भौतिक संरचना निर्माणमा जोड देऊ



अत्यधिक सवारीसाधन र बटुवाका कारण राजधानीको दैनिकी अस्तव्यस्त बन्दै गएको छ । सरकारले राजधानीको जनजीवन सामान्य बनाउन पटक–पटक प्रयास नगरेको पनि होइन तर समस्या झन्–झन् विकराल बन्दै गएको छ । राजधानीका सडकमा सवारी र मानिसको चहलपहल बराबर भएको कारण घन्टौं जाममा बस्नुपर्ने बाध्यता राजधानीवासीको रहेको छ ।

सरकारले राजधानीको आवागमनलाई सहज बनाउन पटक–पटक गरेको प्रयासले अहिलेसम्म मूर्तरूप लिन सकेको छैन । भएका संरचनाको समयमा मर्मत–सम्भार नहुँदा अवस्था विकराल बन्द गएको बेला सरकारले जनताको मन जगाउने गरी राजधानीका १० स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले १० स्थानको पहिचान गरी आकाशे पुल निर्माण गर्न लागेको हो । महानगरपालिकाले निर्माण गर्न लागेको आकाशे पुल स्टिल स्टक्चरको हुने बताइएको छ । यसअघि सरकारले निर्माण गरेका आकाशे पुलमा व्यापार व्यवसाय गर्नेहरूले बटुवालाई हिँड्न अवरोध पु¥याएपछि अब भने सरकारले स्टिल स्टक्चरको आकाशे पुल निर्माणमा जोड दिन लागेको हो ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले निर्वाचित भएको एक सय दिनभित्र उक्त कामको शुरुवात गर्ने बताए पनि एक वर्षपछि बल्ल उक्त योजना सार्वजनिक भएको छ । ढिलै भए पनि महानगरपालिकाले राजधानीका १० स्थानमा आकाशे पुल निर्माणको तयारी गर्नुलाई सकारात्मकरूपमा लिनुपर्दछ । जनताको मतबाट निर्वाचित जनप्रतिनिधिहरूले जनभावना अनुरूप विकास निर्माणका कामलाई तीव्रता दिनुपर्ने थियो तर त्यो काठमाडौं मात्र होइन देशभर नै भएको पाइँदैन । काठमाडौं महानगरपालिकाले मुलुककै लागि उदाहरणीय काम गरेर देखाउन सक्नुपर्छ । अहिले राजधानीका सडकमा देखिएका बेथितीको अन्त्यका लागि महानगरपालिकाले कठोर कदम चाल्ने बेला आइसकेको छ ।

अहिले बेथितीले चरम सीमा नाघेको छ । बिरामी बोकेका एम्बुलेन्ससमेत समयमा अस्पताल पुग्न नसक्दा बिरामीको बाटोमा नै मृत्युको खतरा बढ्दै गएको छ । राजधानीजस्तो स्थानको ट्राफिक व्यवस्थापन चुस्त र दुरुस्त हुनुपर्ने थियो तर त्यो अहिले कसैले कल्पना गर्छ भने मूर्ख हुनुपर्ने अवस्था छ । यो अवस्थाको अन्त्य हुनुपर्छ । राजधानीमा यस्ता भौतिक संरचना निर्माणमा जोड दिँदै जनताले भोग्दै आएका विभिन्न खाले सास्तीको अन्त्य गरिनुपर्दछ । यसका लागि सरोकारवाला निकायले समयमा नै ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्