पाकिस्तानी गृहमन्त्रीमाथि गोली प्रहार



इस्लामावाद, (एजेन्सी)
पाकिस्तानका गृहमन्त्री अहसान इकबालको गोली हानेर हत्याको प्रयास भएको छ। उनी गोली लागेर घाइते भएका छन्। पन्जाब प्रान्तको नरोवालमा पार्टीको ¥यालीमा सहभागी हुने क्रममा इकबालमाथि अज्ञात बन्दुकधारीले गोली हानेको अलजजिराले सोमबार जनाएको छ। प्रहरीका अनुसार इकबालको बायाँ हातमा गोली लागेको छ।

घटनालगत्तै उनलाई अस्पतालमा उपचारका लागि लगिएको छ। उनी खतरामुक्त रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।
गोली प्रहार गरेको आशंकामा एक जना संदिग्ध व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ। गोली हान्नुको कारण भने अझैसम्म खुलेको छैन। पाकिस्तानमा केही महनापछि हुन गइरहेकोे चुनावलाई प्रभावित पार्ने उद्देश्यले गृहमन्त्रीलाई गोली हानिएको हुनसक्ने अनुमान राजनीतिक विश्लेषकहरुले गरेका छन्।

पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासीले आक्रमणको निन्दा गर्दै पन्जाब प्रहरी प्रमुखलाई तत्काल घटनाको छानबिन गर्न निर्देशनसमेत दिएको बीबीसीले जनाएको छ। यस घटनाको पाकिस्तानका सम्पूर्ण राजनीतिक पार्टीले आलोचना गरेका छन्।

५९ वर्षीय अहसान इकबाल गत वर्ष पाकिस्तानको गृहमन्त्री बनेका थिए। उनी नवाज सरिफको सत्तारूढ पाकिस्तान मुस्लिम लिगका वरिष्ठ नेता हुन्।

प्रतिक्रिया दिनुहोस्