जितेन्द्र र प्रेरणा च्याम्पियन



काठमाडौं, (नेस)
पूर्व राष्ट्रिय च्याम्पियन जितेन्द्र परियार र प्रेरणा कोइरालाले छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन्।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा जितेन्द्रले कमल भण्डारीलाई ६–३, ३–६, ६–३ को सेटमा पराजित गर्दै तेस्रो पटक उपाधि हात पारेका हुन्। तेस्रो तथा निर्णायक सेटमा कमल ३–० ले अगाडि रहे पनि जितेन्द्रले लगातार ६ गेम जितेर खेलको नतिजा आफ्नो बनाएका थिए। यसअघि उनले सो प्रतियोगिताको दोस्रो र तेस्रो संस्करणमा उपाधि जितेका थिए। बाँकी दुई संस्करणको उपाधि संरक्षकभूषण वज्राचार्यले जितेका छन्।

महिला सिंगल्स फाइनलमा डिफेन्डिङ च्याम्पियन आइरा रावत रिटायर्ड हर्ट भएपछि प्रेरणा प्रतियोगिताकी नयाँ च्याम्पियन बनिन्। आइरा रिटायर्ड हर्ट हुनुअघि प्रेरणाले पहिलो सेट ६–३ ले जितिन् भने दोस्रो सेटमा ३–० ले अगाडि थिइन्। महिला सिंगल्स तेस्रो संस्करणदेखि थपिएको थियो। तेस्रो र चौथो संस्करणमा मायांका राणा च्याम्पियन बनेकी थिइन्। पुरुष÷महिला सिंगल्सका विजेताले जनही ५० हजार र उपविजेताले जनही २५ हजार नगद पुरस्कार हात पारे। पुरुष सिंगल्समा क्वार्टरफाइनलिस्टसम्मले नगद पुरस्कार हात पारे। महिलामा सेमिफाइनलसम्म यात्रा तय गर्नेलाई नगद पुरस्कार प्रदान गरिएको थियो।

पुरुष डबल्समा जितेन्द्र परियार र सन्तोष खत्री तथा मिक्स डबल्समा गुरु श्रीराम मगर र चेली आइरा रावतको जोडी पहिलो भएका थिए। भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्स कमल भण्डारी, ३५ वर्षमाथि पुरुष डबल्समा श्रीराम मगर र सोभितमान श्रेष्ठ, ४५ वर्षमाथि पुरुष सिंगल्समा कृष्णराज घले, ४५ वर्षमाथि पुरुष डबल्समा कृष्णराज घले र सुवर्ण धाक्वा, ५५ वर्षमाथि पुरुष सिंगल्समा तेक्वान्दो वरिष्ठ प्रशिक्षक ध्रुव गुरुङ, ५५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र छ्याम्बा डुन्डुप तथा ६५ वर्षमाथि पुरुष सिंगल्समा ज्ञानेन्द्रमान ताम्राकारले शीर्ष स्थान हात पारेका थिए।

प्रतिक्रिया दिनुहोस्