प्रजनन क्षमतामा फास्ट फुडको नकारात्मक असर



सिडनी, (एजेन्सी)
नियमितरूपमा फास्ट फुड खाने र प्रशस्त फलफूल सेवन नगर्ने महिलाहरू प्रजननको मामिलामा अन्यको तुलनामा पछाडि पर्नेगरेको हालै अस्ट्रेलियामा गरिएको स्वास्थ्यसम्बन्धी एक अध्ययनले पुष्टि गरेको छ। ५ हजार ५ सय ९८ जना महिलामाथि गरिएको सर्भेक्षण अनुसार हप्ताको ४ वा त्योभन्दा बढी पटक फास्ट फुड खानेहरू कहिल्यै फास्ट फुड नखाने वा तुलनात्मकरूपमा निकै कम खानेहरूका दाँजोमा १ महिना ढिलो गर्भवती हुने गरेको पाइएको छ। मानव प्रजननका विषयमा प्रकाशित प्रतिवेदनमा आहार विहारले पनि महिलाहरको उर्वरतामा प्रभाव पार्ने विशेषज्ञहरूले बताएका छन्। यस अध्ययन अनुसन्धानको दौरानमा अस्ट्रेलिया, न्युजिल्यान्ड, संयुक्त अधिराज्य र आयरल्यान्डका महिलाहरूलाई पहिलो सन्तान गर्भाधारण हुनुभन्दा १ महिनाअघि तिनीहरूले खाने गरेको खानेकुराबारे सोधिएको थियो।

तिनीहरूको सम्पर्कमा पुगेका मिडवाइफहरूले तिनीहरूलाई गर्भधारण हुनुभन्दा करिब १४ देखि १६ साताअघि हरियो सागपात, फलफूल, माछा र फास्ट फुड आउटलेटबाट ल्याइने वर्गर, पिज्जा, फ्राइड चिकेन र चिप्स कत्तिको खाने गरिएको छ? भनी प्रश्न गरेका थिए। अनुसन्धानकर्ताहरूले प्रतिमहिना १ देखि ३ पटकभन्दा कम फलफूल खाने महिलाहरू दिनको ३ वा त्योभन्दा बढी पटक फलफूल खाने महिलाहरूको तुलनामा औसतमा १५ दिन ढिलो गर्भवती हुने गरेको पत्ता लगाएका छन्। तर यस अध्ययनमा पतिहरूले प्रजनन समस्याको उपचार गराइरहेका महिलाहरूलाई समावेश गरिएको थिएन। यस सम्बन्धमा अध्ययनको नेतृत्व गर्ने अस्ट्रेलियाको युनिभर्सिटी अफ एडेलेडका प्राध्यापक क्लेयर रोवर्टसले फलफूलसहितको असल खाना खानाले महिलाहरूको प्रजनन क्षमतामा सुधार आउने प्रमाणित भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्