले बलियो बनाउने हो त्यसैले मेहनत गरेका छौं। फिल्मको कथावस्तु भने सस्पेन्स नै राख्छौं तर मनोरञ्जन भने डबल हुने ग्यारेन्टी गर्न चाहन्छु।’ आमा सरस्वती मुभिज प्रालिको ब्यानर र आईएमईको प्रस्तुतिमा निर्माणाधीन फिल्म आगामी असोज ३० गतेबाट अल नेपाल रिलिज गरिने निर्माता सुमन गिरीले बताए।

प्रतिक्रिया दिनुहोस्