कोष अभिवृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय बैठक नेपालमा



जुनसुकै बेला खाँचो हुनसक्ने मानवीय सहयोगका लागि सहयोग कोषमा साझेदारी बढाउन रेडक्रसको नेतृत्व, सहकर्मी, कोष अभिवृद्धि कार्यकर्ताहरू र सर्वसाधारण सबैले थप कार्य गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।
मानवीय सहयोगको लागि आय आर्जनको विषयमा एक आपसमा अनुभव साटासाट गर्न तथा सीप अभिवृद्धि गर्न काठमाडौंमा शुरू भएको रेडक्रसको एसिया प्रशान्त क्षेत्रीय कोष अभिवृद्धि बैठकमा विज्ञहरूले सो धारणा व्यक्त गर्नुभएको हो।

रेडक्रसले एसिया प्रशान्त क्षेत्रमा वर्तमानमा गरिरहेका कामहरूको लागि सहयोग कोषमा थप १५ मिलियन डलर आवश्यक पर्ने कार्यक्रममा जानकारी दियो।

१८ देशका रेडक्रस सोसाइटीका कोष अभिवृद्धि समूहका ४६ जना विज्ञको ३ दिने बैठकको आज नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा, रेडक्रसको एसिया प्रशान्त क्षेत्र कार्यालयका निर्देशक हाभियर कास्टेलिओन र एसिया प्यासिफिक कोष अभिवृद्धि संयन्त्रका अध्यक्ष जुन हो मिनले संयुक्तरूपमा कार्यक्रम उद्घाटन गर्नुभएको थियो।

सेवा निरन्तरताका लागि कोष
मुख्य वक्ताका रूपमा आउनुभएका रेडक्रसका एसिया प्रशान्त क्षेत्र कार्यालयका निर्देशक हाभियर कास्टेलिओनले भन्नुभयो– ‘दाताहरूले ऐक्यबद्धताका लागिमात्र होइन, साझा मानवीय अपेक्षा पूरा गर्ने चाहाना राख्दछन्। कानुनको पालना, सान्दर्भिक सेवा, विश्वास र पहिचानजस्ता कुरा कोष अभिवृद्धि कार्यमा महत्त्व राख्दछन्।’

समुद्घाटन सत्रको अध्यक्षता गर्दै नेपाल रेडक्रसका अध्यक्षले रेडक्रसका विविध सेवाका लागि आवश्यक पर्ने स्रोत जुटाउन ठोस संयन्त्र र कार्यप्रणालीको तयारी नेपाल रेडक्रसले गरिरहेको जानकारी गराउनुभयो।
नेपाल रेडक्रसका महामन्त्री देवरत्न धाख्वाले मानवीय सेवाको निरन्तरताको लागि सहयोग कोषको खा“चो हुने बताउनुभयो। अन्तर्राष्ट्रिय महासंघका नेपाल प्रतिनिधि जुजा किमले कोष अभिवृद्धि कार्यकर्ताहरूको सीप बढाउन संस्थागत क्षमता र थप लगानीको आवश्यकता औंल्याउनुभयो।

नेपाल रेडक्रसका विभिन्न तहमा कोष अभिवृद्धिका लागि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका अनुभव र सीप प्राप्त गर्न यो बैठक नेपालमा आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटीका सञ्चारप्रमुख तथा आयोजक समितिका दिव्यराज पौडेलले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्