सोनमको बिहेमा, पूर्वप्रेमी–प्रेमिका सेलिब्रेटीको जमघट



मंगलबार भएको बलिउड नायिका सोनम कपुर र उद्योगपति आनन्द आहुजाको वैवाहिक समारोहमा बलिउडका अधिकांश सेलिब्रेटी सहभागी भएका छन्। उनको वेडिङ रिसेप्सन पार्टीमा बलिउडका दिग्गज कलाकारउनीहरूलाई शुभकामना दिन सहभागी थिए।

भारतीय सञ्चारमाध्यमका अनुसार बलिउडमा फेसनेबल र विभिन्न प्रकारका कपडाका कारण चर्चामा आइरहने सोनम रातो लेहेंगाचोलीमा निकै राम्री देखिएकी थिइन्। भारतको बान्द्रास्थित घरमा पञ्जाबी रीति–रिवाजअनुसार सम्पन्न वैवाहिक समारोहमा सोनमका पिता अनिल कपुर, माता सुनीता कपुर, अर्जुन कपुर, बोनी कपुर जाल्वी कपुर, खुसी कपुरलगायतका पारिवारिक सदस्यको उपस्थिति थियो। मंगलबार नै राखिएको उनीहरूको रिसेप्सन पार्टीमा अधिकांश कलाकार सहभागी थिए।

सबै जना मस्तीको मुडमा रहेका बेला नायक सलमान खान तथा साहरूख खानले नाच्दै र गीत गाउँदै सबैको ध्यान आफूतिर आकर्षित गरिरहेका थिए। फिल्म करण अर्जुनमा सँगै खेलेका सलमान र शाहरूख पार्टीमा पनि करण अर्जुन बनेका थिए। यस्तै अनिल कपुर अर्जुन कपुर, रणवीर सिंहलगायत पनि नाच्दै गाइरहेका थिए। नायिका तथा पूर्वप्रेमिका ऐश्वर्यसँग भेट नहोस् भनेर सलमान भने पार्टीमा ढिला पुगेका थिए। तर, समाचारमा जनाइएअनुसार सलमान पुग्दा ऐश्वर्या पनि त्यहीं थिइन्।

मानिसहरू नायिका ऐश्वर्य राय सोनमको पार्टीमा सहभागी हुन्छिन् कि हुँदिनन् भन्ने कुराको प्रतीक्षामा थिए। किनभने वर्षौंअघि सोनमले आफ्नो पिता अनिल कपुरसँग फिल्म खेलेका कारण ऐश्वर्यलाई आन्टी भनेर सम्बोधन गरेकी थिइन्। यसपछि उनीहरूबीच मनमुटाव चलेको थियो। तर, सोनम आफैंले फोन गरेर निम्तो दिएपछि ऐश्वर्य विवाहमा सहभागी नभए पनि पार्टीमा भने पति अभिषेकको हात समातेर पुगेकी थिइन्।


पार्टीमा रणवीर कपुर र आलिया भट्ट सँगै पुगेका थिए। केही समयदेखि उनीहरू प्रेममा रहेको कुरालाई यसले पुष्टि गरेको थियो भने करिना र आलिया सँगसँगै हुँदा मानिसहरू उनीहरूलाई नन्द–भाउजू भनिरहेका थिए। आलियाका पूर्वप्रेमी सिद्धार्थ मल्होत्रा भने एक्लै देखिएका थिए। रणवीर र आलिया सँगसँगै भइरहँदा रणवीरकी पूर्वप्रेमिका कट्रिना कैफ नायक सलमान खानका साथ देखिइएकी थिइन्।

त्यस्तै नायिका करिना कपुर पति सेफअलि खान र छोरा तैमुरको साथमा पुग्दा उनको पूर्वप्रेमी आफ्नी पत्नी मीरा राजपुतसँग देखिएका थिए।

पार्टीमा भारतीय कलाकार अमिताभ बच्चन, अभिषेक बच्चन, जावेद अख्तर, शत्रुघन सिन्हा, रेखा, विद्या बालन, काजोल, करिश्मा कपुर, ज्याकलिन फर्नाडिस, रानी मुखर्जी, कट्रिना कैफलगायतका कलाकारको सहभागिता थियो भने फेसन, राजनीति तथा उद्योग क्षेत्रका व्यक्तिहरूको बाक्लो सहभागिता थियो।

सोनम र आनन्दको भेट ४ वर्षअघि एक साझा साथीमार्फत भएको थियो। केही समयपछि आनन्दले सोनमलाई प्रेम प्रस्ताव राखेका थिए भने सोनमले केही दिन सोचेर प्रस्ताव स्वीकार गरेकी थिइन्। उनीहरूले कहिल्यै पनि आफूहरू प्रेममा रहेको सार्वजनिकरूपमा भनेका त थिएनन् तर सोनमको सामाजिक सञ्जालबाट नै उनीहरूको फ्रेम झल्किन्थ्यो। उनीहरू दुवैको परिवार पन्जाबी हुन्।

प्रतिक्रिया दिनुहोस्